2026/04/14

मेरो किसानले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

Admin

२०८२-१२-०२

321
Shares

काठमाडौँ — कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोग गर्दै सेवा विस्तार गरिरहेको मेरो किसान लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गर्दै सम्झौता गरेको छ।

सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार प्रभु क्यापिटलले मेरो किसान लिमिटेडको शेयर सर्वसाधारणमा बिक्री गर्ने व्यवस्थापन गर्नेछ।

सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल तथा सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्नेत सहभागी थिए।

त्यस्तै प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया तथा विशिष्टीकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगाना लगायतको उपस्थिति रहेको थियो।

कृषि उत्पादनलाई प्रविधिमार्फत व्यवस्थित रूपमा उत्पादनदेखि उपभोक्तासम्म पुर्‍याउने लक्ष्यसहित स्थापना भएको मेरो किसान लिमिटेडले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै विभिन्न कृषि गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले बिउबिजन उत्पादन, कृषि उपज संकलन, भण्डारण तथा वितरणका साथै डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन पुर्‍याउने काम गरिरहेको छ।

कम्पनीका अनुसार कृषि उत्पादनको सम्पूर्ण आपूर्ति श्रृङ्खलालाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृषि प्रणाली लागू गर्ने दीर्घकालीन योजना रहेको छ। कृषि, व्यवस्थापन, प्रविधि तथा व्यवसायिक क्षेत्रमा अनुभव हासिल गरेका विभिन्न विशेषज्ञहरूको संलग्नता कम्पनीमा रहेको बताइएको छ।

सम्झौता कार्यक्रममा सहभागीहरूले पूँजी बजारमार्फत कम्पनीलाई सर्वसाधारणसँग जोड्दा कृषि क्षेत्रमा थप लगानी आकर्षित हुने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। कृषि प्रधान देशका रूपमा चिनिने नेपाल मा आधुनिक कृषि प्रणाली र कृषि उद्यम विस्तारका लागि पूँजी बजारको भूमिका महत्वपूर्ण हुने उनीहरूको धारणा थियो।

यसैबीच कम्पनीले चितवन जिल्लाको पटिहानी क्षेत्रमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ। यसका लागि करिब ३.५ बिघा जग्गा खरिद गरी आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ।

चालु आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य कम्पनीले राखेको छ। कार्यक्रममा सहभागीहरूले प्रविधि र लगानीको संयोजनले नेपाली कृषि प्रणालीलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उल्लेख गरेका थिए।

321
Shares

©News Kunja 2021-2026. All rights reserved.