2026/07/29

बयालपाटा अस्पतालमा डिजिटल एक्स-रे र सि-आर्म इमेजिङ मशिन जडान हुने

Admin
Admin

२०८१-१०-१८

773
Shares
बयालपाटा अस्पतालमा डिजिटल एक्स-रे र सि-आर्म इमेजिङ मशिन जडान हुने

अछाम – १६ वर्षदेखि दुर्गम क्षेत्रमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको अछामको बयालपाटा अस्पतालमा जापान सरकारको सहयोगमा डिजिटल एक्स-रे र सि-आर्म इमेजिङ मशिन जडान गरिने भएको छ। जापानी सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत अस्पताललाई ९१ लाख ८२ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरिने छ।

शुक्रबार नेपालका लागि जापानी राजदूत मेइदा तोरु र बयालपाटा अस्पताल सञ्चालक न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षितबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

२००८ देखि सञ्चालनमा रहेको बयालपाटा अस्पतालले हालसम्म १३ लाखभन्दा बढी बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिसकेको छ। अछाम र आसपासका दुर्गम क्षेत्रका बिरामीका लागि यो अस्पताल प्रमुख स्वास्थ्य केन्द्रका रूपमा रहेको छ।

अस्पतालले पछिल्ला वर्षहरूमा संक्रामक रोगहरू घट्दै गएर दीर्घरोग, जस्तै मधुमेह र उच्च रक्तचाप, तथा ट्राउमा सम्बन्धी बिरामीहरू बढ्दै गएका कारण आधुनिक प्रविधिको आवश्यकता महत्त्वपूर्ण भएको जनाएको छ। जापान सरकारको अनुदान सहयोगले अस्पताललाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै उपचार सेवा प्रभावकारी बनाउन मद्दत गर्नेछ।

नेपालका लागि जापानी राजदूत मेइदा तोरुले बयालपाटा अस्पतालले ग्रामीण क्षेत्रका विपन्न समुदायका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए। उनले भने, अस्पतालले गम्भीर प्रकृतिका शल्यक्रियाका लागि प्रमुख चिकित्सा केन्द्रका रूपमा सेवा प्रदान गरिरहेको छ। नयाँ उपकरणले अस्पताललाई अझ प्रभावकारी सेवा दिन मद्दत गर्नेछ।

न्याय हेल्थ नेपालले एकीकृत पालिकास्तरीय स्वास्थ्य सेवा अन्तर्गत बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत, अस्पतालका नर्सहरू घर-घरमा गएर बिरामीहरूको स्वास्थ्य जानकारी संकलन गरी इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीमा अद्यावधिक गर्छन्।

न्याय हेल्थ नेपालले सो प्रणाली कर्णालीका जिल्ला अस्पतालमा पनि जडान गरिसकेको छ। २०७२ सालको भूकम्पपछि दोलखाको चरिकोट अस्पताललाई पनि यो प्रणाली हस्तान्तरण गरिएको थियो, जुन पाँच वर्षदेखि बागमती प्रदेश अन्तर्गत सञ्चालित छ।

बयालपाटा अस्पतालका अध्यक्ष कुन्द दीक्षितका अनुसार डिजिटल एक्स-रे र सि-आर्म इमेजिङ मशिन जडान भएपछि बिरामीलाई सहज, द्रुत र गुणस्तरीय सेवा दिन सकिनेछ।

ट्रमा र आपत्कालीन सेवा लिन आउने बिरामीको संख्या बढ्दै गइरहेका बेला डिजिटल एक्स-रे र अन्य उपकरणहरू निकै महत्त्वपूर्ण छन्। यस सहयोगले अस्पताललाई प्रभावकारी उपचार सेवा प्रदान गर्न ठूलो सहयोग पुग्नेछ, दीक्षितले भने।

बयालपाटा अस्पतालमा जापान सरकारको सहयोगमा आधुनिक उपकरण जडान भएपछि अछाम र आसपासका क्षेत्रका बिरामीहरूलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध हुनेछ। ग्रामीण समुदायका लागि स्वास्थ्य सेवा थप उन्नत बनाउने प्रयासस्वरूप यो महत्वपूर्ण पहल हुनेछ।

773
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja