अछाम — कमलबजार नगरपालिका-६ की ५५ वर्षीय नौरता शाहीले स्वास्थ्य बिमा गरेको ५ वर्ष भयो । बिमा गरेवापत सरकारले दिने औषधि उनले धेरै पटक पाएकी छैनन्। ५ वर्ष अगाडि उनी नशा च्यापिने समस्या देखिएकाले उपचारका लागि नेपालगञ्ज गइन् ।
महँगो औषधि किन्नु पर्ने भएकाले उनलाई आर्थिक समस्या भयो। त्यही बेला उनका छोराले स्वास्थ्य बिमाको बारेमा थाहा पाए र बिमा गरे । त्यसयता बिमा लागू भएका अस्पतालमा उनी चेकजाँच गर्न गइरहन्छिन्।
गत शुक्रबार उनी सोही समस्या बल्झेपछि जिल्ला अस्पताल मंगलसेन आइन् । तर उनले अस्पतालबाट कुनै औषधि पाइनन् । ‘अस्पतालमा औषधि पाइएन । बाहिरबाट किनेर लिनुस् भने,’ उनले भनिन् ,‘बिमा भएपनि हामीसँग तपाईलाई दिने औषधि अहिले सकिएको छ भनेर पठाइ दिए । बाहिरबाट ३ हजारको औषधि ३ महिनालाई किनेँ ।’
हरेक पटक जिल्ला अस्पतालमा उपचारका लागि आउँदा औषधि छैन भनेर पठाउने गरेको उनले गुनासो गरिन् । ‘बिमा गर्दा औषधि पाइएला भनेर पैतीस सय तिरेका हौं । अहिलेसम्म १० हजार बढीको औषधि किनिसकेँ । बिमा गरेर मलाई केही सजिलो भएको छैन ।’
स्वास्थ्य बिमा गराएकी मंगलसेन नगरपालिका - ३ की चन्द्रा कामीको गुनासो पनि उस्तै छ । जिल्ला अस्पतालमा चेकजाँच गरेर औषधि बाहिरबाट किन्नु पर्ने बाध्यता रहेको उनले बताइन् । ‘औषधि नदिने भए किन बिमा गर्न लगाइयो भनेर धेरै पटक चेकजाँच गर्नेसँग भनाभन पनि भएको छ। यसबारे हामीलाई थाहा हुँदैन । माथिल्लो तहमा बुझ्नुस भन्छन्,’ उनले भनिन्, ‘कहाँ गएर कसलाई भन्ने हो हामीलाई केही थाहा छैन । सबै औषधि बाहिरबाट किन्नुपर्छ । अर्को वर्ष नवीकरण नगर्ने सोचमा छु ।’
आफूले जस्तै स्वास्थ्य बिमा गराएका गाउँका अरुले पनि पाउनै पर्ने औषधि पनि अस्पतालबाट नपाएको उनले गुनासो गरिन्।
स्वास्थ्य बिमा गरेका तर औषधि नपाएका नौरता र चन्द्रा प्रतिनिधि पात्र मात्रै हुन् । जिल्ला अस्पतालमा औषतमा दैनिक ३० जना बिमित उपचारका लागि आउँछन् । यीमध्ये धेरैको गुनासो औषधि नपाएको नै हुन्छ ।
बिमितहरुका लागिसमेत भनेर जिल्ला अस्पतालले औषधि खरिद गर्ने र स्वास्थ्य बिमा बोर्डबाट रकम दाबी गर्ने गरेको जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले बताइन् । बिमितलाई औषधि उपचार गराएबापतको रकम भने बोर्डले प्रक्रिया नमिलेको भन्दै घटाएर दिँदा समस्या भइरहेको उनले बताइन् ।
‘अस्पतालले आफ्नै स्रोतबाट औषधि किनेर बिमा गरेकाहरुलाई दिन्छ । औषधि महंगोमा किन्नुपर्छ । बिमाबाट औषधिको मूल्य घटाएर दिने गर्छन्,’ सूचना अधिकारी बुढा मगरले भनिन् ,‘ अघिल्लो आर्थिक वर्षमा अस्पतालले दाबी गरेको बिमा रकमभन्दा करिब २५ लाख रुपैंया घटेर आयो । बिमाका कारण अस्पताल नै घाटामा गइरहेको छ ।’
पछिल्लो समयमा बिमाको लागि दिने औषधि मात्र नभएर अन्य औषधि पनि सकिएको र खरिद प्रक्रियामा रहेको उनले बताइन् । ‘बिमा गरेकाहरुलाई अस्पतालले औषधि नदिएको होइन । कतिपय महंगो औषधि अस्पतालले किन्न सकिरहेको छैन । नियमित दिइ रहने औषधि छिट्टै अस्पतालमा पुग्छ,’ उनले भनिन् ,‘ बिमा रकम दाबी गर्दा पनि औषधि नपाउँदा बिरामीको आक्रोश एकातिर छ, अर्कोतिर झन्झटिलो प्रक्रिया र दाबी रकम पनि नआउँदा अस्पताललाई आर्थिक भार परेको छ ।’
स्वास्थ्य बिमा ऐन, २०७४ को प्रस्तावनामा भने नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको रक्षा गर्ने, बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्ने तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता बढाउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको उल्लेख छ ।
यस ऐन अनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुपर्ने प्रावधान छ । नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्तहरूलाई स्वास्थ्य बिमामा समावेश गराउने जिम्मेवारी सम्बन्धित संरक्षक वा अभिभावकको हुनेछ ।
हाल बिमा बोर्डले देशभर ७७ वटै जिल्लामा स्वास्थ्य बिमाको पहुँच विस्तार गरिसकेको छ । बिमितहरूका लागि ४६० स्वास्थ्य सेवा प्रदायक अस्पतालहरूबाट सेवा उपलब्ध गराउने व्यवस्था छ । बिमा प्याकेजअनुसार १,१३३ प्रकारका औषधिहरू उपलब्ध गराउनुपर्ने प्रावधान छ ।
साथै, क्यान्सर, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया तथा अल्जाइमर जस्ता गम्भीर रोगहरूको उपचारका लागि थप एक लाख रुपैयाासम्मको सेवा सुविधा उपलब्ध गराइएको छ । स्वास्थय बिमाले सूचित गरेका अस्पतालबाट औषधि नपाएको गुनासो भने बिरामीहरुले गर्दै आएका छन् ।