2026/06/19

 छाउपडी कुप्रथा :  पिडितलाई एक्लो बनाउछ समाज ,घटनापछि तात्छन् सरोकारवाला

Admin

२०८१-०७-०२

438
Shares

मेनुका ढुंगाना (अछाम)
असाढ पहिलो साता अछामको पंचदेवल विनायक नगरपालिका २ की एक १६ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भइन् । मामाघरमा बसेर पढीरहेकी १६ वर्षीया किशोरी मध्यराती मामा नाता पर्नेबाट बलात्कृत हुन पुगिन् ।

अछाम प्रहरीका अनुसार पहिले पनि पटकपटक बेहोस् भइराख्ने भन्दै उनका आफन्त छिमेकी सबैले रोग नै हो भनेका रहेछन् । सुरुमा बेहोस् हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पुर्याएर ती किशोरी होस्मा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो थियो ।

बेहोस् अवस्थामा जिल्ला अस्पताल पुर्याइएकी किशोरी राति २ बजेपछि नै बेहोस् भएको र अस्पताल पुर्याएको ३ घण्टापछि मात्रै होसमा आएको जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले बताइन् । ‘ ती किशोरी लगभग १२ घण्टा जति बेहोस् भएको देखिन्छ । गाउँमा छारे रोग (बेहोस् हुने रोग)  हो  , नजिक गए सर्छ भनेर कसैले नछोएका रहेछन्’ उनले भनिन् ,‘ इमरजेन्सी वार्डमा उनी होसमा आउँदा पनि बोल्न सकिनन् । ओसिएमसीमा लगेर काउन्सिलिङ गर्दा  राती २ बजेको समयमा पिसाब गर्न बाहिर निस्कदा एक जना मामा नाता पर्नेले मुख च्यापेर आफूमाथि आक्रमण गर्दै बलात्कार गरेका बताइन् ।’आफन्त भनिएकाहरुबाट उनले साथ पाइरहेकी थिइनन् , उल्टै बलात्कार गरेको होइन भनेर बयान दिन उनलाई धेरै दबाब आइरहेको रहेछ ।

उनले आफूले भोगेका दुःखका पहाड र घटना घटेको रातिको बारेमा  यसरी सुनाउन थालिन् :

‘ मेरो घर पंचदेवल विनायककै एक अर्को वडामा हो । करिब १० वर्ष अगाडी छैटौं सन्तानलाई घरमा जन्म दिने क्रममा अध्याधिक रक्तश्राव भएपछि मेरी आमाको मृत्यू भयो । म त्यतिबेला ६ वर्षकी थिएँ । मेरो भाइ एक वर्षको थियो । आमाको मृत्यू भयो । मेरो बुवाको मानसिक सन्तुलन गुम्यो । हाम्रो साहारा कोही भएन । त्योभन्दा अगाडी मेरो तीन जना दाजुभाइ र दिदीको मृत्यू भइसकेको थियो । सबैभन्दा जेठी दिदी एक वर्ष नपुग्दै बितिन् , त्यो घटना मलाई याद छैन । त्यसको एक वर्षपछि मेरो ९ वर्षको दाइ बिते । गाउँमा खेल्ने बेला लडेका थिए । आँखामा चोट थियो । मलाई धेरै याद छैन । दाइ पनि बिते । त्यसको करिब एक वर्षपछि भाइ जन्मियो । जन्मेको एक महिना नपुग्दै भाइ पनि बित्यो । त्यसपछिको एक वर्षपछि अहिले मेरो साथमा भएको भाइ जन्मियो । भाइ जन्मेको एकवर्षपछि अर्को सन्तान जन्माउने बेला आमा नै बितिन् । वर्षेनी आफ्नो घरका चार सदस्य गुमाउँदा बुवा पागल जस्तै भइसक्नु भएको थियो ।

बुवाले बिहानैदेखि रक्सी खाना सुरु गर्ने , रुने कराउने गर्न थालेपछि मलाई पनि त्यही बेला देखि गाह्रो भइसकेको थियो । गाउँका मान्छेले बेला बेला , बेहोस् हुन्छ , यसलाई रोग हो भन्नुको पछाडीको मेरो पीडा कसैले महसुस गर्न खोजेनन् ।

घरमा बुवा बाहेक हामीलाई हेर्ने मान्छे अरु कोही थिएन । आमाको मृत्युपछि मामाघरको बज्यै गएर नातीनातीनालाई म आफैंसँग राख्छु , ज्वाइँको हालत पनि ठिक छैन भनेर हामीलाई मामाघरमा ल्याउनुभयो । म र भाइ बज्यैको साहारमा मामाघरमा बस्न थाल्यौं । स्कुल जाने , आउने , घरमा सहयोग गर्ने गथ्र्यौं । उता बुवाले अर्को बिहे गरेर बम्बै गइसक्नु भएको रहेछ । मैले धेरै समयपछि थाहा पाएकी हँु । २ वर्षअघि हजुरआमाको मृत्यू भयो । त्यही बेला म र मेरो भाइ पुरै टुहुरा भयौं । घरमा माइजु हुनुहुन्थ्यो । मामा बम्बैमा धेरै बस्नु हुन्छ । ८ महिनाअघि बिरामी भएकाले जाच गर्न भन्दै माइजु पनि मामासँगै जानुभयो । घरमा भाइ र ममात्रै भयौं । माइजु पनि बम्बै गइसकेपछि मलाई आफ्नै मावली खलकका नाता पर्नेहरुले फरक व्यवहार गरेको महसुस पनि भइसकेको थियो । तर आफ्नैबाट यतिसम्मको अपराध ममाथि होला भन्ने सोचिन ।’ 
 

छाउगोठमा बलात्कार भएको रातीको पृष्ठभुमी उनले यसरी बताइन् :
‘साँझतिर पल्लोघरमा जन्मदिन थियो । त्यता मलाई पनि बोलाइएको थियो । मावली खलकमा वर्ष दिनसम्म जुठो लाग्ने मामाबाट पहिलेबाट मैलै दुर्वव्यवहार भोगिरहेकी थिएँ । उनले मलाई हेर्ने दृष्टिकोण राम्रो छैन भन्ने मलाई पहिलेबाट थाहा थियो । जन्मदिन मनाउने घरमा उनी पनि गएका थिए । त्यतिबेला मलाई यतिसम्म गर्नसक्छ भन्ने शंका नै थिएन ।  साँझ साढे नौ बजेतिर म आफ्नो घर फर्किएँ । घर पुग्ने बित्तिकै महिनावारी भएँ ।

 मसँग भएकी १४ वर्षकी एक बहिनीलाई छाउगोठमा सँगै बसन भने । एक जनालाई पनि सहज तरिकाले त्यो गोठमा बस्न मिल्दैन थियो । २ जनालाई असहज भएपनि उनी मसँग गोठमा बस्न तयार भइन् । साढे १० बजेतिर हामी दुवै जना सुतिसकेका थियौं । अरुबेला पनि रातिको समयमा दिसा , पिसाब गर्न म एक्लै आउने गर्थँे । त्यो दिन रातिको २ बजेतिर म पिसाब फेर्न बाहिर आएँ । बाहिर आएको १ मिनेट नहँुदै मामा नाता पर्ने सँगै खेल्ने , स्कुलको पनि साथी मेरो नजिक आयो । सबैभन्दा पहिले मेरो मुख थुन्यो । मसँग भएको दोपट्टा घाँटीमा बेर्यो । मुख थुन्यो । र, मेरो शरिरमाथि आक्रमण गर्न थाल्यो त्यही बेला म बेहोस् भइसकेकी रहेछु ।  बलात्कारपछि उसको मार्ने नियत नै होकी भन्ने लाग्छ मलाई । म बेहोस् भएँ । उसले मारिसके भन्ने लागेर त्यता छोडेको हो जस्तो लाग्छ । म रातभर छाउगोठ अगाडीको मकैबारीमा रहेछु । बिहान ८ बजेतिर वरपरका केटाकेटीले देखेर छोउगोठमा लगेर सुताएको हुन् भन्ने होस आएपछि मात्रै थाहा पाएँ ।’

जिल्ला अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र ( ओसिएमसी) मा भर्ना भएर बस्दा उनको साथमा कुरुवा कोही पनि थिएन । अस्पताल ल्याएर आएकी माइजु पनि फर्किन् ।  फुपू नाता पर्ने उनलाई कुर्नलाई आइन् । उनी पनि उनलाई एक्लै छोडेर केही नभनी फर्किन् । फुपू नाता पर्ने आएकी र उनलाई गाउँका मान्छेले फोन गरेर केटाले केही पनि गरेको होइन भनेर बयान बदल्न दबाब दिइरहिन् । तर उनले कुनै हालतमा बयान नबदल्ने सुईंको पाएपछि अस्पतालको बेडमा उनलाई एक्लै छोडेर गइन् ।
अछाममा छाउगोठ भत्काउने अभियान चलेपछि उनी लगभग एक वर्ष घरमा पनि बसेकी रहेछन् ।  तर समाज सबै एकातिर भएपछि उनी फेरी गोठमा बस्न थालिन् । अहिले उनलाई साथी नाम एक गैरसरकारी संस्थाले उनको पालनपोषण र रेखदेखको जिम्मा लिएको छ ।

सरकारीस्तरबाट फेरी अभियान सुरु
केही समयअघि पञ्चदेवल विनायक नगरपालिका २ की १६ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएपछि अछाममा छाउगोठ विरुद्धको अभियान फेर भएको छ । असाढ १७ गते अछामका १० वटै स्थानीय तहका जनप्रतिनिधि , स्थानीय प्रशासन ,गैसस , सामाजिक अभियन्ता र सरोकारवालाको मंगलसेनमा भएको छलफलले गरिएको थियो । चार वर्षअघिबाट रोकीएको छाउगोठ भत्काउने , जनचेतना जगाउने र अटेर गर्नेलाई कानुनी कारवाही गर्ने गरि अभियान संचालन भएको छ ।

छाउगोठ विरुद्धको अभियान  संचालनका लागि जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा जिल्ला स्तरिय निर्देशक समिति गठन भएको छ । समितिमा दश वटै स्थानीय तहका प्रमुख ,प्रमुख जिल्ला अधिकारी ,गैसस , सामाजिक अभियन्ता रहेका छन् । 
  

अभियान संचालन कुन तरिकाले गर्ने , के कस्तो काम गर्ने यसको सबै खाका अब यो समितिले तय गरेको छ    । निर्देशक समितिले जिल्लाभर संचालन गर्ने अभियानको लागि रणनिति बनाउने र परिचालन गरिरहेको छ  । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार यसभन्दा अघिको अभियान जस्तो संचालन हुने रोकिने हुँदैन । अछाममा छाउपडी कुप्रथा र गोठको अवस्थामा परिवर्तन नभएसम्म अभियान चलिरहन्छ ।

उनका अनुसार मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा कार्य संचालन समिति, गठन गरिएको छ । समितिमा अछामका प्रमुख जिल्ला अधिकारी सहित १० वटै पालिकाका नगर प्रमुख, गाउपालिका अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु सदस्य रहेका छन । यो समितिले भने निर्देशक समितिले तय गरेको रणनिति अनुसार जिललाका १० वटै स्थानीय तहका ९१ वटै वडामा अभियानलाई सक्रिय बनाउने गरि निगरानी गर्ने छ ।

छाउपडी कुप्रथाका बारेमा जिल्लाका थुप्रै किसिमा बहस र छलफल भएपनी यसको यसको अन्त्य हुन नसकेकोले यसका विरुद्ध एकताबद्ध भएर लाग्नु पर्ने अवस्था आएको पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बीका चलाउनेले बताइन् । 

हामीले अहिलेसम्म छाउपडी कुप्रथाका बारेमा कुरा मात्रै ग¥यांै तर व्यवहारमा लागु नगर्नाले पटक टक समस्या आउने गरेको छ । उनले भनिन् , अब भने योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने छ । यो अभियानका लागि हाम्रो स्थानीय तहले पूर्णरुपमा सहयोग गर्छ ।

राजनितिक दल, जनप्रतिनिधि, कर्मचारी र समाजका अगुवाहरुले आफ्नो घर छिमेकमा भएका छाउगोठ र यो कुप्रथाको जिम्मेवारी लिनुपर्ने बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष बिन्दु रावलले बताइन् ।
सामाजिक रुपमा विभिन्न क्षेत्रको नेतृत्व गर्ने तर घरमा महिनावारी भएको बेला आफ्नो छोरी बुहारीलाई छाउगोठमा राख्ने गलत प्रवृतिकै कारण आज यो प्रथाको अन्त्य हुन नसकेको हो । उनले भनिन् , स्थानीय तहमामात्रै अछाममा ४ सय ९५ जना जनप्रतिनिधि छन् । उनीहरुको घरमा महिनावारी हुदा कहा बसाउँछन् , अवस के छ भनेर पहिलो सुरुवात मात्रै गर्ने हो भने अभियान सफल हुन्छ । सबैले मन वचन र कर्मले प्रतिबद्ध हुन सके मात्र अभियानले सार्थकता पाउने उनले बताइन् ।

अभियानको बेला गोठ भत्काइए , फेरी गोठमै
अछाममा चार वर्ष पहिले भत्काइएका छाउगोठ फेरी बन्न थालेको र महिलाहरु महिनावारीको समयमा खेतबारीमा त्रिपाल टाँगेर बस्न थालेका छन् । तर स्थानीय तह , र सरकारी निकायले भने ध्यान दिन सकेको छैन । 

चार वर्षअघि  अछामको साँफेबगर नगरपालिका –३ सिद्येश्वरकी २० वर्षीया पावर्ती बुढा रावतको छाउगोठमा निस्सासिएर मृत्यु भएपछि गृह मन्त्रालयकै निर्देशनमा अछाममा १० हजारभन्दा बढी छाउगोठ भत्काइएका थिए । तत्कालिन समयमा गृह मन्त्रालयले छाउपडी कुप्रथा मान्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा परिपत्र गर्यो । परिपत्रमा निर्देशन थियो ,छाउगोठ भत्काउनु , जनचेतना जगाउनु र अटेर गर्नेलाई कानुन कारवाही गराउनु । सोहि निर्देशन अनुसार पार्वतीका जेठाजुलाई पक्राउ गर्यो र कानुनी कारवाही अगाडी बढायो ।

सोही अनुरुप पार्वती रावतका जेठाजु छत्र रावतलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।   उनलाई छाउगोठमा बस्न बाध्य पारेकोभन्दै प्रहरीले मुद्या चलाउन खोज्दा प्रहरीले परिवारकै सदस्यबाट जाहेरीको अपेक्ष्ाँ गरेको थियो । तर परिवारका सदस्यबाट जाहेरी नआएपछि प्रहरी प्रतिवेदनका आधारमा मुद्या दर्ता भएर उनका जेठाजुलाई अछाम जिल्ला अदालतले छाउगोठमा बस्न बाध्य पारेको भन्दै ४५ दिन कैद सजायको फैसला गरेको थियो ।

छाउगोठ बस्ने , बसाउन बाध्य पार्नेलाई ३ महिना कैद र ३ हजार जरिवाना रहेको कानुन यस घटनामा पहिलो पटक आकर्षित भएको थियो ।
मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालय अछामले जिल्लाका ९१ वडाका प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान संचालन गर्यो । स्थानीय जनप्रतिनिधि ,प्रहरी र स्थानीयको संलग्नतामा अछाममा १० हजार बढी गोठ भत्काइयो । तर ,अभियान फेरी रोकिएको छ । टोल स्तरमा वडा सदस्य ,वडामा वडा अध्यक्ष , पालिकास्तरमा मेयर , अध्यक्ष , उपमेयर ,उपाध्यक्षले नेतृत्व गर्ने गरि अभियान चल्यो । अहिले न त प्रहरी प्रशासनले र  स्थानीय तहले छाउगोठ भत्काउने र अनुगमन गर्ने काम गरे न त स्थानीय आफैंले अभियानलाई निरन्तरता दिए । अहिले जनप्रतिनिधिले छाउगोठ र यसको अनुगमन सम्बन्धी कुनै पनि क्रियाकलाप अगाडी बढाएका छैनन् ।

ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकलादेवी शाहीकाअनुसार अभियानका बेला छाउगोठ भत्काएपछि महिलाहरु त्रिपालमा बस्ने गरेका छन् । ‘अहिले गोठहरु देखिदैनन् । त्रिपाल टागेर महिनावरीको समयमा बस्ने गरेका छन् । दिउसो त्रिपाल पट्याएर राख्ने र राती बारीको कान्लामा बस्ने गर्छन्’ उनले भनिन् ,‘पहिले ने छाउगोठमुक्त भइसकेकाले अब किन अनुगमन गर्ने भनेर कार्यपालिकामा उल्टो प्रश्न उठाउछन् । अन्धाधुन्ध गोठ भत्काएर झन् धेरै समस्या भएको छ ।

‘देवता मन्दिरमा , छाउपडी घरभित्र ’ नारा लिएर अभियानकै रुपमा संचालन गरेको रामारोशन गाउपालिकाले पनि निरन्तरता दिन सकेको छैन । अघिल्लो कार्यकालका जनप्रतिनिधिले सुरुवात गरेको अभियान अहिले अगाडी बढाउन नसकिएको गाउँपालिका उपाध्यक्ष सुजना बुढाले बताइन् । ‘छाउगोठ मुक्त अभियान नै भनेर छुट्टै खालका कार्यक्रम केही छैनन् । तर सामाजिक सचेतनामा थुप्रै विषय समेटेर प्रत्येक वडामा कार्यक्रम गरिरहेका छौं ।’

छाउगोठ भत्काउने अभियान संचालन गरेको बेला कानुनको डरले पनि घरमा बस्न थालेका महिलाहरु फेरी छाउगोठमै बस्न थालेको मंगलसेन नगरपालिका– ३ की सृजना साउदले बताइन । ‘कुनै घटना घटेपटि मात्रै अभियान चलाउने फेरी वास्तै नगर्ने गर्छन् । यो तरिकाले छाउपडी कुप्रथा कहिल्यै सकिदैन ’ अभियानलाई निन्तरता दिन सकेको भए अहिलेसम्म केही न केही सुधार हुन्थ्यो होला ।’ 

महिलाहरुको विषयमा महिला जनप्रतिनिधिले मात्रै बोल्नु पर्ने सोच भएका कारण सामाजिक कुसंस्कार र विकृतीहरु हट्न नसकेको बाजुराको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बताइन् । ‘जनचेतनामुलक कार्यक्रममा छाउपडी , महिला हिंसा , बालविवाह जस्ता विषय समेटेर प्रत्येक टोलमा कार्यक्रम त गरिरहेका छौं । तर यस्ता विषय पुरुष जनप्रतिनिधिको प्राथामिकतामा पर्दैनन्’ उनले भनिन् ,‘जनप्रतिनिधि हुनुअघि पत्रकारिता थिएँ । यस्ता विषयमा पहिलेबाटै लेख्ने र बोल्ने भएकाले अहिले पनि आफ्नै दबाबमा यस्ता कायैक्रम गरिरहेकी छु । कार्यकारी तहमा पुरुषहरु नै हुने भएकाले महिलाले दुःख पाएका विषयहरुले उहाँहरुलाई छँुदैन ।’ महिलाका विषयमा महिला वडा सदस्य र उपप्रमुखले नै बोल्नु पर्ने बाध्यता रहेको उनले बताइन् । ‘पुरुष जनप्रतिनिधिको जोड भनेको सडक बनाउने , योजना बाँडफाँड गर्ने , पूर्वाधारहरुनै बनाउने हुन्छ । कार्यपालिकामा समाजका कुरीती र कुसंस्कारका विषयमा छलफल नै हुदैन । हरेक विषयमा विरोध नै गर्नु पर्छ । ’

छाउगोठमा राख्ने चलन केही हदसम्म घटेपनि महिनावारीको समयमा  शौचालय प्रयोग गर्न नदिने , भान्सामा जान नदिने , धारा छुन नदिने , दुध दही खान नदिने  चलन रहेको शिखर नगरपालिका डोटीकी उपप्रमुख सुनिता रावलले बताइन् । ‘डोटीमा छाउगोठमा नै जाने चलन हटेपनि त्यो बेला के खान पाउने , के नपाउने , कहा छुन पाउने , कहा नपाउने जस्ता कारणले महिलाले दुःख भने पाइरहेका छन् ।’ उनले भनिन् ।

सरकारले नै छाउगोठ भत्काउने अभियानका बेला टोलटोलमा प्रहरी , जनप्रतिनिधि र सरोकारवालाहरु पुगेर गोठ भत्काएपनि त्यसपछिको अवस्था बारे कसैले वास्ता नगरेको बझाङकी महिला अधिकारकर्मी शुसिला थापाले बताइन् । ‘नेपाल सरकारले नै अभियान सुरु गर्दा धेरै ठाउमा गोठ भत्काउन म आफैं पनि पुगेकी हुँ । अहिले पनि बझाङका केही ठाउँमा गोठहरु छन् । महिलाहरुले छाउ भएको बेला भोग्नु पर्ने समस्या हटेको छैन’ उनले भनिन् ,‘ छाउपडी नै मान्नु पर्छ भन्ने चेत भएका मान्छे नै जनप्रतिनिधि छन् । यो विषयमा स्थानीय तहका जनप्रतिनिधि मौन छन् । गोठमा महिला मरेको बेला बाहेक अरु बेला यस्ता विषयमा कसैको नजर पर्दैन ।’ भौगलिक विकटता , अशिक्षा , देवीदेवताको कारण र अन्धविश्वासका कारण समस्या कम नभएको उनले बताइन् ।

गृह मन्त्रालयको आदेशमा गोठ भत्काउने अभियान सुरु गरेका प्रहरीसँग पनि सुदूरपश्चिममा  कहाँ कति छाउगोठ छन् , भत्काइएका कति बने र अभियानको समयमा कति गोठ भत्काइए भन्ने एकिन तथ्यांक छैन । तर विभिन्न समयमा छाउगोठमा घटेका घटनामा अछाममा १४ जना महिला तथा किशोरी , डोटीमा २ जना र बाजुरामा ३ जना गरी सुदूरपश्चिममा १९ जनाको मृत्यु भएको देखिन्छ । गृह मन्त्रालयको आदेशमा आव ०७५÷७६ देखि ०७७÷७८ सम्म प्रहरीले ७ हजार ४५४ गोठ भत्काइएको तथ्यांक  सुदूरपश्चिम प्रदेश प्रहरीसँग रहेको छ । 

स्थानीय तह र अन्य सरोकारवालाहरुको साथ नपाएको गृह मन्त्रालयबाट पनि छाउगोठ भत्काउने विषयमा थप आदेश केही नआएपछि प्रहरीले अभियान रोकेको छ । अभियानको क्रममा प्रहरीले भत्कउँदै जाने र स्थानीयले फेरी बनाउँदै जान थालेपछि अभियान रोक्नु परेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी प्रज्वल महर्जनले बताए । ‘ हामीले छाउगोठ भत्काउँदै जाने , स्थानीयले बनाउदै गर्न थाले । सबै समाज एकातिर प्रहरी अर्कोतिर भएकाले अभियान सफल भएन ’ उनले भने ,‘ यसका लागि तीन तहका सरकारले नै विभिन्न कार्यक्रम लिएर समुदायमा जानु पर्यो । पहिले गृह मन्त्रालयको आदेश अनुसार भत्काइएको हो । अभियान रोकेपछि अर्को आदेश केही आएको छैन ।

438
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.