2026/07/30

सुन तस्करी प्रकरण अनुसन्धान गर्न सीआईबीको टोली भारत पठाइयो

Admin
Admin

२०८०-०५-१४

541
Shares
सुन तस्करी प्रकरण अनुसन्धान गर्न सीआईबीको टोली भारत पठाइयो

काठमाडौँ १४ भदौ

हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पठाएको छ । 

बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो । 

अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताउनुभयो । यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ । 

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् । 

यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन् । हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाइएको हो । 

सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सिआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।

541
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja