2026/08/25

लुम्बिनीमा स्थानीय तह उपनिर्वाचन : रुख चुनाव चिह्न लिएर एमाले नेता उम्मेदवार

Admin
Admin

२०८१-०८-०२

439
Shares
लुम्बिनीमा स्थानीय तह उपनिर्वाचन : रुख चुनाव चिह्न लिएर एमाले नेता उम्मेदवार

२ मंसिर, काठमाडौं ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा लुम्बिनी प्रदेशको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार कांग्रेसको चुनाव चिह्न रुखबाट लड्ने भएका छन् । 

दुई दलबीच भएको सहमतिअनुसार माओवादीविरुद्ध रुख चुनाव चिह्नबाट एमाले उम्मेदवार लड्ने भएका हुन् ।

आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरेका हुन् । सहमतिअनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी हुन् । उनी एमाले निकट महिलाहरुको संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् ।

पुथाउत्तरगंगा माओवादीको बलियो आधार क्षेत्र भएको पालिका हो । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस-एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवारले दोब्बर मत ल्याएर विजयी भएका थिए । पुथामा माओवादीले भने ज्ञानीदेवी पुनलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।

पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा पनि कांग्रेस एमालेले साझा उम्मेदवार बनाएका छन् । वडामा भने एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाइएको छ । रोका भने एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् । वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २ सय ३४ र कांग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत प्राप्त गरेका थिए ।

कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने गरी सहमति गरिएको बताए । सहमतिपत्रमा कांग्रेसका सभापति रोका र एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् । दुवै दलबीच निर्वाचनपछि पनि जिल्लाका सबै कार्यक्रमका लागि साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने गरी सहमति गरिएको एमाले अध्यक्ष गौतमले बताए ।

त्यस्तै लुम्बिनी प्रदेशकै मुसिकोट नगरपालिका–१ को वडाअध्यक्षमा हुने निर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा गरी ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुसिकोट नगरपालिकाका एमाले अध्यक्ष प्रकाश काफ्लेका अनुसार कांग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा, माओवादीबाट दुर्गाबहादुर बिक, राप्रपाबाट ईश्वरी थापा र रास्वपाबाट विकास थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसका मोहन घिमिरे विजयी भएका थिए । लुम्बिनी प्रदेशका रुकुमपूर्व, गुल्मीसँगै रोल्पाको रुन्टीगढी नगरपालिका–४, कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ ।

439
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja