2026/07/29

जसको जिन्दगी जिम्मेवारीले बदलियो........

Admin
Admin

२०८०-०५-१७

574
Shares
जसको जिन्दगी जिम्मेवारीले बदलियो........

अछाम
जिल्लाको दुर्गम मानिने चौरपाटी गाउँपालिका –६ दुनी की ३० वर्षीया बसन्ति साउद सामान्य साक्षर पनि छैनन् । जसोतसो आफ्नो नाम लेख्न बाहेक अरु अक्षर पनि चिनेकी छैनन् । उनले ३० वर्षको उमेरसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नु पर्योे । पहिलोपटक महिनावारी नहँुदै १३ वर्षको उमेरमा उनको मागि बिहे भयो । बालकैमा बिहे गरेर घरबार सम्हालेकी बसन्तीका श्रीमानको बिहे गरेको एक वर्ष नहुँदै मृत्यु भयो । उनलाई आफ्नो श्रमिानसँग बिताएका कुनै पल पनि सम्झनामा छैनन् । बिवाह गरेको समयदेखि नै विभिन्न उतारचढावका साथ जिन्दगी चलाइरहेकी बसन्तीको अहिले बेग्लै पहिचान छ । 

अहिले उनको परिचय हो , स्थानीय तह निर्वाचन –२०७९ मा चौरपाटी गाउँपालिका –६ दुनिबाट निवार्चित भएकी वडा सदस्य बसन्ती साउद ।  दुःखै दुःखकाबिच जीवनका ३० औं वर्ष बिताएकी बसन्तीले चुनाव जितेर जनप्रतिनिधि बन्ने कुरा कहिल्यै सोचेकी थिइनन् । ‘ सानैमा घरबाट बिवाह गरिदिए । पहिलो पटक छाउ (महिनावारी) श्रीमान बितेपछि भएकी थिएँ । भाग्यमा जे छ त्यही भयो भनेर चित्त बुझाउनु बाहेक मसंग अरु कुनै उपाय थिएन’ बसन्तीले आफ्नो विगत सम्झदै भनिन् ,‘  मेरो न छोराछोरी छन् न त श्रीमान नै छन् । बिहे गरेर एक घरमा गइसकेपछि दोघरे (दोस्रो बिवाह) हुने कुरा म सोच्न पनि सक्दिन । म श्रीमानकै घरमा बसिरहेकी छु । सायद यही कर्मको फलले मैले चुनाव जितँे ।’

राजनिती बारे सामान्य जानकारी पनि नपाएर चुनावी मैदानबाट जितेर आएकी बसन्ती साउदलाई नेकपा एमालेले महिला वडा सदस्य पदको उम्मेदवार बनायो । ‘मलाई राजनिती बारे केही जानकारी नै थिएन । तर , आफू जस्तै दुःख पाएका महिलाहरु देख्दा एकदमै पिडा हुन्थ्यो । उनीहरुसँगै मिलेर केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी थियो’ बसन्तीले भनिन् ,‘पार्टीले उम्मेदवार हुनु पर्यो भन्दा मैले पनि हुन्छ भने , सबैको सहयोगबाट चुनाव पनि जिते । अहिले मलाई दिन बिताउन सजिलो भएको छ । महिला दिदीबहिनीको कामका लागि वडादेखि पालिकासम्म्म पनि जान्छु ।’

चुनाव जितेको सुरुवाती अवस्थामा मान्छेको अगाडी बोल्न डराउने , उभिन पनि नसक्ने अवस्थाबाट आएकी बसन्तीको व्यक्तित्वमा दिनप्रतिदिन निखारता आइरहेको छ । ‘म वडासदस्य नभएको भए मेरो जिन्दगी केही नबुझी , आफ्नै पिडामा यसै जान्थ्यो’ उनले भनिन् ,‘अहिले गाउँका महिलाहरुका सुख , दुखमा साथ दिन सक्ने भएकी छु ।’

चौरपाटी गाउँपालिका –६ दुनीकी ४७ वर्षीया थुना परियारको जीवनमा २० वर्ष अगाडी दुःखकै पहाड खस्यो । १४ वर्षमा बिहे गरेर १५ वर्षको उमेरमा उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । श्रीमान कहिले बम्बै कहिले घर हुन्थे । आर्थिक अवस्था कमजोर भएका कारण बम्बै जाने र मौसमी रुपमा अछाम फर्किने तमाम अछामी पुरुषका जस्तै बाध्यता उनका श्रीमानको पनि थियो । जीन्दगी जसोतसो सुखैले चलेको बेला गाउँमा आएको सरुवा रोग हैजाले उनका श्रीमान र छोरालाई पनि समायो । त्यतिबेला गाउँमा स्वास्थ्य चौकी , अस्पताल केही थिएन । घरेलु उपचारले नथेगेपछि उनका छोराको मृत्यु भयो । हैजाले उनको सबै परिवारलाई आक्रमण गरिसकेको थियो । हैजाकै कारण पुत्र वियोगको सामाना गरिरहेकी थुनाका श्रीमान्को छोराको मृत्यु भएको ९ दिनपछि मृत्यु भयो । पुत्र र पति वियोगको पिडा एकैसाथ बेहोरेकी थुनाको जीवनमा बेहिसाब दुःख आइ लागे । 

त्यतिबेला उनको साथमा ६ महिनाकी छोरी मात्रै थिइन् । दुःख अभाव र पिडासँग भिड्दै ,जुध्दै उनी छोरीको पढाइ र पालपोषणमा लागिन् ।  समाजले एकल महिलालाई गर्ने व्यवहारबाट थुना पनि अछुतो रहन सकिनन् । तर पनि उनी निरन्तर समाजमा आफूलाई बलियो देखाउन लागि रहिन् । परिवारको जिम्मेवारीलाई काँधमा बोकेकी थुनाको काँधमा यतिबेला समाजको जिम्मेवारी पनि थपिएको छ । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित दलित महिला वडा सदस्य हुन् ।्

परिवारको जिम्मेवारी बहन गर्दै विस्तारै गाउँमा हुने आमा समूह र अन्य संघसंस्थाका कार्यक्रममा जान थालिन् । ‘सधैंभरी आफूलाई दुःखैमा राखेर पनि नहुँदो रहेछ । गाउँमा हुने हरेक बैठक , तालिममा म जान थालँे । त्यति बेलादेखि नै म बोल्न सक्ने भइसकेकी थिएँ ’ उनले भनिन् ,‘ जुनसुकै कार्यक्रममा पनि जाने र बोल्ने भएकाले गाउँका धेरै जेठानी देउरानीले हाम्रा गाउँकी नेता हो भनेर मलाई जिस्काउँथे । पार्टीले उम्मेदवार बनाएपछि गाउँमा तिनै दिदीबहीनीसँग गएर अब साच्चिकै नेता बनाउनुस् भनेर भोट मागँे । अहिले नेता नै बनाए ।’ उपचार नपाएर पुत्र र पती गुमाएकी थुनाको प्राथामिकतामा जहिले पनि स्वास्थ्य उपचार र एकल महिलाका समस्या पर्छन् । वडामा पनि उनले यही कुरालाई उठाउँछिन् । 

चौरपाटी गाउँपालिका –४ की ५५ वर्षीया ढुन्की कामी हस्ताक्षरसम्म सजिलै गर्न नसक्ने महिला हुन् । राजनिती , सहर , बजार , बैठक , तालिम यी सबै उनका लागि एक वर्षअघिसम्म धेरै बिराना विषय थिए  । तर अहिले ढुन्की यी विषयसँग परिचित भइसकेकी छन् । एक वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उनलाई नेपाली कांग्रेसले दलित महिला सदस्य पदको उम्मेदवार बनायो । आफैंले नसोचेको पदको जिम्मेवारी उनिमाथि आयो । दलित र गैरदलित बिचको भेदभावलाई उनले नजिकबाट देखेकी छन् । एकै धारामा पानी खान नपाइने , बाटो हिंड्न नपाइने जस्ता व्यवहारको सामना उनले पनि गर्नु पर्यो ।  तर दलित , गैरदलित सबैका मतले वडा सदस्य बनेकी ढुन्कीको दैनिकी अहिले बदलिएको छ । ‘पहिले देख्दा पनि वास्ता नगर्नेहरु अहिले के छ नेताज्यू भन्दै बोल्छन् । आफ्ना समस्या सुनाउँछन्’ उनले भनिन् ,‘जिताएर पनि केही गर्नु भएन भनेर गुनासो गर्छन् । कतिले गालि गर्छन् , रिसाउँछन् । कतिले सम्मान पनि गर्छन् । यो सबै वडासदस्य भएर मात्रै सम्भव भएको हो ।’पहिले घरको चुलोचौकामा व्यस्त रहने ढुन्कीलाई अहिले गाउँमा हुने बैठक , तालिम , पार्टीका कार्यक्रममा जान भ्याइनभ्याई छ । ‘पहिले त के बोल्ने कसो गर्ने भनेर हडबडाउँथँे । अहिले मनमा लागेको कुरा बोल्न सक्छु । बाहिरतिर गयो भने धेरै कुरा सिकिने रैछ ।’ उनले भनिन् ।


संघियताले परिकल्पना गरेको र संविधानले अनिवार्य व्यवस्था गरेका कारण मात्रै अहिले प्रत्येक वडा र टोलमा महिला नेताहरु जबरजस्त आएको दलित महिला संघ (फेडो) अछामकी अध्यक्ष लक्ष्मी सोवले बताइन् । ‘यो सबै संघियता कै कारण सम्भव भएको हो । यस अवसरले  गर्दा महिलाहरुक राजनितीक रुपमा केही हदसम्म स्थापित भएका छन् ’ उनले भनिन् ,‘ केही महलाको वडा सदस्यबाट सुरु भएको राजनिती माथिल्लो तहसम्म पनि पुगेको छ   । धेरैमा राजनिती चेतना आयो । संविधानले अनिवार्य व्यवस्था गरेका कारण मात्रै महिलाहरुले अवसर पाएका हुन् ।’


 

574
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja