2026/04/29

कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध

Admin

२०८१-०८-०५

344
Shares

सुदूरपश्चिम, रासस

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । जिल्ला समन्वय समितिको प्रमुखमा उमेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रूपमति डगौरा थारूले आज उमेदवारी फिर्ता लिएपछि भुल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए । 

जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडा सदस्यमा निर्वाचित हुन् । जिसस प्रमुखका लागि नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले उमेदवारी दिएका थिएनन् ।

जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख गरी २६ मतदाता थिए । 

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो ।

सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । रासस

344
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.