2026/04/29

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले..............

Admin

२०८१-०३-२०

430
Shares

काठमाण्डौ । चौबीस घण्टे अल्टिमेटमभित्र समेत प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राजीनामा नदिएपछि सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । योसँगै एमालेका सबै मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा पत्र समेत पेश गरेका छन् ।  

एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा रघुबीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्रकुमार राई खानेपानी र हरिप्रसाद उप्रेती रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पत्र पठाउँदै आफ्नै नेतृत्वमा राष्टिय सहमतिको सरकार निर्माणको सहमति भएको भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिइएको प्रष्ट पारेका छन् । 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको निर्णयको केही समयपछि नै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले प्रचण्डलाई भेटी सामूहिक राजीनामा बुझाएका थिए ।

एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड सरकार स्पष्ट अल्पमतमा परेको छ । अब संविधानको व्यवस्थाअनुसार उनले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ ।  

अल्पमतमा परिसकेपछि नैतिकताका आधारमा राजीनामा गरी मार्गप्रशस्त गर्ने विकल्प भने प्रचण्डसामू अझै पनि छ । तर, प्रचण्डले हिजोसम्म आफूले राजीनामा नदिने, बरु संसद फेस गर्ने बताइरहेका छन् ।  

प्रचण्डले सुनाए फत्तेमानको गीत

राजीनामा बुझाउन आएका एमालेका ८ मन्त्रीहरुसँग प्रचण्डले खुलेर कुरा गरेनन् । बरु फत्तेमान राजभण्डारीको चर्चित गीत यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले बोलको गीत सुनाएका थिए ।  

प्रचण्डले गीत सुनाएर एमाले मन्त्रीहरुलाई पठाए पनि उनमा एकपछि अर्को नैतिक दवाब परेको छ ।  

एकातिर सत्ताको प्रमुख सहयात्री दल नेकपा एमालेले विश्वासको मत लिएको छ भने प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राजीनामा गरी केपी ओली नेतृत्वमा बन्न लागेको सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न भनिसकेको छ । प्रचण्ड विगतमा झै नैतिकतालाई बिर्सिएर संवैधानिक व्यवस्थालाई पछ्याउँदै ३० दिनसम्मै सत्तामा टाँसिएर बसिरहने हुन् या राजनीतिक इमानदारिता र नैतिकता देखाएर केही दिनमै राजीनामा दिने हुन् भन्ने विषय चाहिँ हेर्न बाँकी नै छ । 

430
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.