माघ ७, २०८२
काठमाडौँ — अमेरिकाबाट थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको छ । अध्यागमन विभागका अनुसार मंगलबार ७९ पुरुष र १ महिला गरी ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका हुन् ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरूलाई नेपाल ल्याएर छाडेको जानकारी दिए । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हालेयता अर्थात् सन् २०२४ जनवरी २० देखि हालसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकको संख्या ५ सय ४३ पुगेको छ ।
मंगलबार नेपाल आइपुगेका सबै डिपोर्टेड नागरिकलाई अध्यागमन विभागले प्रारम्भिक सोधपुछ गरी छाडेको महानिर्देशक तिवारीले बताए । उनीहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले समेत आवश्यक सोधपुछ तथा कागजी प्रक्रिया पूरा गरेको थियो ।
अध्यागमन विभागका अनुसार डिपोर्ट हुने नेपालीहरू कागजात नभेटिएका, गैरकानुनी रूपमा बसेका, भिसा अवधि नाघेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका कारण कारबाहीमा परेका हुन् ।