जंगलघाट, अछाम — तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब ५८ वर्ष भइसक्यो। अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडकको अवधारणाको विकास गर्दै २०२४ साल चैत २४ गते सोही सडकबाट सदरमुकाम मंगलसेनसम्म जीप बोकेर पुर्याए।
यही बाटोबाट जीप ल्याउने भनेपछि प्रेमबहादुर जंगलघाटबाट बास्काँडा भन्ने ठाउँमा हेर्न पुगेका थिए। त्यही बेलादेखि अछाममा गाडी आउने चर्चा उनले सुन्दै आएका छन् ।
प्रेमबहादुर १० वर्षको हुँदा बोकेर गाडी आएको देखेका उनी अहिले ६८ वर्षका भइसकेका छन् । तर पञ्चायतकालीन नेता भण्डारीको अवधारणा अनुसार यहाँको सडकले पूर्णता पाउन सकेको छैन । ‘अब कसैले हिँडेर मल्वार (तराई) जानु पर्दैन । यहाँ सडक बन्ने छ । गाडी गुड्नेछन् भने आशा देखाए, अब त काम होला कि भन्ने आस राख्दा राख्दै बुढेसकाल लाग्यो,' उनले भने, ‘सडक बन्ने, कालोपत्रे हुने भनेर हल्लाखल्ला खुबै सुनिन्छ । तर कहिले बन्ने हो केही अत्तोपत्तो छैन ।’
उनकै उमेर समूहका धेरैले यो सडकको चर्चा सुने, अछामका बोकेर गाडी पुर्याएको देखे। तर त्यसपछि गाडी गुडेको कहिल्यै देखेनन् । प्रेमबहादुरका अनुसार उनको पुस्ताका धेरैले सडक बनेको, गाडी गुडेको देख्न नपाई मृत्युवरण गरिसकेका छन्।
‘गाडी बोक्न सहयोग गर्ने धेरैले गाडी गुडेको पनि हेर्न चाहन्थे । तर उनीहरुको सपना अधुरै रह्यो । हामी बाँचेकाहरू पनि जीवनको उत्तरार्धमा छौँ । गाडी गुडेको देख्न पाइने होइन कि भन्ने पिर लाग्छ । ’
सुदूरपश्चिम प्रदेशको अछामको तुर्माखाँद गाउँपालिका र कर्णाली प्रदेशको सुर्खेतको पञ्चपुरी नगरपालिका जोड्नलाई कर्णाली नदीमाथि पक्की पुल बनाउनका लागि लागि ठेक्का सम्झौता भने भइसकेको छ । तर निर्माण प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा मन्त्रीस्तरीय निर्णय गरेर २०७८ साउन ८ गते लामा कन्स्ट्रक्सनसँग पुल निर्माणको सम्झौता भएको थियो । त्यसअघि अछाम र सुर्खेतको सिमानामा बन्न लागेको वेतन कर्णाली हाइड्रोपावरका कारण जंगलघाटमा बन्ने भनिएको पक्की पुल डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनु पर्ने वा पुल अर्को स्थानमा सार्न पर्ने भन्दै अवरोध भएको थियो ।
जंगलघाटमा पुल बनेमा चिसापानी, बेलखेतको पक्की पुलपछि दुई प्रदेश जोड्ने तेस्रो नाकाको रुपमा यो पुल रहने छ । पक्की पुल निर्माणका लागि सामान ढुवानीमा सहजता होस् भनेर अछामतर्फबाट निर्माणस्थलमा सडक पुर्याउँदा पनि काम अगाडि नबढेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए।
‘पक्की पुल निर्माण गर्ने सम्झौता भएको एक वर्ष पूरा भइसकेको छ । अहिलेसम्म १० प्रतिशत काम पनि भएको छैन,’ उनले भने, ‘अन्तर प्रदेश जोड्ने र ऐतिहासिक अवधारणा बोकेको सडक सञ्चालन हुनुपर्छ भनेर हामीले धेरै सहजीकरण गरिरहेका छौँ । तर निर्माणस्थलमा काम भएको देखिँदैन ।’
गैरीटाँड –बाँसकाडा सडकको काम छरितो रुपमा भइरहेको भए पनि तुर्माखाँददेखि चिसापानी सडक खण्डको ७६ किलोमिटर सडकमा भने अपेक्षा अनुसारको काम नभएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए। ‘सडकमा काम हुँदै नभएको पनि होइन । छिटो छरितो भएको पनि छैन । जंगलघाटमा बन्ने पक्की पुलको प्रक्रिया बल्ल सुरु भएको छ । काम भएको छैन,’ उनले भने ।
पुल निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सन इन्जिनियर मनोज केसीका अनुसार फाउन्डेसनको काम मात्र सुरु भएको छ । पक्की पुल बनाउनका लागि १४ करोड ५१ लाख बजेट रहेको छ । अछामतिरबाट सामान ढुवानी गरेर काम सुरु गरेता पनि भौगोलिक विकट र सामान ढुवानी लामो बाटोबाट गर्नु पर्ने भएकाले काममा ढिलासुस्ती भएको उनले बताए ।
‘अछामतिरको फाउन्डेसनको काम यही वर्षा अगाडि सकिन्छ कि भनेर लागेका हौँ । तर अहिले सम्भव होला जस्तो लाग्दैन,’ उनले भने, ‘२ सय किलोमिटर लामो रुटबाट सामान ढुवानी गर्नु परेको छ । सम्झौतामा यति लामो रुट प्रयोग गरेर ढुवानी गर्ने उल्लेख पनि छैन । दुर्गममा काम गर्न असहज छ ।’
अछामतिरबाट पुल निर्माणका लागि स्थानीयले चासो दिने, सहयोग गर्ने गरेता पनि सुर्खेततिरबाट सहयोग नभएको उनले बताए। ‘अछामको तुर्माखाँद गाउँपालिकाले ठुलो गाडीबाट सामान ढुवानी गर्न सहज होस् भनेर पुल बन्ने स्थानसम्म सडक फराकिलो बनाइ दिएको छ । तर सुर्खेततिर फाउन्डेसनको काम गर्न गाह्रो छ । ठूला गाडीहरूबाट ढुवानी गर्न सकिँदैन । ’
अछाम र सुर्खेत जोड्न कर्णाली नदीमाथि बन्ने पुलका लागि सडक फराकिलो बनाउने काम सुरु भइसकेको सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले बताए । ‘यो पुल हामीलाई पनि अछामलाई जति आवश्यक छ त्यति नै छ । निर्माण कम्पनीले काम ढिलासुस्ती गरिरहेको छ । असहयोग भयो भन्ने बहाना मात्रै हो,’ उनले भने, ‘सामान ढुवानीका लागि सहज होस् भनेर ३० लाख बजेट छुट्याएका थियौँ । १५ दिन अगाडिबाट फराकिलो बनाउने काम सुरु भइसकेको छ ।’