2025/12/28

अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुरको दोस्रो जित

Admin

२०८१-०८-१७

608
Shares

१७ मंसिर, काठमाडौं ।

अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्‍यो ।

जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्‍यो । जनकपुरको यो लगातार दोस्रो जित हो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । कर्णालीले पहिलो खेलमा हार व्यहोरेको हो ।

पावर प्लेको ६ ओभरमा ५५ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा ८५ रन जोडेर विजयको मजबुत आधार तयार पारेको थियो । आसिफ र अनिलले पहिलो विकेटमा ८४ रन जोडे । आसिफ १० औं ओभरमा २९ बलमा ३६ रन बनाई आउट भए । आफ्नो पहिलो ओभर लिएर आएका मौसम ढकालले उनलाई लङ अनमा क्याच आउट गराएका थिए ।

अनिलले अविजित ६२ रन बनाए । उनले ४२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे ।

अनिलले जिसन मक्सदुलाई स्ट्रेट छक्का प्रहार गरी ३५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । लाहिरु मिलान्थाले १३ बल खेली समान २ चौका र छक्का प्रहार गरी २४ रन बनाए । उनलाई मक्सुदले एलबीडब्लु आउट गरे । जिम्मी निशम ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा अविजित रहे ।

यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले ७ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो । अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्न लायक बनेको थियो ।

१९ औं ओभरमा हर्ष ठाकेरलाई २ छक्का र २ चौका प्रहार गरेका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट भए । उनले २२ बल खेलेका थिए । अन्तिम ओभरमा २१ रन प्रहार गरेका सोमपाल १३ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रनमा अविजित भए ।

देव खनाल र धवन ओपनिङ जोडीको रुपमा आएका थिए । देवलाई १ रनमा ललित राजवंशीले बोल्ड गरीदिए । धवनले ३ चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए । क्यानेडियन खेलाडी ठाकेरले धवनको अफ स्टम्प उडाइदिए ।

मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई ८ र बाबर हायतलाई १२ रनमा आउट गरे । २५ बल खेलेका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । हायत अघि न्युल्यिान्डका अलराउन्डर जिम्मी निशमले जेशन मक्सुदलाई शून्य रनमा बोल्ड गरेका थिए ।

गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाए । उनले २७ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । मोहसिनले ४ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिए । ललितले ४ ओभरमा १६, किशोर महतोले ४ ओभरमा २८ र ठाकेरले ४ ओभरमा ४५ रन खर्चेर १–१ विकेट लिए ।

608
Shares

©News Kunja 2021-2025. All rights reserved.