पुस २, २०८१
काठमाडौँ — सुदूरपश्चिम रोयल्ससँग नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार प्रतिस्पर्धा गर्दै गर्दा कर्णाली याक्ससामु दुई विकल्प थिए । सुदूरपश्चिममाथि अलिकति फराकिलो विजयले कर्णालीलाई क्वालिफायर्स १ मै पुर्याउँथ्यो । तर हारले टोली प्रतियोगिताबाटै बाहिरिन सक्थ्यो र काठमान्डु गुर्खाज प्लेअफमा छिर्न सक्थ्यो ।
बिहानको कठिन विकेटमा ब्याटिङ गर्नु परे पनि कर्णालीको लक्ष्य क्वालिफायर्स १ नै देखिन्थ्यो । तर, अनुमान गरिएअनुरुप विकेटका कारण कर्णालीको ब्याटिङ खुल्न सकेन । उल्टै धराशायी हुनेक्रममा पुग्यो । टोली निर्धारित २० ओभर खेल्दै १ सय १ रनमा अलआउट भयो ।
अब कर्णालीसामु सुरक्षित भएर खेल्नुबाहेक अन्य विकल्प थिएन । तर, त्यो टोलीको हातमा थिएन । सुदूरपश्चिमले यो लक्ष्य १२.२ ओभरभित्र पूरा गरेको भए कर्णालीलाई उछिन्दै गुर्खाज नेट रनरेटमा अगाडि रहेर प्लेअफमा पुग्ने थियो । सुदूरपश्चिमले १५.२ ओभरमै पूरा गरेपछि कर्णाली पनि शीर्ष चारमा सुरक्षित भएको हो ।
सुदूरपश्चिमले अब जनकपुर बोल्ट्ससँग एनपीएलको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको जित हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको हो । सुदूरपश्चिम १२ अंकसहित शीर्षस्थानमा रह्यो । जनकपुरले ७ खेलमा १० अंक बटुल्यो ।
समान ८ अंक जोडेका चितवन राइनोज र कर्णालीले तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्नेछन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्नेछ । बुधबार बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ । चितवन र कर्णालीसँगै समान ८ अंक भए पनि नेट रनरेटमा पछाडि रहेका कारण काठमान्डु गुर्खाज प्लेअफबाट दौडबाट बाहिरिएको हो ।
सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेपछि ब्याटिङ निम्तो पाएको कर्णालीको ब्याटिङलाई हरमित सिंहले खुल्न दिएनन् । अन्तिम ओभरमा नन्दन यादव र विपिन शर्मालाई आउट गरेका उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २० र स्कट कुग्लेनले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । एक विकेट सैफ जैबको नाममा रहयो ।
जिसन मक्सुदले कर्णालीबाट सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । विलियम बोसिस्टोले २४ बलमा १६, बाबर हायतले ९ बलमा १३, चाडविक वाल्टन र सोमपाल कामीले समान ११, देव खनालले ७, गुलशन झाले २ रन र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रित गौतम शून्यमा आउट भए ।
इशान पाण्डेले ३६ बलमा अविजित ३८ रन बनाएर सुदूरपश्चिमलाई जिताए । उनले ४ चौका प्रहार गरे । आरिफ शेख ४ रनमा अविजित रहे । २८ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा इशान र दीपेन्द्रसिंहले चौथो विकेटमा ६७ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच दीपेन्द्रले २९ बल खेल्दै ४ चौका र १ छक्कासहित ३८ रन बनाए । विनोद भण्डारी ४, सैफ जैब ११ र ब्रान्डन म्याकमुलेन ३ रन बनाई आउट भए । सोमपाल, विपिन र नन्दनले १ विकेट लिए ।