अछाम —नेपालको संविधानले लिंगका आधारमा हुने भेदभावलाई पूर्ण रूपमा वर्जित गरेको छ। तर, अझै पनि छोरा नजन्मिएकै कारण महिलाले हिंसा भोगिरहेका छन् । कतिपय त छोरा नजन्मिएसम्म बच्चा जन्माउन वा गर्भपतन गर्न बाध्य छन्। यस्ता धेरै हिंसाका घटना कानुनी प्रक्रियामा आइपुग्दैनन्।
खासगरी सुदूरपश्चिम प्रदेशको समाजमा यस्तो हिंसाले अझै पनि ठाउँ पाइरहेको छ। छोरा नजन्मिएकै कारण महिलाले कस्ता हिंसा भोगिरहेका होलान् त? सुदूरको सबैभन्दा सुगम मानिने कैलालीका केही प्रतिनिधिमूलक घटनालाई हेरौँ :
कैलालीमा दुई वर्षअघि छोरी भएकै कारण श्रीमान्ले अर्को बिहे गरेको घटना जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा अन्तर्गत दर्ता भयो। कान्छी श्रीमती ल्याएपछि आफूमाथि हिंसा भएको, परिवारबाट सहयोग, माया नपाएको भन्दै ती महिलाले उजुरी दिएकी थिइन्।
श्रीमान्ले कान्छी श्रीमतीसँग मिलाएर राख्ने, दुबैलाई समान व्यवहार गर्ने जस्ता अनेक प्रलोभन देखाएर मुद्दा फिर्ता गर्न लगाए। केही दिनपछि उनका श्रीमान् कान्छी श्रीमती लिएर भारत भागे। जेठी श्रीमतीले पछि फेरि उजुरी गर्ने प्रयास गरिन्, तर भएन । श्रीमान्लाई उजुरी गरेकै कारण समाजमा आफूलाई हेर्ने नजर फेरिएको उनको अनुभव छ।
...
छोरा नजन्मिएपछि हिंसा भोग्नुपरेको र श्रीमान्ले सौता ल्याएको भन्दै तीन वर्षअघि कैलालीकै एक महिलाले श्रीमान्को नाममा मुद्दा हालिन्। साँझ घर फर्कदा मेरो छोरालाई जेल पठाउन मुद्दा हालेको भन्दै सासू ससूराले घरभित्रै पस्न दिएनन्। परिवारको दबाव र आफैँलाई बस्न समस्या हुने पीरले उनले मुद्दा फिर्ता लिइन्। मद्दा फिर्ता लिएर फर्कँदा श्रीमान्ले कुट्दै घर पुर्याए। त्यसको केही दिनमा कान्छी श्रीमती लिएर सम्पर्कविहीन भए।
...
घरपरिवार र श्रीमान्ले छोरा अनिवार्य चाहिन्छ भनेपछि एक महिलाले छाराको आशमा नौ जना छोरी जन्माइन्। थप बच्चा जन्माउने अवस्था नभएपछि श्रीमान्ले अर्को विहे गरे। कान्छी श्रीमतीबाट पनि ३ जना छोरी मात्रै जन्मिए। पछि दशौँ सन्तानका रुपमा तिनै महिलाले छोरालाई जन्म दिइन्। अहिले ती महिलाको स्वास्थ्य अवस्था नाजुक छ। पाठेघरको समस्या सँगै आँखा देख्दिनन्।
...
छोराको आशमा एक महिलाले ७ छोरी जन्माइन्। वशंलाई निरन्तरता नदिएको भन्दै उनीमाथि क्रुर हिंसा त थियो नै। ८ वर्ष नपुग्दै नाबालक छोरीहरूलाई श्रीमान्ले कमलरी राख्न थाले। छोरीहरूले काम गरेवाफत आएको पैसा मदिरामा उडाउने । त्यही नसामा छोरी र श्रीमतीमाथि हिंसा गर्ने उनको दैनिकी छ । महिलामा पाठेघरमा समस्या छ भने शारीरिक रुपमा कमजोर छिन् । जुन छोरो नजन्माउनुको नतिजा हो ।
...
कैलालीकै अर्की महिलाले छोराको आशमा ७ सन्तान जन्माइन् । शारिरीक रुपमा कमजोर छिन उनी । पाठेघरको समस्या बल्झिदै गएपछि घाउ पाकेर शरीरमा किरा परेको छ। जुन यौनांग हुँदै बाहिर झर्छन् । उनको अवस्थालाई हरेर संघसस्थाले आर्थिक सहयोग गरे पनि उनको उपचार भएन । जहाँबाट जति रकम सहयोगका रुपमा आउँछ त्यो उनले देख्न पनि पाउँदिनन् । उनले भोगेको हिंसाको प्रमुख कारण पनि छोरा जन्माउन नसकेको हो ।
...
गत असार १३ गते मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई ‘साक्षर प्रदेश’ घोषण गरे पनि सुदूरपश्चिमको शिक्षित र सुगम जिल्ला मानिने कैलालीमा छोरा नजन्माएकै कारण महिलामाथि भएका हिंसाका यी घटनाले सामाजिक चेतना र शिक्षाको स्तर दर्शाउँछ । दुई दशकअघि यहाँ महिलामाथि हुने विभेदको अवस्था पनि यस्तै खालका थिए।
कैलालीको टीकापुरकी ४६ वर्षीय जानकी (नाम परिवर्तन) कै कुरा गरौं । उनको १५ वर्षको उमेरमा विवाह भयो । अर्को वर्ष उनले छोरी जन्माइन् ।घरकी जेठी बुहारीले पहिलो सन्तान जन्माउँदा सबै खुसी नै थिए। करिब चार वर्षपछि उनले दोस्रो सन्तानका रुपमा अर्की छोरीलाई जन्म दिइन्, जुन परिवारको चाहना विपरीत थियो। दुई छोरी जन्मिसकेपछि अर्को सन्तान छोरा नै जन्मिनु पर्ने दबाब जानकीमाथि थपियो ।
तेस्रो पटक पनि छोरी जन्मिएपछि जानकी र उनका श्रीमान्प्रति छिमेकीले सहानुभूति प्रकट गर्न थाले। जानकीलाई थप बच्चा जन्माउने चाहना थिएन। तर श्रीमान्, परिवार र समाजका कारण छोरा पाउने आसमा चौथोपटक गर्भवती भइन्।
'यसपटक पनि छोरी नै हुने हो कि ?' जानकीलाई शंका थियो । जाँचका क्रममा चौथो गर्भ पनि छोरी नै रहेको थाहा पाएपछि उनले मानसिक दबाब सहेर नजन्माउने सोच बनाइन् र श्रीमान्को सल्लाहमा गर्भपतन गराउने सहमति भयो। सरकारी अस्पतालमा सुरक्षित गर्भपतन हुन्छ भन्ने थाहा थिएन । निजी अस्पालमा गर्भपतन गराउन पैसा नपाएपछि चौथोपटक पनि बाध्य भएर छोरीलाई जन्म दिइन् ।
त्यसपछि त सबै दोष जानकीलाई आइलाग्यो । ‘ठूलै अपराध गरेजसरी सबैले मलाई दोष दिन्थे । यसले छोरो जन्माउन सक्दिन भनेर श्रीमान्लाई कुरा लगाउँथे,’ जानकी भन्छिन् । कुरा यतिमा मात्र सीमित रहेन । अर्को बिहे गरे छोरा जन्मिन्छ भने आश्वासन दिँदै उनका श्रीमान्को दोस्रो विवाह गराउने प्रयास समेत भयो ।
छोरा नजन्मिएका कारण जानकीले शारीरिक हिंसा त भोगिनन् । तर मानसिक हिंसा उनी र उनका छोरीहरूमाथि भइरह्यो । १० कक्षा पढ्दै गरेकी जेठी छोरीको १५ वर्षकै उमेरमा परिवारले बालविवाह गराइदिए । ‘अहिले जस्तो म बुझ्ने थिइनँ । मैले नचाहँदा नचाहँदै छोरीको जबरजस्ती बिहे गराइयो,’ उनले सुनाइन् । हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि छोराले किरिया गर्ने चलन छ ।
जसको छोरा छैन उसको दाजुभाइ वा त्यो पनि नभए नजिकको गाउँलेले किरिया गर्ने गर्छन् । केही ठाउँमा विद्रोहका रुपमा छोरीले किरिया गरे पनि त्यसलाई समाजले खुलेर स्वीकार गर्न सकेको छैन । यही परम्पराका कारण जानकी र उनका श्रीमान् धर्म परिवर्तन बाध्य भए । ‘छोरो छैन । हिन्दु भइरह्यौं भने हाम्रो काजकिरिया कसले गर्ने ?’ जानकी भन्छिन्, ‘छोरीहरूलाई त्यो दुःख दिनुभन्दा हिन्दु धर्म नै छाड्यौ ।’
...
जानकीको कथा सुगम जिल्ला मानिने कैलालीको हो। पहाडी जिल्लाका ग्रामीण भेगमा यो समस्या झन् विकराल छ । कथा उही भए पनि डोटीकी ४२ वर्षीया पुष्पाको भोगाइ जानकीको भन्दा फरक छ । लगातार तीन छोरीलाई जन्म दिएपछि श्रीमान् र परिवारका अन्य सदस्यबाट दिनहुँ शारीरिक र मानसिक हिंसामा पर्थिन् उनी ।
छिमेकीबाट पनि अपशब्द सुन्नुपर्थ्यो । समाजले छोरी जन्माएको सबै दोष पुष्पालाई दिएको थियो । तर चौथो पटकमा जब छोरा जन्मियो त्यसको श्रेय भने उनका श्रीमान्लाई गयो । छोराको बाउ भएको भन्दै गाउँलेले फूलमाला लगाई बधाई दिए । यसपछि पुष्पामाथि हुने हिंसा र समाजमा उनलाई हेर्ने नजर केही मात्रामा फेरियो । तर एक छोराको भर नहुने भन्दै अर्को छोरा जन्माउनुपर्ने दबाब आयो ।
दोस्रो छोराको आसमा उनले दुईपटक असुरक्षित गर्भपतन गरिन् । त्यसै कारण उनको पाठेघरमा घाउ बनेको छ । पाचौं सन्तानका रुपमा पुनः छोरीलाई जन्म दिएकी उनले छैटौं सन्तान दोस्रो छोरो पाइन् ।
...
जानकी र पुष्पाजस्तै कैलाली कैलारीकी २६ वर्षीया कमला पनि सन्तान छोरी मात्र भएका कारण पीडित छिन् । १६ वर्षमै भागेर विवाह गरेकी उनले १९ वर्षमा छोरीलाई जन्म दिइन् । एक सन्तानपछि दोस्रो जन्माउने इच्छा थिएन । श्रीमान्को जिद्दीले छोराको आसमा दुईपटक गर्भपतन गरिन् । तर छोरा जन्मिन नपाउँदै गाडी दुर्घटनामा उनका श्रीमान्को मृत्यु भयो । अहिले कमला अलग बस्छिन् । विवाहले गर्दा बीचैमा पढाइ छोडेकी उनी पुनः विद्यालय भर्ना भएर आफू पढ्दै, छोरीलाई पनि पढाउँदै छिन् ।
छोरा नभएका कारण माइती पक्षबाट अर्को विवाह गर्न दबाब छ उनलाई । ‘छोरो भए पो पालेर बस्नु । त्यो छोरी त बिहे गरेर अर्काको घर जान्छे । तँलाई कसले पाल्छ भन्छन्,’ उनले भनिन् । छोरीलाई छोडेर अर्को बिहे नगर्ने अडान लिएपछि माइती पक्ष कमलासँग रुष्ट छन् ।
...
जानकी, पुष्पा र कमला यहाँको समाजका प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्ता हजारौं महिला छन्, जो छोरा नजन्मिएकै कारण हिंसा भोगिरहेका छन् । कतिपय छोरा नजन्मिएसम्म बच्चा जन्माउन वा गर्भपतन गर्न बाध्य छन् । तर यस्ता हिंसाका घटना कानुनी प्रक्रियामा भने आएको पाइँदैन । परिवारका सदस्यबाटै हिंसाको सीमा नाघेर प्रहरीसम्म पुग्नु र न्याय खोज्नु महिलाहरूका लागि सहज छैन।
अझै धेरै महिला यस्ता पीडा र दुर्व्यवहार सहेर समाज र परिवारभित्रै दबिएर रहेका छन्। कैलालीस्थित महिला पुनस्थापना केन्द्र (ओरेक) मा पछिल्लो ६ वर्षमा छोरा नजन्माएकै कारण हिंसामा परेका महिलाका ६ वटा घटना दर्ता भएका छन्।
जुन अत्यन्तै क्रुर हिंसा भोगे पछि मात्रै ओरेकको सम्पर्कमा आएका हुन्। ओरेक कैलालीकी प्रमुख तथा महिला अधीकारकर्मी गिता चौधरी यस्तो खालको हिंसा शिक्षित र सम्पन्न परिवारमा बढी भएको बताउँछिन्। उनी भन्छिन्, ‘विपन्न समुदायकाले गर्भपतन गराउन नसकेर धेरै बच्चा जन्माउँछन् । सम्पन्न र शिक्षित परिवारमा महिलालाई पटक पटक गर्भपतन गराउन बाध्य बनाइन्छ ।’
उनका अनुसार यस्तो परिवारमा महिलामाथि मात्रै हिंसा छैन, छोरीहरूको पालनपोषण शिक्षा दिक्षामा पनि चरम विभेद छ । हिंसा भोगेर माइत आएका छोरीचेलीलाई ‘छोरीको कर्म यस्तै हो, श्रीमानकै घर फर्केर दुःख सुख काट्नुपर्छ’ भन्ने र सम्झाइबुझाइ घरै फर्काइदिने मान्यता कायम छ। यो कारण पनि महिलाहरूले न्याय पाउने अवस्था नरहेको चौधरीले बताइन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिलेसम्म छोरा नजन्मिएका कारण हिंसा भोगेको भन्दै उजुरी आएको छैन। कार्यालयका इन्स्पेक्टर लोकराज जोशी समाजमा धेरै महिलाले यो हिंसा भोगे पनि घटना बाहिर नआएको बताउँछन्। जनचेतनाको कमीले ‘यो पनि हिंसा हो’ भन्ने थाहा नभएर महिलाहरू प्रहरीसमक्ष नआएको उनको बुझाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थाहरूका अनुसार आमामा सधैं एक्स क्रोमोजोम हुन्छ भने बाबुबाट आउने एक्स वा वाई क्रोमोजमले छोरी वा छोरा हुने निर्धारण गर्छ । तर समाजमा जनचेतनाको अभावका कारण छोरी जन्मिनुमा पुरुष नभएर महिलालाई दोष मानिन्छ ।
जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २६ लाख ९४ हजार ७ सय ८३ छ । प्रदेशमा ५ वर्ष र सो भन्दामाथिको कुल जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत छ । पुरुष साक्षरता दर ८५.४ प्रतिशत र महिला साक्षरता दर ६८.२ प्रतिशत छ ।
गर्भमै हराउँछन् सुदूरपश्चिमका छोरी
श्रीमान् एक सरकारी कार्यालयमा शाखा अधिकृत छन्। उनकी श्रीमती एक गैरसरकारी संस्थामा काम गर्छिन्। उनी सामाजिक अभियन्ताकोरुपमा परिचित छन्। यी दम्पती समाजमा जान्ने बुझ्ने वर्गभित्र पर्छन्। उनीहरूले बिहे गरेको ६ वर्ष भयो ।
पहिलो सन्तान छोरी जन्मिँदा उनीहरू खुसी नै थिए। श्रीमती दोस्रो पटक गर्भवती हुँदा उनीहरू भ्रूण जचाउन सहर बजार धाउन थाले। एकातिर सरकारी कर्मचारीले भ्रूण जँचाएको थाहा पाए सामाजिक प्रतिष्ठामा आँच आउने डर थियो । यसका बाबजुद पनि उनीहरू भ्रूण जँचाउन नेपालगन्ज गए । त्यता सहज नदेखेपछि गत असोजमा उनी सीमापारि भारतको लखनउ गएर गर्भ जाँच गराउँदा छोरी भएको पत्ता लाग्यो । अनि गर्भपतन गराएर अछाम फर्के ।
यो दम्पतीले पहिलो पटक मात्रै भ्रूण जँचाएर गर्भपतन भने गराएको होइन । गत बैशाखमा उनले तेस्रो गर्भ पनि भारतको लखनउ गएर जँचाए । फेरि गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराएरै फर्के । ‘बाहिर भने जस्तो छोरी मात्रै हुँदा पनि हुन्छ भनेर मनाउन धेरै गाह्रो छ । यही समाजमा बस्नुपर्छ । एउटा छोरी भइसकेपछि छोराको चाहाना हुनु नराम्रो पनि त होइन्,’ ती महिलाले भनिन्,‘हामीलाई समाज पनि चाहिन्छ । छोराको रहर पनि लागेको हो । परिवारले छोरा चाहिन्छ भनेर दबाब पनि दिन थाले । हामीले (श्रीमान् श्रीमती)को सल्लाहमै भ्रूण जाँच गरेका हौँ ।’
बान्नीगढी जयगढ गाउँपालिकाको एक दम्पती पनि शिक्षित वर्गमा नै पर्छ । हाल कैलालीमा रोजगारीको सिलसिलामा बसेको यो दम्पतीले पहिलो सन्तान छोरी भइसकेपछि छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइसकेका छन् । श्रीमान् एक सरकारी कार्यालयमा काम गर्छन् । श्रीमती स्वास्थ्य संस्थामा काम गर्छन् । उनीहरू दुवैको चाहाना दोस्रो सन्तान छोरा हुनु नै हो ।
‘परिवार, समाजले छोरा चाहिन्छ भनेर दबाब दियो भनेर अरूलाई मात्रै दोष दिनु हुँदैन । एक छोरी पछि अर्को छोरा हुन पाए हुन्थ्यो भन्ने हाम्रो आफ्नै चाहाना हो,’ ती महिलाले भनिन्, ‘पटक पटक भ्रूण जाँच गराएर गर्भपतन गराउँदा आफ्नो शरीर पनि कमजोर भइसकेको महसुस भएको छ । पैसा पनि लाखभन्दा बढी खर्च भइसक्यो ।’
श्रीमान्–श्रीमती दुवै साक्षर नभएका कमलबजार नगरपालिकाको एक दम्पतीले पनि हालै भारतको पलिया सहरमा गएर गर्भ जाँच गरे । यसअघि उनीहरूका दुई सन्तान छोरी भइसकेका छन् । तेस्रो सन्तान उनीहरूलाई छोरा चाहिएको छ । फेरि छोरी नै हुन्छ कि भन्ने त्रासले उनीहरूले गाउँकै एक बचत समूहबाट ८० हजार ऋण निकालेर गत जेठमा भारतको पलिया सहरमा पुगे ।
जाँचमा छोरी भएको पत्ता लागेपछि गर्भपतन गराएर फर्केका थिए । ‘छोरा भएन भने हेप्छन् । एक छोरा त चाहियो । छोरा नहुँदासम्म कति पटकसम्म गर्भपतन गर्नुपर्ने हो थाहा छैन,’ ती महिलाले भनिन् ।
अझै पनि छोराको चाहानामा अवैध तरिकाले भ्रूण जाँच गराउने यी प्रतिनिधि पात्र मात्रै हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांक अनुसार सुदूरपश्चिममा केही वर्षयता छोरीको तुलनामा छोराको जन्मदर उच्च देखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको अवधिमा लगातार रूपमा छोराको जन्म संख्या छोरीभन्दा बढी छ ।
निर्देशनालयका तथ्यांक अधिकृत डीएन गिरीका अनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/७९ मा २१ हजार २ सय १४ छोरी जन्मिँदा २५ हजार ५ सय ९९ छोरा जन्मिएका थिए । त्यसैगरी २०७९/८० मा १८ हजार ७७६ छोरी र २३ हजार ०८१ छोरा जन्मिएको देखिन्छ । त्यस्तै २०८०/८१ मा १५ हजार १८९ छोरी जन्मिँदा १८ हजार २८३ छोरा जन्मिएका छन् । हालैको तथ्यांकअनुसार २०८१/८२ (बैशाख मसान्तसम्म) मा १३ हजार ८३४ छोरी जन्मिदा १७ हजार १०८ छोरा जन्मिएका छन् । उल्लेखित तथ्यांकअनुसार प्रत्येक वर्ष १०० छोरी जन्मिँदा १२० देखि १२३ जना छोरा जन्मिने प्रवृत्ति देखिएको छ ।
तथ्यांक अधिकृत गिरीका अनुसार सुदूरपश्चिममा बर्सेनि गर्भपतन गराउनेको संख्या पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार सुदूरपश्चिमका ९ जिल्लामा कानुनीरुपमा गर्भपतन गराउनेको संख्या १६ हजार नाघेको छ ।
सुदूरपश्चिमका सात पहाडी र दुई तराईका जिल्ला मध्ये भौगोलिक र जनसंख्याको हिसाबले सर्बैभन्दा ठुलो कैलालीमा पनि पछिल्ला वर्षमा छोरीको जन्मदर अस्वाभाविक रूपमा घटेको देखिएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार प्राकृतिक जन्म अनुपातको आधारमा अनुमानित संख्याभन्दा करिब ९०७ छोरी कम जन्मिएका छन् ।
उनका अनुसार प्राकृतिक रूपमा १०० छोरी जन्मिदा १०५ छोरा जन्मिने मान्यता छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा औसत लिङ्ग अनुपात भने १०० छोरी जन्मिदा ९६ छोरा जन्मिन्छन् । तर कैलालीमा भने यो अनुपात अस्वाभाविक रूपमा बढेर १०० छोरी जन्मिदा १२१ छोरा जन्मिएको देखिन्छ ।
कैलालीमा २०८१ साउनदेखि २०८२ वैशाखसम्म जिल्लामा ५ हजार ८९३ छोरी र सोही अवधिमा ७ हजार १३३ छोरा जन्मिएका छन् । ‘जन्मको समयमा प्राकृतिक लैङ्गिक अनुपातलाई आधार मान्ने हो भने कैलालीमा २०८१ साउनदेखि वैशाखसम्म करिब ६८०० छोरी जन्मिनुपर्ने हो । जम्मा ५८९३ मात्रै जन्मिए अर्थात् ९०७ जना गर्भबाटै हराए ?’ उनले भने, ‘गर्भमा छोरी भएकै कारण गर्भपतन गराएर ९०७ जना छोरीको भ्रूण हत्या गरियो भन्ने मेरो तर्क होइन । यसमा कति जनाको लिङ्ग पहिचान गरी भ्रूण हत्या भयो भन्ने विषय कानुनी खोजको कुरा हो । ढिलो चाँडो यो खोज्नै पर्छ ।’
उनका अनुसार यसमा धेरै हदसम्म ‘मेल चाइल्ड प्रेफरेन्स’ अर्थात् छोराप्रति प्राथमिकता दिने पितृसत्तात्मक सोच हाबी देखिन्छ । ‘लिङ्ग पहिचान गर्नु कानुनी रूपमा अपराध हो । गर्ने/गराउने दुवै अपराधी हुन् । लिङ्गको पहिचान गरी छोरीको भ्रूण हत्या गर्ने त समाजका कलंक हुन् । यो मानव अधिकारको उल्लंघन पनि हो,’ उनले भने, ‘समानता र नारी अस्तित्वमाथिको आक्रमण हो । यसले गर्दा भविष्यमा समाजभित्र लैङ्गिक असन्तुलन, हिंसा र सामाजिक संकट बढ्न सक्ने जोखिमता देखिन्छ ।’
कैलालीमा निजी स्वास्थ्य संस्थामा चिकित्सकहरूले भ्रूण पहिचान गरेर गर्भपतन गराइरहेको गुनासो पनि स्वास्थ्य कार्यालयमा आएको उनले बताए । ‘निजी क्षेत्रमा काम गर्ने चिकित्सक र स्वास्थ्य संस्थामा लिङ्ग पहिचान गरेर भ्रूण हत्या गरिन्छ भन्ने गुनासो आइरहेका छन् । यसमा प्रमाण खोज्ने र अध्ययन अनुसन्धानको काम पनि भइरहेको छ,’ उनले भने,‘भारतसँग खुला सिमानाका कारण धेरैजसो भारतमै गएर लिङ्ग पहिचान गर्ने र छोरी भएमा गर्भपतन गराइरहेको जानकारी पनि हामीलाई आइरहेका हुन्छन् ।’
के छ कानुनमा ?
नेपालको संविधानको धारा ३८ को १ मा प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने, २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक र ३ मा महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने उल्लेख छ ।
संविधानले लिंगका आधारमा हुने भेदभावलाई पूर्ण रुपमै वर्जित गरेको छ । यदि कसैले त्यस्तो कार्य गरे कानुनबमोजिम दण्डित हुने र पीडितले क्षतिपूर्ति पाउने व्यवस्था संविधानले गरेको छ । मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ मा स्वतन्त्रता, धारा १८ मा समानता र धारा २९ मा शोषणविरुद्धको हक दिएको छ । तर यतिका बाबाजुद पनि महिलाहरू छोरा नजन्मिएका कारण हिंसा भोग्न बाध्य छन् । उनीहरूले न स्वतन्त्र भएर बाँच्न पाएका छन् न त आफ्नो शरीरको निर्णय आफैँ लिन सक्छन् ।
छोरो नपाएका कारण महिलामाथि हिंसा हुने तर सतही कारण भने अरु देखाइने जिल्ला बार एसोसिएसन कैलालीका अध्यक्ष तथा अधिवक्ता इन्द्रप्रसाद लेखक बताउँछन् । उनका अनुसार यो प्रकृतिका घटना प्रहरीसमक्ष नदेखिनुको कारण महिला तथा घरेलु हिंसामा घटना दर्ता नहुनु हो ।
उनी भन्छन्, ‘छोरो भएन भनेर महिलामाथि हुने हिंसाका घटना प्रहरी समक्ष पुग्छन् तर महिला तथा घरेलु हिंसाका रुपमा । सतही कारण छोरो होइन गरिबी, रक्सीको लत यौन सन्तुष्टि नदिएको जस्ता देखाइन्छ । हिंसा छ तर यहीँ विषय भनेर स्पष्ट किटानी नपरेको मात्रै हो ।’
बालबालिकाको हकअन्तर्गत संविधानको धारा ३९ को ७ अनुसार कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइँदैन । तर छोरा नजन्मिएको घरमा परिवारका सदस्यबाट आमासँगै छोरीहरूमाथि हिंसा हुने गरेको महिला पुनस्थापना केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक सपना थापा बताउँछिन् । उनका अनुसार त्यस्ता बालिकाले बीचैमा पढाइ छाड्ने र बालविवाह गर्नुपर्ने बाध्यता आउँछ ।
‘छोरी अर्काको घर जाने हो’, ‘घरको वंश त छोरा ले बढाउने हो’ जस्ता भनाइ शब्दमा मात्र सीमित छैनन् । छोरा नभएसम्म अर्को बच्चा जन्माउन दबाब, गर्भपतन गराउन बाध्य पारिने वा बारम्बार गर्भधारण गराउने जस्ता हिंसात्मक व्यवहारको जरो यही सोचमा छ । अशिक्षित परिवारमा मात्र होइन कतिपय शिक्षित र सम्पन्न परिवारका महिलाले पनि यो हिंसा भोगिरहेको अधिकारकर्मी थापा बताउँछिन् । जसले महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको ठाडो उल्लंघन गरेको छ ।
समाजमा अझै पनि महिलाको मान उनीहरूले छोरा जन्माए/नजन्माएको आधारमा तोकिन्छ । संविधानले ग्यारेन्टी गरे पनि व्यवहारमा महिलाको शरीरमाथिको नियन्त्रण र निर्णय अधिकार उनीहरूसँग छैन । जबसम्म महिलाले आफूलाई दोषी ठान्न छाड्दैनन्, तबसम्म यो हिंसा रोकिँदैन । लिंगका आधारमा गर्भमै शिशुमाथि गरिने विभेद र त्यसले महिलामाथि हुने हिंसा अपराध हो ।