पुष २५, २०८२
काठमाडौं। नेपाली सेयर बजारमा बारम्बार उठ्ने ईन्साईडर ट्रेडिङ (गोप्य सूचनाको दुरुपयोग) विषय पुनः चर्चामा आएको छ। नेपाली सेयर बजारका चर्चित लगानीकर्ता तथा ट्रेडर शिव चन्द्रले सार्वजनिक हितका लागि यससम्बन्धी विस्तृत जानकारी पुनः साझा गरेपछि लगानीकर्ता वृत्तमा चासो बढेको हो। विशेषगरी सेयर बजारमा नयाँ प्रवेश गर्ने लगानीकर्तालाई सचेत गराउने उद्देश्यले दुई वर्षअघि सार्वजनिक गरिएको सामग्री पुनः सेयर गरिएको चन्द्रले बताएका छन्। उनले ईन्साईडर ट्रेडिङ विभिन्न तह र माध्यमबाट कसरी हुन सक्छ भन्ने कुरा उदाहरणसहित प्रस्ट पारेका छन्।
बैठकभित्रैबाट सुरु हुने सूचना चुहावट
कम्पनीको सञ्चालक समितिको बैठकमै लाभांश वा अन्य महत्त्वपूर्ण निर्णय हुँदै गर्दा व्यक्तिगत सम्पर्कमार्फत सूचना बाहिरिने जोखिम रहेको उल्लेख गरिएको छ। बैठककै क्रममा सञ्चालकबाट नजिकका व्यक्तिसम्म सूचना पुग्दा बजार प्रभावित हुने अवस्था सिर्जना हुने चन्द्रको भनाइ छ।
मिडिया र लगानीको दोहोरो भूमिका
लगानीकर्ता नै मिडियामा संलग्न हुने वा मिडिया स्वयं लगानीकर्ताको भूमिकामा रहने अवस्थाले सूचनाको असमान पहुँच बढाउने उनी बताउँछन्। यस्तो अवस्थामा ‘ब्रेकिङ न्युज’ मार्फत केही व्यक्तिले अरूभन्दा पहिल्यै लाभ लिने सम्भावना रहने उल्लेख छ।
निर्णय सार्वजनिक हुने प्रक्रियामा जोखिम
निर्णय टाइप गर्नेदेखि सम्बन्धित निकायमार्फत सार्वजनिक गर्ने प्रक्रियाबीचको सानो ढिलाइसमेत ईन्साईडर ट्रेडिङको कारण बन्न सक्ने चन्द्रको दाबी छ। आधिकारिक सूचना सार्वजनिक हुनुअघि नै कारोबार हुनु बजारको पारदर्शितामाथि गम्भीर प्रश्न भएको उनको भनाइ छ।
ठूला लगानीकर्ता र ब्रोकर तहको प्रभाव
पहुंच भएका ठूला लगानीकर्ता, ब्रोकरमार्फत आउने ठूलो खरिद–बिक्री आदेश, र कृत्रिम प्रचार–प्रसारबाट सेयर मूल्य चलाउने प्रवृत्तिले साना लगानीकर्ता सबैभन्दा बढी जोखिममा पर्ने चन्द्रले बताएका छन्।
अंक तोकेर गरिने भविष्यवाणीप्रति प्रश्न
बजार परिसूचक कति पुग्छ भनेर निश्चित अंकसहित भविष्यवाणी गर्ने केही विश्लेषकहरूको गतिविधिले पनि गोप्य सूचनाको दुरुपयोग भइरहेको संकेत दिने उनको भनाइ छ।
नव–प्रवेशी लगानीकर्तालाई चेतावनी
चर्चित लगानीकर्ता तथा ट्रेडर शिव चन्द्रले सेयर बजारमा लगानी गर्दा सूचनाको स्रोत, समय र उद्देश्य नबुझी निर्णय लिनु जोखिमपूर्ण हुने भन्दै सबै लगानीकर्तालाई सचेत रहन आग्रह गरेका छन्। उनका अनुसार, सेयर बजारलाई स्वस्थ, पारदर्शी र विश्वासयोग्य बनाउन नियामक, कम्पनी, मिडिया र लगानीकर्ता सबै जिम्मेवार हुन जरुरी छ