2026/07/29

कृष्णबहादुर महरा पुत्र राहुल पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति

Admin
Admin

२०८०-०५-१३

563
Shares
कृष्णबहादुर महरा पुत्र राहुल पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति

गत पुसमा भेपभित्र लुकाएर भएको नौ किलो सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

राहुलले पक्राउ परेपछि आफ्नाविरुद्ध गोयबल्स शैलीमा ठूला भनिएका मिडियाले प्रचार गरेपछि सीआईबीलाई सघाउन हाजिर भएको जिकिर गरेका छन् । 

‘कथित ठूलो भनिएको मिडियाले गोयबल्स शैलीमा मिडिया ट्राएल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भइ अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, उनले सामाजिक सञ्जालमा भनेका छन् । 

यस प्रकरणमा पूर्वसभामुखसमेत रहेका उनका बाबु कृष्णबहादुर पनि मुछिएका छन् । उनी र राहुल सुन तस्करीमा संलग्न चिनियाँसँग २५० भन्दा धेरै पटक टेलिफोन सम्पर्क गरेको खुलेको छ ।

त्यस्तै बाबुछोरा दुवैजनाले त्रिभुवन विमानस्थल भन्सारमा अड्किएको उक्त सुनसहितको सामान छुटाउन पटक पटक  दबाब दिएको बयान कर्मचारीले नै दिइसकेका छन् 

यसबीचमा जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । 

विद्युतिय चुरोट (भेप) मार्फत भएको करिव ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

563
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja