2026/07/30

भीम रावललाई भ्रम नफैलाउन एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षको चेतावनी

Admin
Admin

२०८१-०६-२१

443
Shares
भीम रावललाई भ्रम नफैलाउन एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षको चेतावनी

एमाले नेता भीम रावललाई भ्रम नफैलाउन  प्रदेश अध्यक्षले चेतावनी दिएका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीले नेता रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका हुन्।

साेमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैसीले निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाए।

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु,’ अध्यक्ष जैसीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमै खण्डन गरेका थिए।  

रावलले सामाजिक सञ्जालमा लेखेपछि पार्टी प्रदेश अध्यक्ष जैसीले विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन्।

‘पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहोदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्रै वकालत गर्न आन्दोलन गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईंप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष जैसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध हुन तथा भ्रममा नपर्न अपिल गर्दछु।’

443
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja