2026/05/01

हमासले भन्यो- 'सबै इजरायली बन्धक मुक्त गर्न सहमत छौं'

Admin

२०८२-०६-१८

253
Shares

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफ्नो नियन्त्रणमा राखेका सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबारसम्म २० बुँदे शान्ति योजनालाई स्वीकार गर्न हमासलाई अल्टिमेटम दिएका थिए । शुक्रबार जवाफ पठाउँदै हमास गाजापट्टीको प्रशासन प्यालेस्टिनी प्रविधिज्ञहरूलाई सुम्पन र सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ । उसले मध्यस्थहरूमार्फत शान्ति वार्तामा 'तत्काल प्रवेश' गर्न इच्छुक रहेको बताएको छ ।

नेपाली युवा विपिन जोशीसहित ४७ जनालाई हमासले बन्धक बनाएको छ । जसमा २० जना मात्रै सकुशल रहेको विश्वास गरिएको छ ।

हामासको विज्ञप्तिपछिको एउटा भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले यो प्रगतिलाई 'अभूतपूर्व' भएको टिप्पणी गरेका छन् । उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको एक पोस्टमा इजरायललाई 'गाजामा बमबारी तुरुन्त रोक्न' आग्रह गरेका छन् ।

'यो ठूलो दिन हो । यसको कस्तो नतिजा निस्कन्छ, हामी हेर्छौं । हामीले अन्तिम कुरा ठोस रूपमा तय गर्नुपर्छ,' उनले लेखेका छन्, 'धेरै महत्वपूर्ण कुरा के छ भने, बन्धकका आमाबुबा तिनीहरु घर फर्केर आउने दिनको प्रतीक्षामा छन् ।'

ट्रम्पले गाजामा बमबारी तुरुन्त रोक्न आग्रह गरेलगत्तै इजरायली सेनाले गाजा जित्ने अभियानमा जारी राखेको अप्रेसनलाई न्यूनीकरण गर्न थालेको छ । इजरायलको सैनिक रेडियोका अनुसार त्यहाँको सरकारले गाजामा युद्ध रोक्न इजरायली सेनालाई आदेश दिएको छ।

इजरायलले गाजामा घातक बमबारीबाट शुक्रबार गाजापट्टीभर कम्तीमा ७२ प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।

अक्टोबर २०२३ देखि इजरायलले गाजामा चलाएको युद्धमा कम्तीमा ६६,२८८ मानिसको मृत्यु भई १६९,१६५ घाइते भएका छन् । ७ अक्टोबर, २०२३ का दिन इजरायलमा भएको आक्रमणमा कुल १,१३९ मानिसहरूको मृत्यु भएको थियो र करिब २०० बन्धक बनाइएका थिए।

253
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.