2026/07/28

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश

Admin
Admin

२०८०-०६-०४

1981
Shares
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश

सर्लाही सदरमुकाम मलंगवामा फेरि दुई धार्मिक समूहबीच तनाव देखिएको छ ।

यही बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवादलाई लिएर तनाव भएपछि मलंगवा नगरपालिका क्षेत्रमा हिंसाको अवस्था बनेको हो ।

हिंसाको अवस्था भएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार र उच्छृङ्खल गतिविधि भएपछि अवस्थालाई नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरेका हुन् ।

यादवले उक्त सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने जनाएका छन् ।  

प्रशासनले बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्म लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो ।

उक्त आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने पनि यादवले जनाएका छन् ।  

गत भदौ अन्तिम साता पनि सर्लाही सदरमुकाम मलंगवामा साम्प्रदायिक सद्‌भाव बिथोल्न खोजिएको थियो । त्यसबेला कृष्ण यादवसहित ११ जनालाई पक्राउ परेका थिए । तर उनीहरुलाई जिल्ला प्राशासन कार्यालयको सर्वपक्षीय बैठकको सहमति अनुसार रिहा गरिएको थियो ।

1981
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja