सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज पेस गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमा धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्दै नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाइने बताएका हुन् ।
उनले भने, ‘धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने छ । पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत शुद्धिकरण गरिने छ ।’
यस्तै बजेटमा उनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बताए । पुँजी बजाको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ ।
आम सर्वसाधारसँग जाेडिएका यी निकायहरूले जनतामा महसुश गर्नेगरी कार्यसम्पादन तथा सेवा प्रवाह दिन नसकेको आरोप लाग्दै आएकाेमा अब संस्थागत क्षमता सुधार गर्ने तथा नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाउने भएसँगै अब ती संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बन्ने आशा सेवाग्राहीमा पलाएको छ ।