असार १, काठमाडौं – नेपाल आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर ८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिँएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिँएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।
११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।