2026/04/29

‘निर्वाचन प्रहरी बन्नका लागि नागरिकता बनायौँ’

Admin

२०८२-१०-०१

163
Shares

अछाम — जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामको प्राङ्गण केही दिनयता बिहानैबाटै भरिभरा छ। हातमा कागजातसहित फाइल, अनुहारमा उत्सुकता र आँखामा भविष्यका सपना बोकेका १८ देखि २२ वर्ष उमेर समूहका युवकयुवती लाइनमा उभिएको दृश्य सामान्य बनेको छ।

प्रशासन कार्यालयमा कसैले पहिलो पटक नागरिकता बनाइरहेका छन् भने कोही भर्खरै प्राप्त नागरिकता झोलामा हालेर जिल्ला प्रहरी कार्यालयतर्फ दौडिरहेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको आवेदन खुल्दै अछाममा युवाहरूको चाप बढेको हो। विशेषगरी यसपटक नागरिकता बनाउने र निर्वाचन प्रहरीका लागि आवेदन दिने काम एकै दिनमा गर्नेहरूको संख्या उल्लेख्य देखिएको छ।

तीमध्ये मंगलसेन नगरपालिका–५ की ५५ वर्षीया दुर्गा खड्का चारै जना छोराछोरीसहित प्रहरी कार्यालय परिसरमा भेटिइन्। उनका २२ वर्षीय छोरा निराजन र २० वर्षीया छोरी अनुपाको नागरिकता गत वैशाखमा बनेको थियो। १९ वर्षीया छोरी आरती र १८ वर्षीया छोरी अस्मिताको सोमबार प्रशासन कार्यालयमा नागरिकता बनाउन उनी आमा दुर्गा छोराछोरीसँगै पुगेकी थिइन्। दिउँसो करिब २ बजेसम्म छोरीहरूको नागरिकता बनेपछि ३ बजे प्रहरी कार्यालय पुगेर चारै जना छोराछोरीले निर्वाचन प्रहरीका लागि आवेदन दिए।

‘दुई छोरीको नागरिकता निर्वाचन प्रहरी बन्नकै लागि बनाइएको हो। चारै जना छोराछोरीसँग मागअनुसारको योग्यता छ। केही समय भए पनि काम पाउँछन् कि भन्ने आस त हो,’ दुर्गा भन्छिन्, ‘११–१२ कक्षा पढिरहेका छन्। धेरै छोराछोरी हुँदा खर्च जुटाउन गाह्रो भएको छ। प्रयास गर्‍यौँ भने होला कि भनेर चारै जनालाई ल्याएकी हुँ।’

मंगलसेन नगरपालिका–५ का २० वर्षीय आशिष विकले पनि सोमबार पहिले नागरिकता बनाएर त्यसपछि निर्वाचन प्रहरीका लागि आवेदन दिन प्रहरी कार्यालय पुगे। उनी यसपटक पहिलो पटक मताधिकार प्रयोग गर्ने अवसर पाउने उमेरमा छन् तर मतदानप्रति खासै रुचि देखाएका थिएनन्। नागरिकता लिने उमेर पुगेको भए पनि चासो नदेखाएका आशिष निर्वाचन प्रहरीको आवेदन खुलेपछि मात्रै नागरिकता बनाउन हतारिए।

मंगलसेनस्थित शोडषा माविमा कक्षा १२ मा अध्ययनरत आशिष नागरिकता बनाएसँगै विदेश जाने सपना पनि देख्न थालेका छन्। ‘यसअघि नागरिकता बनाउन हतार थिएन। मतदान गर्न पाउनेमा पनि चासो लागेन। निर्वाचन प्रहरी बन्न नागरिकता आवश्यक रहेछ,’ उनी भन्छन्, ‘अब निर्वाचन प्रहरीमा छनोट भए केही पैसा पनि आउँछ। त्यसपछि पासपोर्ट बनाउँछु।’

निर्वाचन प्रहरीका लागि आवेदन दिनकै उद्देश्यले हालै नागरिकता बनाएकी तुर्माखाँद गाउँपालिका–८ धमालीकी २१ वर्षीया लक्ष्मी धमाला पनि प्रहरी परिसरमा भेटिइन्। यसपटक उनी पहिलो पटक मतदान गर्ने अवसर पाउने उमेर समूहमा परेकी हुन्। लक्ष्मीले मतदानभन्दा निर्वाचन प्रहरीको अवसरलाई प्राथमिकतामा राखेकी छन्।

कमलबजार बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत लक्ष्मी निर्वाचन प्रहरी भए आर्थिक रूपमा केही सहज हुने र पढाइलाई निरन्तरता दिन सकिनेमा आशावादी छन्। ‘निर्वाचन प्रहरीका लागि आएको अवसर हाम्रै लागि हो। केही समय रोजगारी पाए आर्थिक रूपमा सहज हुन्थ्यो,’ उनले थपिन्, ‘यहाँ नपाए मतदान गर्ने अवसर त छँदै छ।’

लक्ष्मी जस्तै निर्वाचन प्रहरीका लागि आवेदन दिने महिलाको संख्या यसपटक उल्लेख्य देखिएको छ। यसअघि अछामका दुर्गम भेगबाट अस्थायी (म्यादी) प्रहरीका लागि महिलाको सहभागिता कम हुने गरेकामा यसपटक भने १८ देखि ३० वर्ष उमेर समूहका महिलाहरूको सहभागिता बढेको छ।

निर्वाचन प्रहरीका लागि आवेदन दिन लाइनमा बसेकी तुर्माखाँद गाउँपालिका–८ धमालीकी २० वर्षीया मनीषा धमाला पनि नागरिकता बनाएर आवेदन दिन पुगेकी हुन्। ‘मंगलसेन आएर पहिले नागरिकता बनाएँ, त्यसपछि आवेदन दिन आएँ। पहिले गाउँमा सूचना पुग्दैन थियो,’ उनी भनिन्, ‘अहिले सामाजिक सञ्जालबाटै सूचना पाइन्छ। पहिला छोरीलाई यसरी पठाउनु हुँदैन भन्ने रोकतोक थियो, अहिले त्यो घेरा तोड्न सक्यौँ।’

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी मीनबहादुर धामीका अनुसार निर्वाचन प्रहरीका लागि आवेदन दिनेमा १८ देखि ३० वर्ष उमेर समूहकै संख्या बढी छ। फागुन २१ गते हुने निर्वाचनका लागि अछाममा १ हजार ६ सय ४१ निर्वाचन प्रहरी आवश्यक पर्नेछ।

हाल अछामका कमलबजार, साँफेबगर र जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट आवेदन लिइँदै आएको छ। सोमबारसम्म ३ सय ९२ पुरुष र २ सय ३२ महिलाले आवेदन दिइसकेका छन्। ‘दिनकै करिब ३ सय आवेदन आइरहेका छन्। १८ वर्षदेखि ३० वर्षमुनिका युवायुवतीको उत्साह उल्लेख्य छ,’ उनले भने ।

163
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.