2026/07/26

महानगरले मोटरसाइकलमा ‘ह्वीललक’ लगाएपछि आक्रोशमा आत्मदाह प्रयास,

Admin
Admin

२०८३-०३-२५

61
Shares
महानगरले मोटरसाइकलमा ‘ह्वीललक’ लगाएपछि आक्रोशमा आत्मदाह प्रयास,

काठमाडौँ — काठमाडौँको राहदानी विभाग अगाडि एक २५ वर्षीय युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौँमा राइड सेयरिङ (मोटरसाइकल चालक) को काम गर्दै आएका गणेश नाम गरेका ती युवकको अवस्था अहिले निकै चिन्ताजनक रहेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार गणेशले राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकल पार्क गरेका थिए। तर, काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उक्त मोटरसाइकलमा 'ह्वीललक' (ह्वील लक) लगाइदिएको थियो। आफ्नो कमाइ गरिखाने साधनमा महानगरले लक लगाइदिएपछि आक्रोश र तनावमा आएका गणेशले मोटरसाइकलबाटै पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका हुन्।

घटना लगतै प्रहरीले उनको उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। वीर अस्पतालको बर्न युनिटका प्रमुख डा. पियूष दाहालका अनुसार गणेशको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ। अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) मा उपचार गराइरहेका उनको अवस्था निकै गम्भीर र चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।

अस्पतालमा भाइलाई भेट्न पुगेका दाइ मदन नेपालीका अनुसार, इमर्जेन्सीमा रहँदा भाइ गणेशले केही शब्द मात्र बोल्न सकेका थिए। मदनले भक्कानिँदै भने, "भाइले बाबा-मम्मीलाई केयर गर्नु भन्यो। अनि यो सबै महानगरले गर्दा हो भन्यो। यति भनेपछि भाइको बोली हरायो।"

विगत दुई वर्षदेखि काठमाडौँमा बस्दै आएका गणेशकी श्रीमती र तीन वर्षकी एउटी छोरी छिन्। उनी भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। आर्थिक रूपमा निकै विपन्न परिवारका गणेश पछिल्लो समय वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा समेत थिए। गाउँमा खेतीपातीले वर्ष दिन पनि खान नपुग्ने स्थिति भएपछि उनी काठमाडौँ आएर राइड सेयरिङमार्फत परिवार पालिरहेका थिए। बिहान ५ बजे नै कामको लागि निस्किएका गणेशले महानगरको कारबाहीपछि आवेशमा आएर यस्तो आत्मघाती कदम चालेका हुन्।

61
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja