2025/11/11

अछामका दुर्गम गाउँ बिजुलीको पहुँचबाहिर, सदरमुकामकै बस्ती विद्युत्‌विहीन

Admin

२०८२-०७-०२

77
Shares

अछाम — सुदूरपश्चिम प्रदेश सरकारले अछाम जिल्लालाई पूर्ण विद्युतीकरण जिल्ला बनाउनका लागि चैत २०८१ मा काम सुरु गर्‍यो । एक वर्षभित्र जिल्लाभर पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखिए तापनि हालसम्म दुर्गमका नागरिक बिजुलीको पहुँचमा पुग्न सकेका छैनन् ।

सडकको पहुँच, भौगलिक सुगमता भएका ठाउँमा आयोजनाले काम गरिरहे पनि जिल्लाका दुर्गम बस्ती अहिले पनि बिजुलीविहीन छन् ।

सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिका-१३ को बस्ती अहिले पनि बिजुलीको पहुँचमा पुग्न सकेको छैन । १४ वडामध्ये बिजुली नपुगेको वडा बस्ती मात्रै हो । वडा कार्यालय रहेको बस्तीमा बिजुली पुगे पनि बाँडा, डाँडिगडे लगायतका गाउँमा करिब ३ हजार जनसंख्या बिजुलीको पहुँचमा नभएको मंगलसेन नगरपालिका-१३ का वडाध्यक्ष हिक्मत बोगटीले बताए । ‘सदरमुकामको वडा हो । अहिलेसम्म बिजुली पुगेको छैन । पोल गाडेर छोडेको वर्षौं भइसक्यो । ठेकेदारले पनि काम गरिरहेको छैन,’ उनले भने,‘ बाँडा गाउँको डीपीआर नै नबनाएको देखियो । आधा बाटोसम्म मात्रै पोल गाडिएको छ । विद्युत प्राधिकरणको कार्यालयमा गएर अब धर्ना दिनुपर्ने भएको छ ।’

कमलबजार नगरपालिकाका-१० वडामध्ये वडा नम्बर ७ को क्वाल्लेखको केही भाग, जामा, फल्टाने, तान्ती, सुनदेवी, छडानदेवीका स्थानीय अहिले पनि अँध्यारोमा बस्न बाध्य भएको स्थानीय महेश जैशीले बताए । उनका अनुसार यो वडा कमलबजार नगरपालिकाको दुर्गम क्षेत्रमा पर्छ । ‘भौगोलिक विकटता र दुर्गम भएकाले होला, अहिले पनि हाम्रो वडामा बिजुली पुग्न सकेको छैन,’ उनले भने, ‘सोलार किन्न पनि नसक्ने परिवार अहिले पनि अध्याँरोमा बस्न बाध्य छन् ।’

उनका अनुसार कमलबजार क्षेत्रमा पहिलो पटक बिजुली पनि यही वडाका गाउँहरुमा बलेको थियो । पलाना लघु जलविद्युत आयोजना चाइरा खोलाबाट एक दशकअघि करिब ३ सय घरधुरीले बिजुली बाल्न पाएका थिए । बिजुली बलेको केही समयभित्र समस्या देखिएपछि पूर्ण रूपमा बन्द भएको थियो ।

ढकारी गाउँपालिकाका ८ वडामध्ये वडा कार्यालयसम्म बिजुली पुगेको वडा नम्बर ६ ढुंगाचाल्ना र वडा नम्बर १ ढकारी रहेको गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताए । उनका अनुसार वडा नम्बर २ को हिच्मामा बिजुलीको लाइन विस्तार गरिए पनि वडा कार्यालयसम्म बिजुली बाल्न सकिएको छैन । ‘८ वडा मध्ये २ वडा कार्यालयसम्म मात्रै बिजुली पुगेको छ । गाउँमा अझै पुग्न सकेको छैन । पूर्ण विद्युतीकरण आयोजनामार्फत पोल गाडिएका छन् । काम भएको छैन,’ उनले भने, ‘बिजुली पुगेको ठाउँमा पनि गाउँपालिकाको बजेट र जिल्ला विद्युत प्राधिकरणको सहयोगमा बालिएको हो । आयोजनाबाट काम भएको देखिँदैन ।’

बिजुली नभएका वडामा कार्यालयको काम गर्न पनि समस्या रहेको उनले बताए । सोलारको भरमा काम गर्नुपरेको र एक पटक सोलार बिग्रदा मर्मत गर्न कम्तीमा एक साता लाग्ने गरेको उनको भनाइ छ । ‘बिजुली नभएका कारण कार्य सम्पादन गर्न त कठिन छ भने दुर्गम गाउँमा झन् धेरै समस्या छ । आयोजनाको काम चित्तबुझ्दो छैन,’ उनले भने ।

रामारोशन गाउँपालिका-७ को सुतारमा आयोजनाबाट काम भइरहे पनि बिजुली बल्न सकेको छैन । स्थानीय श्याम भण्डारीका अनुसार सुतारको चाफागाउँ, किमतोला, मेलकाटिया, काँडागाउँमा बिजुली पुगेको छैन ।

वडा नम्बर ४ बाटुलासैनको केही दुर्गम गाउँ, वडा नम्बर ५ नेटाकोटको भित्री गाउँमा बिजुली नपुगेको उनले बताए । नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख हिक्मत बीसीका अनुसार पञ्चदेवल विनायक नगरपालिका-९ को कालेकाँडालाई अझै पनि विद्युत् लाइनसँग जोडिएको छैन । दैलेख जिल्लाबाट विद्युतको लाइन तान्दा सहज र सस्तो पर्ने भएकाले सोहीअनुसार समन्वय भइरहेको उनको भनाइ छ ।

तुर्माखाँद गाउँपालिका-१ रहफमा दैलेखतिरबाट लाइन तानिएको छ भने वडा नम्बर २ को भुलुको वडा कार्यालयमा बिजुलीको लाइन पुग्न सकेको छैन । वडा नम्बर ३ को भैरवस्थानमा पनि वडा कार्यालयसम्म मात्रै विद्युतको पहुँच पुगेको छ । ‘तुर्माखाँदमा भौगलिक विकटताका कारण काम गर्न असहज भएको छ । हामीले प्रयास गरिरहेका छौं,’ उनले भने । उनका अनुसार पूर्ण विद्युतीकरण भएका साँफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका मात्रै हुन् ।

चौरपाटी गाउँपालिकाको वडा नम्बर २ र ३ सोकटमा बिजुली नपुगेको र तिहारअगाडि बिजुली बाल्ने तयारी रहेको अछाम वितरण प्रमुख बीसीले बताए । मेल्लेख गाउँपालिकाको दुर्गममा रहेका वडा नम्बर १ र २ ऋषिदहमा भने तत्काल बिजुलीको लाइन विस्तार गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले करिब १८ महिनाअघि अछाम जिल्लालाई पूर्ण विद्युतीकरण बनाउनका लागि काम सुरु गरेको थियो । १ अर्ब २० करोड बजेट छुट्याएकामा ठेक्का प्रक्रियामा जाँदा करिब ८२ करोडमा काम सक्ने सम्झौता भएको थियो । लाइन विस्तारका लागि आवश्यक पर्ने ट्रान्सर्फमर, तार र पोल नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउने र अन्य सामग्री ठेकदारले व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो । लाइन विस्तारका लागि आवश्यक पर्ने ट्रान्सर्फमर, तार र पोल नेपाल विद्युत् प्राधिकरणले केन्द्रबाटै खरिद गरेर उपलब्ध गराउने नीति रहेको र अहिलेसम्म जिल्लामा उपलब्ध हुन नसकेको अछाम प्रमुख बीसी बताए ।

‘लाइन विस्तारका लागि आवश्यक ट्रान्सर्फमर, तार र पोल केन्द्रबाट नै आउने हो । आन्तरिक कारणले अहिलेसम्म सामान पाउन सकेका छैनौं,’ उनले भने, ‘कतिपय ठाउँमा ठेकेदारले नै काममा ढिलासुस्ती गरिरहेका छन् । कतिपय ठाउँमा प्राधिकरणले नै सामान उपलब्ध गराउन नसक्दा काम अगाडि बढ्न सकेको छैन ।’ अहिलेको बजेटमा अछामलाई पूर्ण विद्युतीयकरण जिल्ला बनाउन करिब २२ करोड बजेट अपुग हुने र त्यसका लागि माग पनि गरिएको उनले बताए ।

77
Shares

©News Kunja 2021-2025. All rights reserved.