2026/06/06

दीपक बज्राचार्यको रिदम ब्याण्डसँगै फिदिममा भ्यालेन्टाइन्स डे धमाका

Admin

२०८१-११-०३

409
Shares

पाँचथर — फिदिममा भ्यालेन्टाइन्स डे विशेष कार्यक्रम दीपक बज्राचार्य र उनको रिदम ब्याण्डको प्रस्तुतिसँगै धूमधामसँग सम्पन्न भयो। आयोजकको तालिका अनुसार कार्यक्रम साँझ ८ बजे सुरु हुने तय भए पनि स्थानीय कलाकारको प्रस्तुति, सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमपछि बज्राचार्य स्टेजमा उक्लिँदा रातको १० बजिसकेको थियो।

दर्शकहरू बेसब्रीले प्रतीक्षा गरिरहेका बेला, स्टेजमा पुग्नासाथ रिदम ब्याण्डका सदस्यहरूले वाद्यवादन सामग्री मिलाए, प्राविधिक टोलीले उपकरणको परीक्षण गर्‍यो, र सबै तयारी पूरा भएपछि दीपक बज्राचार्यले ज्याकेट फुकाउँदै दर्शकहरूलाई सम्बोधन गरे।

"कार्यक्रम ८ बजे नै सुरु हुने योजना थियो, तर प्रत्येक ठाउँको आ–आफ्नै विशेषता हुन्छन्। यतिबेलासम्म कुरेर बस्नुभएकोमा धन्यवाद!" उनले आफ्नो चर्चित गीत "म त हावा सँगै आउँछु" बाट प्रस्तुति सुरु गरे।

सुरुवाती गीतहरूले माहोल तताउन केही समय लाग्यो। दोस्रो गीतअघि उनले दर्शकहरूलाई आफूसँगै गाउन र नाच्न आग्रह गरे। जब तेस्रो गीत "काँचो माया पियारी" गाउन थाले, स्टेज मुनि रहेका दर्शकहरू झन् उत्साहित भए। चौथो गीतसम्म पुग्दा वातावरण पूरै रोचक भइसकेको थियो।

"मायाको डोरीले" गीत प्रस्तुत भइरहँदा स्टेजमा धिमे बाजासहित लाखे नृत्यसमेत देख्न पाइयो। दर्शकहरू स्वरमा स्वर मिलाउँदै झन् जोशका साथ नाच्न थाले। दीपकले जब सोधे, "तपाईंहरूको भ्यालेन्टाइन्स कस्तो हुँदै छ?" दर्शकदीर्घाबाट उत्साहित जवाफ आयो— "गज्जब!"

बज्राचार्य र उनको टिमले लगातार दुई घण्टा स्टेज तताए। पहिलो पटक पाँचथर आएका उनले "ओ अमिरा", "काली काली", "कसले देला धन", लगायत नयाँ-पुराना एक दर्जन गीत प्रस्तुत गरे। माहोल यति तात्यो कि दर्शकहरू पसिनाले निथ्रुक्क भिजिसकेका थिए।

फिदिम माध्यमिक विद्यालयको मैदानमा आयोजित यो कन्सर्ट हेर्न पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम र इलामका संगीतप्रेमीहरू भेला भएका थिए। ‘हेल्प टुगेदर फाउण्डेसन’ द्वारा आयोजित यो कार्यक्रम युवा पुस्तामाझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरण तथा गीत-संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थियो।

कन्सर्टमा समावेश गरिएका नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाच आदिले विशेष आकर्षण थपेको थियो। तेह्रथुमको आठराईबाट आएकी रमा कन्दङवाका अनुसार सांगीतिक कार्यक्रमले मात्र नभई सांस्कृतिक विविधताले समेत दर्शकहरूको मन खिचेको थियो।

दीपक बज्राचार्यको लाइभ प्रस्तुति प्रत्यक्ष सुन्न सदरमुकामदेखि ग्रामीण क्षेत्रका दर्शकहरू जोडी बाँधेर, हुल बनाएर वा गाडी नै रिजर्भ गरेर समेत आएका थिए। कन्सर्टभरि दर्शकहरूको उत्साह र सहभागिता उच्च रह्यो, जसले यो कार्यक्रम फिदिमको एक अविस्मरणीय सांगीतिक साँझ बनायो।

409
Shares

©News Kunja 2021-2026. All rights reserved.