2026/03/14

ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन बयालपाटा अस्पतालमा सम्पन्न

Admin

२०८१-०१-२९

764
Shares

अछाम — बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो ।

ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो ।

अस्पतालका सूचना अधिकारी पूर्णबहादुर खड्काका अनुसार न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बिहीबारदेखि शनिवारसम्म अहिले पाइरहेको सेवामा सुधार ल्याउने, ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुर्‍याउने विषयमा छलफल भएको छ ।

‘नेपालमा अर्थोपेडिक डाक्टर शहर केन्द्रीत कार्यक्रम, सिकाई तथा सेमिनारहरु धेरै भएपनि दुर्गममा सेवाको पहुँच पुर्‍याउन र जनशक्तिको स्तरवृद्धि गर्न आवश्यक रहेकोले सम्मेलनको आयोजना गरिएको हो,’ उनले भने । सम्मेलनमा बयालपाटा अस्पतालले ९ वर्षदेखि निशुल्करुपमा दिइरहेको ट्रमा तथा अर्थोपेिडक सेवा सम्बन्धी भोगाइ र सिकाईको अनुभव आदानप्रदान गरिएको उनले बताए ।

नयाँ अर्थोपेडिक सर्जनहरुलाई दुर्गममा यसको सेवा कसरी राम्रो र विस्तार गर्न सकिन्छ भनेर जानकारी दिने र नेपालको नीति निर्माणमा संलग्न व्यक्ति, स्वास्थ्य मन्त्रायल तथा प्रदेश निर्देशनालयलाई समेत कसरी सेवा दिइएको छ भन्ने जानकारी गराउन सम्मेलनले सहयोग गरेको उनले बताए ।

‘गुणस्तर वृद्धि गरी सेवालाई देशभर कसरी विस्तार गर्न सकिन्छ भनेर सम्मेलनमा छलफल गरिएको छ,’ सूचना अधिकारी खड्काले भने, ‘दुर्गममा अर्थोपेडिक सर्जन नभएको बेला एमडीजीपी र मेडिकल अधिकृतहरुले यस बारेमा तालिम तथा सिकाईका माध्यमबाट दुर्गममा सेवालाई निरन्तरता दिलाउनसमेत सम्मेलनले सहयोग पुर्‍याएको छ ।’

उनका अनुसार तीन दिनेसम्म सञ्चालन भएको सम्मेलनको पहिलो दुई दिन प्रि-वर्कसप सम्मेलन गरिएको थियो । जसमा भिडियो एक्स-रे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवा दिने, बिरामीहरुको चोट भिडियो एक्सरेमार्फत कसरी पत्ता लगाउने भन्ने विषयमा स्तरवृद्धि गर्न तथा हात खुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाइ कम कसरी गर्ने भन्नेबारे अमेरिकी चिकित्सकहरुले अनुभव बाँडेका छन् ।

सम्मेलनको तेस्रो दिन शनिवार नेपाल अर्थोपेडिक एशोसिएशनका अध्यक्षसहित एनेस्थेसियामा काम गर्ने स्वास्थ्यकर्मी, अर्थापेडिक्स तथा ट्रमा केयरमा संलग्न डाक्टरहरु र अन्य स्वास्थ्यकर्मीबीचमा दुर्गममा के कस्ता समस्या छन्, कसरी र कुन आधारमा गुणस्तरियता दिन सकिन्छ, सुधारका लागि के के गर्ने र देशका अन्य भागमा सेवा विस्तार गर्न सकिन्छ भन्ने बिषयमा बृहत बहस तथा छलफल भएको छ ।

सम्मेलनमा अर्थोपेडिक सर्जन, ग्रामीण क्षेत्रमा काम गर्ने डाक्टर, चोटपटकका बिरामी हेर्ने डाक्टर, मेडिकल अधिकृत र चिकित्सकहरु गरी सम्मेलनमा ३५ जनाभन्दा बढी विषेशज्ञहरुले सहभागी थिए । चार जना अमेरिकी विषेशज्ञ डाक्टरसहित १६ जनाले अर्थोपेडिक र ट्रमा केयरको बारेमा प्रस्तुति गरेका थिए ।

764
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.