2026/05/01

सर्लाहीको झडप सामान्य हो, सबै पक्ष बसेर टुंग्याइसक्यौं: गगन

Admin

२०८२-११-२१

148
Shares

फाल्गुन २१, २०८२

नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर-४ का उम्मेदवार गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा भएको झडप सामान्य रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर-४ मा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सञ्चारमाध्यममा सर्लाहीमा झडप भएको खबर आएपछि आफूले तत्काल त्यहाँका साथीहरूसँग सम्पर्क गरेको थापाले जानकारी दिए। उनले भने, ‘सामान्य केही तनावको स्थिति भयो। तर फेरि सबै पक्ष बसेर यसलाई हार्दिकतापूर्वक टुंग्याइसकेका छौं।’

उनले बाहिर हल्ला आएजस्तो ठूलो समस्या नरहेको प्रस्ट पारे।

विगतमा सर्लाहीलाई निर्वाचनका बेला अत्यधिक तनाव र झडप हुने क्षेत्रका रूपमा लिइन्थ्यो। तर, यसपटक आफू उम्मेदवार भएर गएपछि त्यहाँको प्रशासन र स्थानीयले समेत शान्तिपूर्ण वातावरणको अनुभूति गरेको उनले दाबी गरे।

थापाले अगाडि भने, ‘म त्यहाँ गइसकेपछाडि निर्वाचनको प्रचारप्रसार पनि एकदमै मर्यादित भएको छ। अहिलेसम्म त्यस्तो कुनै पनि अप्रिय घटना भएको छैन।’

उनले एक–दुईवटा सामान्य घटनाबाहेक निर्वाचन प्रक्रिया सौहार्दपूर्ण रहेको बताए। थापाले आजको मतदान पनि शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

148
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.