आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।
विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
पहिलो दिन मान्यजन कहाँ जान नपाएकाहरू आज पनि टीका थाप्न हिँडेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन् ।
केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।