2026/08/25

हिंसाको सिकारपछि मानसिक समस्या

Admin
Admin

२०८०-०९-१२

608
Shares
हिंसाको सिकारपछि मानसिक समस्या

अछाम — मंगलसेन नगरपालिका–१० जुपुकी ३० वर्षीया रत्ना (नाम परिवर्तन) चार महिनादेखि मानसिक तनाव झेलिरहेकी छिन् । १७ वर्षको उमेरमा विवाह भएकी उनका दुई छोरा र एक छोरी छन् । विवाह भएपछिको डेढ दशक उनले श्रीमान्बाट दिनकै कुटपिट, गाली र मानसिक यातना भोगिरहिन् ।

अरु केटाहरूसँग जोडेर शंका गर्ने, मदिरा सेवन गरेर कुटपिट गर्न थालेपछि गएको भदौ २६ गते उनले श्रीमान्विरुद्ध उजुरी दिइन् । त्यसपछिको समय भने उनका लागि झनै कठिन भएको छ ।

‘जहिले रक्सी खाएर कुट्ने, अपशब्द प्रयोग गरेर गाली गर्ने, सार्वजनिक रूपमै गाली बेइज्जती गर्न थालेपछि बाध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ,’ उनले भनिन्, ‘वर्षौंदेखि सहेरै आएकी थिएँ । कुन दिन कुटेरै मार्छ, छोराछोरी टुहुरा हुन्छन् भन्ने लाग्यो ।’ श्रीमान्ले सुध्रिन्छु भन्नुको साटो प्रहरीमा उजुरी हाल्ने भन्दै तनाव दिन थालेपछि मुद्दा अहिले सम्बन्ध बिच्छेदको तहमा पुगेको उनले सुनाइन् ।

वर्षौंदेखि यातना पाएकी उनलाई श्रीमान्विरुद्ध उजुरी हालेको भन्दै गाउँमा समेत बस्ने वातावरण नभएपछि अहिले मानसिक रोगको सिकार बनेकी छन् । प्रहरीमा उजुरी दिएपछि श्रीमान् सुध्रेलान् र परिवारमा मिलेर बस्न पाइएला भन्ने सोचेकी उनले त्यसैकारण सम्बन्ध विच्छेदको मुद्दा खेप्नु परेको छ । ‘प्रहरीमा मुद्दा दिनेलाई श्रीमती स्विकार्न सकिंदैन भन्छन् । अनेक तनाव दिन्छन् । गाउँमा पनि सुखले बस्न दिएका छैनन्,’ उनले भनिन्, ‘वर्षौंदेखिको त्यो यातना र अहिलेको यो झमेला सहन सकिरहेकी छैन ।’ उनमा मानसिक रोगको लक्षण देखिएपछि केही समयदेखि जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचार गराइरहेकी छन् ।

गत जेठ १३ मा कमलबजार नगरपालिकाकी १७ वर्षीया एक बालिकालाई चार जनाले अभद्र व्यवहार गरेको र शरीर बन्धक बनाएको भन्दै मुद्दा अदालतसम्म पुग्यो । अन्तिममा पीडितले नै बयान फेरेपछि आरोपितहरूले सफाइ पाए । त्यसपछिका दिनमा भने उनलाई समाजमा स्थापित हुनै समस्या भएको छ । समाजको दबाब, पीडक पक्षले पार्ने प्रलोभनलगायतका कारण पीडितले बयान त बदलिन् तर उनी मानसिक रूपमा भने विक्षिप्त भएकी छन् । ‘डर लागिरहने, निन्द्रा नलाग्ने, भोक नलाग्ने, निराश हुने र खुसी नै हुन नसक्ने भएँ,’ उनले भनिन्, ‘सुरुको अवस्थामा यी सबै लक्षणलाई सामान्य रूपमा लिएकी थिएँ । टाउको, पेट, छाती दुख्ने, हातखुट्टा झमझम हुने र खान मन नलाग्ने भएपछि र मनमा अनेक सोच आउन थालेपछि अहिले मानसिक रोगको औषधि खाइरहेकी छु ।’

स्कुलमा जाँदा आफूलाई हेर्ने नजर नै फेरिएको उनी बताउँछिन् । आफूमाथि आक्रमण गर्नेहरू खुलेआम हिँडेको देख्दा र समाजले आफूलाई हेर्ने नजर नै बदिलिएको देख्दा झन् पीडा हुने उनी बताउँछिन् । ‘मुद्दा हालेपछि न्याय पाएको महसुस हुँदैन भन्ने थाहा पाएको भए सुरुमै म केही भएको होइन भनिदिन्थें । यत्रो हल्लाखल्ला पनि हुँदैनथ्यो होला । मैले पनि यो यातना सहनुपर्ने थिएन,’ उनले भनिन्, ‘अहिले सबैले मलाई नै गलत देखाइरहेका छन् । एकान्तमा बस्दा आउने अनेक सोचले मलाई झन् पीडा भएको छ ।’

रामारोशन गाउँपालिकाकी ३९ वर्षीया एक महिलाले लामो समयदेखि घरभित्र पाइरहेको यातनालाई भंग गर्ने निधो गरेर गत जेठ २५ गते श्रीमान्विरुद्ध अभद्र व्यवहार, कुटपिट, गाली–बेइज्जती गरेको भन्दै जिल्ला प्रहरीमा उजुरी दिइन् । सदरमुकामबाट १ सय किलोमिटरभन्दा टाढा रहेको दुर्गम गाउँकी उनी परिवार र श्रीमान्को इज्जतका लागि भन्दै वर्षौंसम्म यातना सहेर बसेकी थिइन् । धेरै पटक त प्रहरीसम्म गएर परिवार र श्रीमान्को बेइज्जत गर्नुभन्दा आफैं मर्छु भनेर आत्महत्याको प्रयाससम्म गरिन् । यस्तै उतारचढावका बीच बिहे गरेको १९ वर्ष बित्यो । पाँच सन्तान जन्मिए । दिउँसो राम्र्रै देखिने श्रीमान्को व्यवहार साँझ परेपछि मदिरा सेवन गरेर ‘बदलिने’ उनले सुनाइन् । ‘लामो समयसम्म हिंसा भोगरिरहेकी थिएँ,’ उनले भनिन्, ‘छोराछोरीको अनुहार सम्झेर मात्रै बाँचिरहेकी छु ।’ जब उनीमाथि अत्यधिक कुटपिट हुन्थ्यो, त्यतिबेला छोराछोरीलाई पनि बिर्सेर आत्महत्या गर्न जान्थिन् । ‘घरपरिवार, छरछिमेकी सबैलाई मैले पाएको पीडा भन्दा श्रीमान्को इज्जत जान्छ भन्ने डर थियो,’ उनले भनिन्, ‘दुई छोरा, तीन छोरी छन् । श्रीमान्लाई उनीहरूको लालनपालनको चिन्ता छैन । रक्सी खाने, श्रीमती कुट्ने र बहादुरी देखाउनाले म बरु त्यो घरमा जान्न भनेर नै प्रहरीसम्म पुगेकी हुँ ।’

मंगलसेनमा रहेको सुरक्षित आवास गृहमा बसेर प्रहरीसम्म पुगेकी उनी पनि लामो समयदेखि मानसिक रोगसँग लडिरहेकी छन् । जिल्ला अस्पतालमा गएर जाँच गरेपछि उनी चार महिनादेखि मानसिक रोगको औषधि खाइरहेकी छन् । औषधि खाइरहेकै बीचमा उनले अर्को समस्या पनि झेल्नु परिरहेको छ । ‘मैले मानसिक रोगको औषधि खान थालेको गाउँमा पनि हल्ला भइसकेको रैछ । पागल भएकाले त्यसैको दबाई खाने रैछ, आफू पागल भएकी रहेछ श्रीमान्ले हिंसा गर्‍यो भनेर मुद्दा हाल्न गइ भन्न थालेका छन्,’ उनले भनिन्, ‘त्यही श्रीमान्का कारण म यो हालतमा पुगेको कुरा समाजले कहिल्यै बुझेन । उल्टै ममाथि खनिएका छन् ।’ अहिले पनि श्रीमान्–श्रीमती मिल्न नसकेको र आफू छुट्टै छोराछोरीसँग बसिरहेको उनले बताइन् ।

अप्रत्यासित घटनाबाट सम्हालिन नसकेका, पारिवारिक समस्याबाट गुज्रिएका, जबरजस्तीकरणी, बलात्कारका घटनामा परेका थुप्रै महिला र किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको महिला अधिकारकर्मी एवं सेफ हाउस सञ्चालक पशुपति कुँवरले बताइन् । ‘केही समययता महिलाहरूमा मानसिक समस्या देखिन्छ । सेफ हाउसमा आउने धेरै केस यस्तै छन् । कतिपयलाई त सम्हाल्न पनि गाह्रो हुन्छ,’ उनले भनिन्, ‘मानसिक समस्या देखिएपछि परिवार, समाजले पनि घृणा गर्ने, उसको कुरै नसुन्नेजस्ता समस्या धेरै देखिएका छन् ।’ सेफ हाउससम्म पुगेका धेरैजसो आत्महत्याको प्रयास गरेकाहरूसमेत रहेको उनले बताइन् ।

हिंसाबाट मानसिक रोगको समस्या झेलिरहेका यी केही प्रतिनिधि पात्र हुन् । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अछाममा गत आवमा आएका ५ सय ३३ घटनामध्ये मानसिक दुर्व्यवहारका ३ सय ५०, शारीरिक आक्रमणका ८७, यौन हिंसाका १७, जबर्जस्ती विवाहका २६, यौन दुर्व्यवहारका १७, बलात्कारका १७, नागरिकता, विवाह दर्ता र अंश नपाएका ३६ वटा थिए । यी अधिकांश घटनाका पीडितमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको ओसिएमसीले जनाएको छ । उनीहरूलाई ओसिएमसीले निरन्तर मनोसामाजिक परामर्श सेवा दिइरहेको छ । मानसिक हिंसामा परेकामध्ये १९ देखि ४९ उमेर समूहका ७०.१७ प्रतिशत महिला छन् । इकान्तिपुरबाट

608
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja