2026/07/28

मङ्गलसेनको बदलिँदो चित्रः लैंगिक उत्तरदायी बजेटदेखि ‘सेफ हाउस’सम्म

Admin
Admin

२०८३-०३-१२

110
Shares
मङ्गलसेनको बदलिँदो चित्रः लैंगिक उत्तरदायी बजेटदेखि ‘सेफ हाउस’सम्म

मेनुका ढुंगाना (अछाम) - सधैँझैँ अछामको आकाश मुनि मङ्गलसेन बजार आफ्नो रफ्तारमा दौडिरहेको छ । तर, यही बजारको एक कुनामा एउटा यस्तो घर छ, जसको ढोकाभित्र पस्ने बित्तिकै निराशा आशामा र आँसुहरू तागतमा बदलिन्छन् । त्यो घर हो— अल्पकालीन महिला सुरक्षित आवास गृह (सेफ हाउस) ।

घरेलु हिंसा, सामाजिक तिरस्कार र अन्यायको आँधीबेहरीले उडाएर साहाराविहीन बनाएका अछाम र आसपासका महिलाहरूका लागि यो आवास गृह पछिल्लो दुई वर्षदेखि बलियो खम्बा बनेर उभिएको छ । सन् २०२४ अगस्ट (२०८१ भाद्र) मा वडा कार्यालयको कोठाबाट सुरु भएको यो यात्राले हालसम्म २ सय ३० जनाभन्दा बढी पीडित महिला र बालबालिकालाई आश्रय मात्र दिएको छैन, उनीहरूलाई समाजमा शिर उठाएर बाँच्ने साहस पनि दिएको छ ।
मंगलसेन नगरपालिकाले जिल्लाका अन्य ९ वटा स्थानीय तह र विभिन्न संघसंस्थासँग सहकार्य गरेर सेफ हाउस सञ्चालन गरेको हो ।यो घरलाई कसैले सेफ हाउस भन्छन् त कसैले ‘माइती घर’ । तर यहाँ आश्रय लिइरहेकाहरूका लागि यो नयाँ जीवन पाउनु जस्तै हो । केही समयअघि विकट ढकारी गाउँपालिकाबाट ज्यान जोगाउन मङ्गलसेन आइपुगेकी एक हिंसा प्रभावित महिला अहिले यहीँको ओतमुनि छिन् । श्रीमान् र घरपरिवारको निरन्तरको कुटपिट र मानसिक यातनाले थला परेकी उनी जब अर्धमूर्छित अवस्थामा यहाँ आइपुगेकी थिइन् ।  उनलाई लाग्थ्यो अब उनको संसार सकियो । आफ्नो विगत सम्झिँदै उनले भनिन्, ‘घरको कुटपिटले मर्नु न बाँच्नु भएकी थिएँ । यहाँ आएपछि मात्रै थाहा पाएँ— म पनि मान्छे हुँ, मेरो पनि बाँच्ने अधिकार छ ।’

त्यस्तै कथा रामारोशन गाउँपालिकाबाट आएकी अर्की हिंसा प्रभावित महिलाको पनि छ । बहुविवाह र आर्थिक हिंसाको शिकार भएर घर न घाटकी भएकी उनी सुरुमा न्याय माग्दै भौंतारिएकी थिइन् ।  सेफ हाउसमा आश्रय पाएपछि उनले कानुनी लडाइँ मात्र सुरु गरिनन्, बरु आफूलाई मानसिक रूपमा बलियो समेत बनाइन् । ‘श्रीमान्ले अर्की ल्याएर निकालेपछि बच्चासहित सडकमा पुगेकी थिएँ,’ उनले भनिन्, ‘यहाँ आएपछि हिम्मत पाएँ, अब आफ्नो खुट्टामा उभिन सक्छु ।’
यो सुरक्षित आवास गृहलाई परियोजना मात्र नभई एउटा न्यानो परिवार बनाउने श्रेय जानछ यहाँकी इञ्चार्ज जैसरा बोहरालाई । दिन होस् या रात, २४ सै घण्टा पीडितहरूको सेवामा खटिने जैसरा यहाँ आउने हरेक महिलाको पीडालाई आफ्नै ठानेर आत्मसात गर्छिन् । हिंसाका अनेकन रूप र पीडितहरूको कहालीलाग्दो अवस्थालाई नजिकबाट नियालेकी इञ्चार्ज बोहरा भन्छिन्, ‘यहाँ आउने दिदीबहिनीहरू मानसिक रूपमा निकै भत्किसकेका हुन्छन् । हामी उनीहरूको आँसु पुछ्छौँ र कानुनी लडाइँमा साथ दिन्छौँ ।’

जैसराले अगाडि सारेको तथ्याङ्कको ऐनाले अछामको सामाजिक चित्रलाई प्रष्ट पार्छ । स्थापनाकालदेखि हालसम्म सेफ हाउसले कुल २३० वटा एकहोरो केस (५० जना बालबालिका सहित) हेरेको छ । जसमध्ये मङ्गलसेन नगरपालिकाका सबैभन्दा बढी ८९ जना छन् । यस्तै रामारोशनका २०, तुर्माखाँदका १८, बान्नीगढी जयगढका १२, साँफेबगरका ९, मेल्लेख र चौरपाटीका ६–६, कमलबजार र पञ्चदेवल विनायकका २–२, ढकारीका १ र अन्य जिल्लाका ९ जना महिलाहरू यहाँ ओत लाग्न आइपुगेका छन् ।

पीडाको प्रकृति हेर्दा स्रोतसाधनबाट बञ्चित गराइने (आर्थिक हिंसा) का ८५ केस र घरेलु हिंसा (गालीगलौज) का ७० केस दर्ता छन् । शारीरिक कुटपिटका ३६, मानसिक हिंसाका २७, बहुविवाहका ३७ र बालविवाहका १४ केसहरू यहाँ आइपुग्दा जबरजस्ती करणीका २२ वटा भयानक रूपहरू पनि फेला परेका छन् । जसमध्ये १६ वटा मुद्दा अहिले पनि अदालतमा न्यायको पर्खाइमा लडिरहेका छन् । जैसरा थप्छिन्, ‘कुल ३ सय ३७ केसहरूमध्ये १सय ६४ जना श्रीमान्‌बाट र १सय ४५ जना घरपरिवारबाट पीडित छन् । यसले महिलाहरू आफ्नै घरभित्र बढी असुरक्षित रहेको देखाउँछ ।’

यो त भयो सेफ हाउसको कुरा । तर, प्रश्न उठ्छ— के यो सेफ हाउसले मात्रै मङ्गलसेन र सिंगो अछामको अवस्था बदल्न सक्छ? हिंसाको यो कहालीलाग्दो तथ्याङ्कलाई रोक्न र समाजको जग नै बदल्न स्थानीय सरकारले के गरिरहेको छ त? यस विषयमा मङ्गलसेन नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले नीतिगत र व्यावहारिक रूपमै धेरै महत्वपूर्ण कदमहरू अगाडि बढाएको देखिन्छ ।

यस विषयमा मङ्गलसेन नगरपालिकाको समग्र नीति, बजेट र धरातलीय कामहरू गर्दै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले बताइन् । ‘हामीले नीति तथा कार्यक्रममै समेटेर महिलाहरूको नेतृत्व विकास र उद्यमशीलताका लागि लैंगिक उत्तरदायी बजेट विनियोजन गर्दै आएका छौँ, जसले महिलालाई आर्थिक रूपमा बलियो बनाउन जगको काम गरेको छ,’ उनले भनिन् ,‘सुगमदेखि विकट वडाका महिलाहरूलाई आयआर्जनमा जोड्न विभिन्न उद्यमशीलता, साना घरेलु उद्योग र सीपमूलक तालिमहरू सञ्चालन गरी उनीहरूलाई आत्मनिर्भर बनाउने नीति लिइएको छ ।’
मङ्गलसेनले भोग्दै आएका शताब्दी पुराना सामाजिक कुप्रथाहरूको जरा काट्न नगरपालिका कसर बाँकी नराखेको महतको दाबी छ । ‘अछाममा गहिरो गरी जकडिएको छाउपडी प्रथालाई निर्मूल पार्न नगरपालिकाले छाउपडी मुक्त वडा अभियान तथा विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ’ उनी थप्छिन्, ‘उमेर नपुग्दै हुने विवाह र त्यसले महिलाको स्वास्थ्य तथा शिक्षामा पार्ने नकारात्मक असरलाई रोक्न गैरसरकारी संस्थाहरूसँगको समन्वयमा बालविवाह विरुद्धका सचेतना अभियानहरू अघि बढाइएका छन् ।’

विद्यालय तहमा छात्राहरूको शैक्षिक निरन्तरता र स्वास्थ्य सुरक्षालाई पनि मङ्गलसेनले विशेष महत्व दिएको छ । शाखा प्रमुख महतका अनुसार, छात्राहरूको विद्यालयमा नियमित उपस्थिति सुनिश्चित गर्न र महिनावारीका बेला हुने अनुपस्थिति रोक्नका लागि सामुदायिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने र छात्रा शौचालय निर्माणका कार्यहरू द्रुत गतिमा गरिएका छन् । यसका साथै ग्रामीण महिलाहरूका लागि विभिन्न पोषण भत्ता, मातृत्व सचेतना कार्यक्रम र सुरक्षित प्रसूति सेवाका लागि बर्थिङ सेन्टरहरूको विस्तारमा मङ्गलसेनले जोड दिएको छ ।
महिला र बालबालिका मात्र होइन, समाजका ज्येष्ठ नागरिकहरूको अधिकार, सामाजिक सुरक्षा र सम्मानका लागि पनि नगरपालिका गम्भीर अध्ययनका साथ अघि बढेको महत बताउँछिन् । ‘लक्षित वर्ग अन्तर्गत ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको छ,’ महतले भनिन्, ‘विभिन्न वडाहरूमा ज्येष्ठ नागरिकहरूका लागि विशेष स्वास्थ्य शिविर र उनीहरूको सम्मान तथा सामाजिक सुरक्षाका लागि स्थानीय स्तरमा पहलहरू हुँदै आएका छन् ।’  उप–प्रमुखको संयोजकत्वमा रहने न्यायिक समिति मार्फत महिला माथि हुने घरेलु हिंसा, सामाजिक उत्पीडन र झैझगडाहरूको सुनुवाइ गरी स्थानीय स्तरमै कानुनी उपचार र मेलमिलाप गराउने काम भइरहेको उनले बताइन् ।

नगरपालिकाको यो सुन्दर नीतिगत चित्र र सेफ हाउसको अहोरात्रको खटाईका बाबजुद पनि विकट वडाहरूको धरातलमा चुनौतीका काला बादलहरू अझै मडारिइरहेका छन् । धरातलीय समस्याहरू उस्तै छन् । उनका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि जनचेतनाको ठूलो कमी छ । कानुनी आँखाबाट बच्न लुकीछिपी बालविवाह गर्ने क्रम रोकिएको छैन । महिनावारी हुँदा गोठमा बस्नुपर्ने बाध्यता र रुढीवादी सोच कतिपय ठाउँमा अझै जीवितै छ । विद्यालयहरूमा शौचालय त बनेका छन्, तर पूर्वाधार र पानीको अभावका कारण छात्राहरूले पाउनुपर्ने प्रतिफल पूर्ण रूपमा पाउन सकेका छैनन् । गम्भीर प्रकृतिका हिंसामा प्रमाण जुटाउन निकै सकस हुने र पीडकहरू राजनीतिक दबाब र  सजिलै धरौटीमा छुट्दा पीडितहरू थप प्रताडित हुने अवस्था अझै छ । 

 ‘यी सकारात्मक नीति र प्रयासहरूका बाबजुद पनि विकट वडाहरूको धरातलमा अझै पनि जनचेतनाको कमी र पूर्वाधारमा पानीको अभावका कारण लक्षित वर्गले पाउनुपर्ने प्रतिफल पूर्ण रूपमा पाउन सकेको देखिँदैन,’ शाखा प्रमुख मन्जु महत आफैँ पनि यो कुरा स्वीकार्दै भन्छिन्, ‘यसका लागि बजेट कार्यान्वयनमा अझै कडा निगरानी र घरदैलो लक्षित कार्यक्रमको आवश्यकता छ ।’ मङ्गलसेन नगरपालिकाले जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर सुविधासम्पन्न र अपाङ्गतामैत्री एकीकृत सेफ हाउस भवन निर्माण गर्ने, चौबीसै घण्टा सेवा दिनका लागि समर्पित सवारी साधनको व्यवस्था गर्ने र प्रत्येक वडा स्तरमै मनोसामाजिक परामर्शकर्ता खटाउने योजना बनाएको छ ।

110
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja