अछाम — बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका करिब ३ सय ५० घरधुरी १२ दिनदेखि विद्युत्को लाइन काटेपछि अँध्यारोमा बस्न बाध्य भएका छन् । २०७७ साल भदौ २ मा रामारोशनमा आएको बाढीले दर्ना लघु जलविद्युत् आयोजनाको नहर भत्काएपछि पूर्णरुपमा बन्द भएको थियो ।
लघु जलविद्युत्को नहर भत्किएपछि त्यसको केही महिनापछि दर्ना विद्युत् सहकारीले विद्युत् प्राधिकरण अछामसँग विद्युत् किनेर करिब ८ सय घरधुरीलाई विद्युत्को पहुँचमा पुर्याएको थियो । जसमा मंगलसेन नगरपालिका–१४ को कालागाउँ पनि दर्ना विद्युत् सहकारीमा आबद्ध भएर विद्युत् सञ्चालन भएको थियो ।
सहकारीले महसुल तिर्न नसक्ने र विद्युत् प्राधिकरणले पटकपटक महसुल तिर्न ताकेता गर्ने विवाद भइरहेपछि कालागाउँ दर्ना विद्युत् सहकारीबाट छुट्टिएर २०८१ भदौमा विद्युत् प्राधिकरणले दिने केन्द्रीय लाइनसँग जोडिइसकेको छ ।
विद्युत् सहकारीले उपभोक्ताबाट महसुल उठाउने तर विद्युत प्राधिकरणलाई समयमै नतिर्ने गरेका कारण त्यसको मारमा सर्वसाधारण परेको स्थानीय शान्ति थापाले बताइन् ।
‘हामीले हरेक महिना विद्युत्को बिल तिरेका छौं । तर पैसा नतिरेको भनेर लाइन काटिएको छ । त्यसो भए हामीले तिरेको पैसा कहाँ गयो भनेर सहकारीलाई सोधिरहेका छौं । तर सहकारी पनि जिम्मेवार बन्न सकिरहेको छैन,’ उनले भनिन्, ‘हाम्रा केटाकेटी पढाइबाट वञ्चित भएका छन् । राति सडकमा राखिएको सोलारको उज्यालोमा पढ्न बाध्य छन् । चार्ज गर्न नपाएर मोबाइल स्विच्ड अफ भएको हप्ता दिनभन्दा बढी भइसक्यो ।’
दर्नामा समुदायले चलाएको विद्युत् सहकारीले विद्युत् प्राधिकरणकरणलाई महसुल तिर्न नसकेपछि गत आवमा बान्नीगढी जयगढ गाउँपालिकाले नै महसुल तिर्ने भन्दै १२ लाख बजेट विनियोजन गरेको थियो । तर स्थानीय तहले विद्युत् महसुलको पैसा त्यसरी तिरेपछि बेरुजु आउने थाहा पाएपछि अगाडि बढ्न सकेन ।
पाँच वर्षदेखि विद्युत् महसुल अशुल हुन नसकेपछि पटक–पटक सहकारी, वडा र गाउँपालिकालाई सचेत गराइएको भए पनि कसैले वास्ता नगरेको विद्युत् प्राधिकरण अछाम केन्द्रका प्रमुख हिक्मत बिसीले बताए । बीचबीचमा थोरै महसुल तिर्ने धरै बाँकी रहने क्रम चलिरहेको भए पनि मंगलसेन नगरपालिका १४ कालागाउँ छुट्टिएपछि महसुलबाफतको पैसा थोरै आउने गरेकोमा अहिले पैसा पनि आउनै छाडेको उनले बताए ।
उनका अनुसार दर्ना विद्युत् सहकारीले विद्युत् प्राधिकरण अछामलाई महसुलकाफतको करिब ३३ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । ‘दर्नाबाट कालागाउँ छुट्टिएपछि हामीले विद्युत्को केन्द्रीय लाइन करिब ३ सय ५० घरमा गत वर्षको भदौमा विस्तार गरिसकेका छौं । दर्नालाई पनि केन्द्रीय लाइनसँग जोडेर त्यसको जिम्मेवारी हामी लिन तयार छौं । त्यसको लागि सबैभन्दा पहिले बाँकी रहेको महसुल तिर्नुपर्यो,’ उनले भने ,‘हामीले कुनै जानकारी नदिइकन एकै पटक लाइन काटेका होइनौं । पटकपटक महसुल तिर्नुस्, धेरै भइसकेको छ भनेर त्यहाँको सहकारी, वडा र गाउँपालिकालाई पत्र नै पठाएका छौं । तर कोही पनि जिम्मेवार भएनन् ।’
बान्नीगढी जयगढ गाउँपालिकाले महसुल तिर्नका लागि लगातार दुई वर्षदेखि प्रतिबद्धता जनाएको तर महसुल तिर्नतिर ध्यान नदिएको उनले बताए । ‘विद्युतको महसुल तिर्न हामी जिम्मेवार छौं भनेर गाउँपालिबाबाट प्रतिबद्धतासहितको पत्र आएको भए पनि अहिलेसम्म वास्ता गरेको देखिँदैन । जिम्मेवार मान्छेको फोनसमेत उठ्दैन,’ उनले भने, ‘छलफमा आउनुस्, छलफलबाट निकास गरौंभन्दा पनि उहाँहरु अहिलेसम्म आउनु भएको छैन ।’
दर्ना सहकारीले विद्युत् प्राधिकरणसँग विद्युत् किनेको र बीचमा विद्युत् चुहावट धेरै हुने र विद्युत खपत कम भएकाले समस्या थपिँदै गएको बान्नीगढी गाउँपालिका–६ दर्नाका वडाध्यक्ष जगत थापाले बताए । बीचमा विद्युत् चुहावट हुँदा विद्युत् प्राधिकरणको मिटरमा खपत भएको देखिने तर विद्युत् सहकारीको मिटरमा नदेखिएपछि समस्या आएको उनले बताए ।
समस्या समाधानका लागि बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत बसन्त रावल र वडा नम्बर–६ दर्नाका अध्यक्ष जगत थापासहित विद्युत् प्राधिकरण अछामका प्रमुखसँगको छलफल गरे पनि निष्कर्षविहीन भएको छ ।