2026/04/30

आजदेखि डिभी लोटरीको फर्म खुल्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन?

Admin

२०८०-०६-१७

559
Shares

सन् २०२५ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ। 

बुधबार राति ९ : ४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। 


डिभीको लागि आवेदन कात्तिक २१ गते राति १० : ४५ बजेसम्म दिन सकिनेछ।

डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ।

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ,’ दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ। 

कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/   मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ।

दर्ता गर्दा आफ्ना पति-पत्नी र आवेदक समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदि समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य पनि ठहरिने दूतावासले जनाएको छ। 

कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो हाले पनि अयोग्य नै ठहरिने विज्ञप्तिमा उल्लेख छ।

‘अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन,’ दूतावासले भनेको छ।

यसअघि अमेरिकाको विदेश मन्त्रालयले आवेदकहरूलाई डिभी आवेदन भर्दा राहदानी भएको जानकारी दिनुपर्थ्यो। तर अहिले राहदानी हुनु अनिवार्य नभएको दूतावासले जनाएको छ। 

आवेदन भरिसकेपछि उपलब्ध गराउने कन्फर्मेशन नम्बरलाई सेभ वा प्रिन्ट गरी राख्न पनि अनुरोध गरिएको छ। 

२०८१ वैशाख २२ गते त्यही कन्फर्मेशन नम्बर राखेर डिभी परे/नपरेको जानकारी पाइनेछ। 

छनोटमा परेपनि भिसा पाउने/नपाउने भन्ने चाहि अन्तर्वार्तामार्फत मात्रै थाहा हुने पनि दूतावासले जनाएको छ। 

‘डिभीका लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।


• 

559
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.