काठमाडौं । भक्तपुरको बाल सुधार गृहबाट भागेका करिब १०० जनालाई प्रहरीले पक्राउ गरेको छ। ८४ जना काठमाडौंबाट र करिब २० जना भक्तपुरबाट पक्राउ परेका हुन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौंबाट ८४ जना बालबालिकालाई नियन्त्रणमा लिइएको जानकारी दिए। यसैगरी भक्तपुरबाट करिब २० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वसन्त पाठकले बताए।
‘काठमाडौं र भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ गरेर ल्याउँदै छ। ठिक यति नै नियन्त्रणमा लिइयो भनेर गनेका छैनौँ, हामी फिल्डमै छौँ,’ पाठकले भने। उनका अनुसार भागेका बालबालिकालाई खोज्न उपत्यकाका तीन वटै जिल्लाबाट प्रहरी परिचालन गरिएको छ।
सोमबार(आज) दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट करिब १५० भन्दा बढी बालबालिका भागेका थिए। पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेको जानकारी रिजालले दिए। २० जना प्रहरी पनि घाइते भएको उनले बताए। विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई त्यहाँ राखिएको थियो।
बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको थियो। रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको थियो।
बाल सुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। त्यहाँ रहेका अधिकांश बालबालिकाहरूले प्रदर्शनकारीलाई साथ दिएका थिए।
आज त्यहाँ रहेका बालबालिकाहरू तोडफोड गरेर भागेका हुन्। ढोका फोडेर भाग्ने क्रममा उनीहरूले सुरक्षामा रहेका प्रहरीमाथि पनि आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली पनि चलाएको थियो। जसमा तीन जना बालबालिका घाइते समेत भएका छन्।