2026/08/25

प्राधिकरणमा भएको भ्रष्टाचार छानबिन गर्न बनेको आयोगका संयोजकले पदमा बस्न मानेनन्

Admin
Admin

२०८१-०८-११

430
Shares
प्राधिकरणमा भएको भ्रष्टाचार छानबिन गर्न बनेको आयोगका संयोजकले पदमा बस्न मानेनन्

११ मंसिर, काठमाडौं।

नेपाल विद्युत प्राधिकरणमा भएको भ्रष्टाचार, अनियमितता छानबिनका लागि मन्त्रिपरिषद्ले गठन गरेको जाँचबुझ आयोगका संयोजकले पदमा बस्न अस्वीकार गरेका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य न्यायाधीश हरि कुमार पोखरलेको संयोजकत्वमा तीन सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको थियो । संयोजक पोखरेलले आयोगमा बस्न अस्वीकार गरेपछि पुन: मन्त्रिपरिषद्ले संयोजक तोकेपछि मात्रै आयोगले पूर्णता पाउनेछ ।

समितिमा एक जना चार्टड अकाउन्टेन र एक जना प्राविधिक राख्ने निर्णय भएको थियो । मन्त्रिपरिषदले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अटेर गरेका छन् ।

लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरेर डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवाद समाधान नगरेपछि सरकारले छानबिन गर्न लागेको हो । यसअघि सरकारले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा अरबिन्द कुमार मिश्रको संयोजकत्वमा कार्यदल बनाएर टाइम्स अफ डे (टिओडी) मिटर अनुसार प्राधिकरणको बिल जाँच गर्ने काम गरिरहेको छ ।

लाल आयोगको प्रतिवेदनमा टिओडी मिटरको रेकर्डअनुसार हिसाब गरेर पुन:बिल पठाएर बक्यौता उठाउन भनिएको छ ।प्राधिकरणले टिओडी मिटरको रेकर्डबिना नै बिल पठाएको उद्योगीहरुको आरोप छ । टिओडी मिटरमा भएको रेकर्ड एकिन गरेर पुन:बिल पठाउन सरकारले निर्देशन दिए पनि प्राधिकरणले पुरानै बिल उद्योगमा पठाएको थियो । त्यसपछि सरकारले कार्यदल नै बनाएर अध्ययन गर्न लागेको हो ।

स्रोतका अनुसार प्राधिकरणको भएको खरिद, ट्रान्सफर्मरलगायतका विषयमा छानबिन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि प्राधिकरण नेतृत्वले अनावश्यक ट्रान्सफर्मर खरिद गरेको आरोप लगाउँदै आएका थिए ।

लेखा समितिमा समेत यस विषयमा प्रश्न उठेको थियो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणले अनानवश्यक ट्रान्सफर्मर किनेको बताएका थिए । उनले ट्रान्सफर्मर थुपारेर खोला थुनेको आरोप लगाएका थिए ।

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरण नेतृत्वले धेरै अधिकार पाएका कारण सरकारलाई नटेरेको बताउँदै आएका छन् । उनले प्राधिकरणमा भएका अनियमितता छानविन गर्नुपर्ने निष्कर्ष निकालेका थिए। उनैको प्रस्तावमा छानबिन आयोग बनाउने निर्णय भएको थियो ।

उद्योगहरुमा प्राधिकरणले १५ दिनको समय दिएर लाइन जोडेको छ । बुधबार उक्त समय पूरा हुँदैछ ।

430
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja