2026/10/25

मेल्लेख गाउँपालिका :आफ्नै बजेटबाट सडक कालोपत्रे , आफ्नै बजेटबाट बस सेवा सञ्चालन

Admin
Admin

२०८१-०९-०४

536
Shares
मेल्लेख गाउँपालिका :आफ्नै बजेटबाट सडक कालोपत्रे , आफ्नै बजेटबाट बस सेवा सञ्चालन

अछाम -जनप्रतिनिधिसहित आएका स्थानीय तह स्वायत्त भएर बजेट चलाउन पाउने भएपछि करिब ७ वर्ष अघिदेखिबाट विभिन्न स्थानीय तहले नयाँनयाँ योजनाहरु बनाउने निर्माण गर्ने र सम्पन्न गर्ने गरिरहेका छन् । सोही अनुरुप अछामको मेल्लेख गाउँपालिकाले भने आफ्नो क्षेत्रभित्र रहेको सडकलाई बहुवर्षीय योजनामा राखेर कालोपत्रे गर्दै आइरहेको छ । आव २०७६\०७७ मा मा २ वटा बस किनेर नियमित सेवा दिइरहेको गाउँपालिकाले अहिले सडक कालोपत्रे गरिरहेको छ ।

मेल्लेख गाउँपालिकाको केन्द्र विन्देवासिनीदेखि साँफेबगर नगरपालिकाको सिमानासम्म रहेको साढे १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७७ \०७८ बाट कालोपत्रे गरेको छ । बहुवर्षीय योजनामा राखेर पालिकाले आफ्नै बजेटबाट कालोपत्रे गरेको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले बताए । 
उनका अनुसार गाउँपालिकाको मुख्य सडक साँफेबगर नगरपालिकाबाट सुरु हुन्छ । स्थानीयलाई सहज सडकको पहुँचमा पुर्याउनका लागि बस किनेर कार्यापालिकाले नै भाडा निर्धारण गरेको उनले बताए ।‘ मेल्लेखको केन्द्रदेखि साँफेबगरसम्म २ सय ५० रुपंैया भाडा कार्यपालिकाले निर्धारण गरेको छ । अन्य सार्वजनिक यातायातले ३ सय ५० लिदै आएका छन्’ उनले भने ,‘पहिले बस किनेर त्यसपछि सडक कालोपत्रेको काम सुरु भएको हो ।’

साँफेबगर नगरपालिकाको सिमाभित्र पर्ने करिब ११ किलोेमिटर सडक भने कच्ची नै रहेको छ तर मेल्लेख गाउँपालिकाले आप्नो सिमानाबाट कालोपत्रे गरेको उनले बताए । सडक कालोपत्रेका लागि सुरुको वर्षमा संघीय सरकारको ४ करोड समपूरक बजेट आएको र त्यसपछिका वर्षमा पालिका आफैंले बजेट छुट्याएर कालोपत्रे गरिरहेको उनले बताए । ‘ सुरुकों ४ वर्ष संघीय सरकारबाट आएको समपूरक बजेट ४ करोड हो । साढे १० किलोमिटर सडक कालोपत्रेकालागि करिब १२ करोड बजेट लाग्नेमा अरु सबै स्थानीय तहको पूजीगत बजेटबाट योजना अघि सरेको छ । ’

मेल्लेख गाउँपालिकाले गौरवको आयोजनाको रुपमा लिएको ग्रामिण सडक कालोपत्रे सफल हुँदै गएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिहं साउदले बताए । जिल्लाको दुर्गम पालिकामा पर्ने मेल्लेखका जनतालाई सडकको सहज पहुचमा पुर्याउनका लागि गौरवकै आयोजनाको रुपमा अघि सारेको अध्यक्ष साउदले बताए । ‘पहिलेका जनप्रतिनिधिको पालामा सडक ग्राभेलको काम भयो । कालोपत्रेको काम हामीले सुरु गरेर लगभग सकिने अवस्थामा पुगेको छ’ उनले भने ,‘मेल्लेख गाउँपालिकाको सिमानाबाट कालोपत्रे सुरु भएपछि बाँकी भएको सडक पनि कालोपत्रे गर्नु पर्ने दबाब पर्यो ।

साँफेबगर क्षेत्रमा पर्ने सडक पूर्वाधार विकास कार्यालयबाट कालोपत्रे गर्ने काम भइरहेको छ ।’ पालिकाको सिमानादेखि केन्द्रसम्मको सडक यही आर्थिक वर्षमा कालोपत्रे सम्पन्न गर्ने र आगामी आवबाट पालिकाको केन्द्रबाट दुर्गम क्षेत्र रिसिदहमा पर्ने १ ,२ र ३ वडालाई मध्यनजर गरेर २७ किलोमिटर सडक बहुवर्षीय योजनामार्फत कालोपत्रे गर्ने तयारी रहेको उनले बताए ।

कालोपत्रे भएको सडक साँफेबगर पुगेर मात्रै देखेका यहाका स्थानीय आफ्रनै घर आगनमा दखेपछि खुसी भएका छन् । ‘हामी त दुर्गमका मान्छे , गाडी देख्नसमेत पाएका थिएनौं । अहिले घर अगाडी पक्की बाटो बनेर गाडी चल्छन् । यस्तो होला भन्ने सोचेकै थिएन’ मेल्लेख गाउँपालिका –७ नन्देगडाका ८३ वर्षीय नन्दबहादुर साउदले भने ,‘ मेल्लेख जान आउनलाई सरसर गाडी कुद्छन् । हेरीरहुँ लाग्छ ।’


 

536
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja