मेनुका ढुंगाना (अछाम)
अछामको मङ्गलसेन नगरपालिका यतिखेर एउट यस्तो उज्यालो यात्रामा छ, जहाँ पसिनाको मूल्य माटोले दिन थालेको छ । कुनै समय हरियो तरकारी र मासुका लागि तराईका जिल्लार भारतकै मुख ताक्नुपर्ने बाध्यतामा रहेको यो पहाडी भू–भागले अहिले आफ्नै माटोमा आत्मनिर्भरताको सपना देख्दै छ र त्यो सपनालाई बिस्तारै बिस्तारै बिपनामा बदल्दै छ । स्थानीय सरकारको अभिभावकत्व, किसानको जाँगर र कृषि प्रविधिको सही परिचालनले गर्दा अहिले मङ्गलसेनको कृषि क्षेत्रमा परिवर्तन देखिन थालेको छ । यो परिवर्तनको सारथी बनेकी छिन् मङ्गलसेन नगरपालिका–९ की ६० वर्षीया नन्दा बोहरा ।
नन्दा बोहराको दैनिकी आजभोलि बिहान झिसमिसेमै सुरु हुन्छ । उनको हातमा सधैँझैँ डोको र नाम्लो त छँदै छ, तर अब त्यो डोकोमा परम्परागत निर्वाहमुखी खेती मात्र छैन । व्यावसायिक कृषि उत्पादनको भारी छ । च्याउखेति र तरकारी खेति नै उनको परिवारको आम्दानीको मेरुदण्ड हो । ‘पहिले च्याउका लागि पराल काट्दा हातै थाक्थ्यो, ज्यान नै गलिसक्थ्यो । तर, अहिले नगरपालिकाले दिएको मेसिनले मेरो कामलाई धेरै सजिलो बनाइदिएको छ । यो मेसिन मेरो हात मात्र होइन, मेरो आत्मविश्वास बढाउने साथी बनेको छ । ’ कालिका कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यावसायिक रूपमा खटिएकी नन्दा भन्छिन्,‘नगरपालिकाबाट पाएको तालिम र अनुदानले त मलाई ठूलो व्यापारी नै बनाइदियो भन्दा हुन्छ । पहिला–पहिला घर चलाउनै धौ–धौ हुन्थ्यो, अहिले आफ्नै तरकारी बेचेर वर्षमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने क्षमतामा पुगेकी छु । जब म मेरो बारीमा लटरम्म फलेका तरकारी र च्याउ देख्छु, अनि मलाई लाग्छ कि पसिना बगाउनुको सुख अरू केहीमा छैन ।’ नगरपालिकाबाट पाएको अनुदान र तालिमले व्यवसायलाई अगाडी बढाउन सहज भएको उनले बताइन् ।
‘यो माटोले कसैलाई पनि भोको राख्दैन, मात्र हामीले यसलाई माया गर्न र आधुनिक तरिकाले काम गर्न जान्नुपर्छ । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो जहाँ मैले आफ्नै घर आँगनमा यति धेरै सफलता देखेकी छु । ’ उनले भनिन् ,‘नगरपालिकाले मेरो जस्ता धेरै किसानको आँखा खोलिदिएको छ । अब मलाई लाग्छ यो यात्रा अझै टाढासम्म जान्छ र हामी जस्ता किसानहरूको जीवनमा परिवर्तन हुन्छ ।’
नन्दा बोहराको जस्तै ऊर्जा र उत्साह मङ्गलसेन–६ का कृषक नन्दाराम भण्डारीमा पनि उत्तिकै देखिन्छ । गाउँमा वर्षौंदेखि बाँझो रहेको जमिनमा केही वर्षअघिदेखि मकै खेती सुरु गरेका उनले आफ्नो सफलता र चिन्तालाई एकसाथ पोखे । ‘मैले पनि १५ हजारभन्दा बढीको मकै बेचें। यसअघि घरमा भएको मकै नबिक्ने र आफ्नो लागि मात्रै प्रयोग हुन्थ्यो यसरी गाउँमै मकै बेच्न पाएपछि आम्दानी पनि भएको छ र जग्गा पनि बाँझो रहेन । ’ उनले भने ,‘गाउँमै स्थापना भएको सहकारीले गाउँमै आम्दानी र रोजगारीको वातावरण सिर्जना गरेको छ । तर, यी सबै सफलताका बीच अहिले बदेलको बिगबिगीले ठूलो चिन्ता थपेको छ । उनका अनुसार वर्षभरी गरेको मेहनतको फल अन्तमा बदेलको मुखमा पर्दा कतिपय किसानको लगानी नै खेर गएको छ, जसले गर्दा फेरि खेती लगाउन पनि डर लाग्ने अवस्था छ ।
उनका अनुसार एकातर्फ सहकारीमार्फत बजारको सुनिश्चितताले कृषकलाई उत्साहित बनाएको छ भने अर्कोतर्फ जङ्गली जनावरको प्रकोपले उनीहरूको मिहिनेतमाथि प्रश्नचिह्न खडा गरेको छ । बदेलको बिगबिगी नियन्त्रणका लागि वन कार्यालय र अन्य सरोकारवाला निकायहरूसँगको समन्वय र दीर्घकालीन समाधानको पर्खाइमा अहिले सिङ्गो वडा छ । ‘ म जस्ता किसानहरू जसले बाँझो जमिनलाई हरियालीमा बदल्ने आँट गरेका छन्, तर हाम्रो मिहिनेतको सुरक्षा अबको प्रमुख चुनौती बनेको छ ।’ उनले भने ।
कृषि मात्र होइन, पशुपालनमा पनि मङ्गलसेनले ठूलो फड्को मारेको छ । नगरपालिकाले उन्नत जातका भैँसी र बाख्रा वितरण, गोठ सुधार र घाँस खेती प्रवद्र्धनको नीति लिएपछि किसानहरूको अनुहारमा चमक आएको छ । ‘पहिले गाउँमा रैथाने जातका गाईभैँसी मात्र पालिन्थ्यो, जसले थोरै दूध दिन्थे । नगरको अनुदान सहयोगमा उन्नत जातको भैँसी ल्याएपछि अहिले दूध बेचेरै छोराछोरीलाई राम्रो स्कुल पढाउन पुगेको छ ।’ नगरपालिका–६ का थुइरे भण्डारी भन्छन्, ‘समयमै पशुको बिमा हुने र गाउँमै पशु स्वास्थ्य शिविर चल्ने भएकाले लगानी डुब्ने डर पनि घटेको छ ।’
यो सकारात्मक परिवर्तनको पछाडि नगरपालिकाको कृषि रणनीतिको ठूलो हात छ । साना किसानहरूलाई समूह र सहकारीमा आबद्ध गराई व्यावसायिक बनाउने नीतिले धरातलमा काम गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा मकै, सुन्तला र तरकारीका ‘पकेट क्षेत्र’ घोषणा गरिएका छन् । किसानहरूले मिनिट्रेलर, कुटानी–पिसानी मेसिनजस्ता औजार अनुदानमा पाएका छन्, जसले श्रम र लागत घटाएको छ । सहकारी मार्फत संकलन केन्द्रहरू स्थापना भएपछि किसानले बजारको सास्ती कम भोगेका छन् ।
तर, यो प्रगतिको यात्रामा केही काँडाहरू पनि छन् । ‘हाम्रो मुख्य उद्देश्य भनेको मङ्गलसेनलाई उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर बनाउनु हो । हामीले अनुदानलाई वास्तविक किसानको हातसम्म पुर्याउन कृषक वर्गीकरण र स्थलगत अनुगमनलाई कडा बनाएका छौँ,’नगरपालिकाका कृषि शाखा प्रमुख तपेन्द्र केसी भन्छन्, ‘जसका कारण अहिले परिणाम पनि राम्रो देखिन थालेको छ । तर, हामीले सोचेजस्तो द्रुत गतिमा काम गर्न बजेटको सीमाले भने सधैँ रोक्ने गरेको छ । वार्षिक २५ लाखको बजेटले समग्र नगरको कृषि आधुनिकीकरणको चाहनालाई धान्न निकै गाह्रो छ ।’ उनका अनुसार किसानहरूको माग धेरै छ, आवश्यकता धेरै छ, तर स्रोत सीमित छ । ‘हामीले अझ धेरै किसानहरूलाई समेट्न खोजेका छौँ । तर बजेट अभावका कारण धेरै योजनाहरू अधुरै राख्नुपर्ने , प्राथमिकताका आधारमा कटौती गर्नुपर्ने अवस्था छ ।’ कृषी शाखा प्रमुख केसीले भने ,‘ यो हाम्रो लागि मात्र होइन, समग्र किसानको हितका लागि पनि एउटा ठूलो चुनौती हो । अर्कोतर्फ, प्राविधिक जनशक्तिको अभावले गर्दा रोगव्याधि लाग्दा किसानले तत्कालै विशेषज्ञ सेवा पाउन नसक्ने समस्या अझै छ ।’
प्राकृतिक र संरचनात्मक चुनौतीहरू पनि उस्तै छन् । जलवायु परिवर्तनका कारण बढ्दो खडेरी, पानीका मुहान सुक्ने समस्या, रासायनिक र प्राङ्गारिक मलको अभावले किसानलाई पिरोल्छ । उत्पादित तरकारी राख्ने शितभण्डार नहुँदा सिजनमा सस्तोमा बेच्नुपर्ने । नष्ट गर्नुपर्ने बाध्यता अझै हटेको छैन । ‘स्थानीय सरकारले कृषिमा गरेको लगानी र प्रयास निकै सराहनीय छ ।’ स्थानीय कृषि अगुवा नरेन्द्र भाट भन्छन्, ‘अबको कदम भनेको सिँचाइका लागि लिफ्टिङ, आकाशे पानी संकलन प्रविधि भित्र्याउनु र शीतभण्डारको निर्माण गर्नु हो । ताकि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकून् ।’
मङ्गलसेनको यो कृषि रूपान्तरण उदाहरणीय सुरुवातको रुपमा देखिएको छ । कागजमा कोरिएका योजनाहरू किसानको खेतबारीसम्म पुग्नु आफैँमा ठूलो उपलब्धि हो । मङ्गलसेनका किसानहरू अहिले अन्न उब्जाउने कामदार होइनन्, उनीहरू त आर्थिक समृद्धिका सिर्जनाकार हुन् । यो सकारात्मक रूपान्तरणलाई दिगो बनाउन अब अनुदान बाँड्ने काममा मात्र सीमित नभई सिँचाइ पूर्वाधारको दीर्घकालीन विकास, प्रविधि हस्तान्तरण, र उत्पादित वस्तुको बजारीकरणको दरिलो ग्यारेन्टी गर्नु आवश्यक छ । जबसम्म स्थानीय सरकारले किसानका साना साना समस्यालाई आफ्नै अभिभावकत्व प्रदान गरिरहन्छ र बजेटको अभावलाई चिर्दै थप स्रोतहरू जुटाउन सकिन्छ तबसम्म मङ्गलसेनलाई आत्मनिर्भर र नमुना कृषि नगर बनाउने यो अभियान अझ मजबुत बन्दै जानेछ । किसानहरूको जाँगर, सरकारको दरिलो साथ र समय सापेक्ष आधुनिक प्रविधि नै मङ्गलसेनको भविष्यको समृद्धिको तीन खम्बा हुन् । अहिले देखिएका यी चुनौतीहरूलाई अवसरमा बदल्न सके, मङ्गलसेनले भोलिका दिनमा अन्य पालिकाका लागि समेत एउटा बलियो कृषि मोडल पेश गर्नेछ ।