2026/07/30

यसरी गर्यो प्रहरीले सुन तस्करीको पिछा.....

Admin
Admin

२०८०-०६-२५

586
Shares
यसरी गर्यो प्रहरीले सुन तस्करीको पिछा.....

काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका ‘लुटेरा’को समूहले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको पाइएको छ।

यही सूचनाका आधारमा आफूहरुले पिछा गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए।

‘उनीहरुले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको सूचना हामीले पाएका थियौं। त्यसपछि हामीले पिछा गरिरहेका थियौं’ राठौरले भने, ‘आज पक्राउ गर्दा पनि उनीहरुसँग लुटपाटमै प्रयोग गर्ने सामानहरु बरामद भएको छ। प्रहरीले पेस्तोल र सनासोसँगै अन्य लुटपाटका कपडाहरु पनि उनीहरुको झोलाबाट बरामद गरेको छ।’

तीन वटा मोटरसाइकलमा रहेका ६ जनाको समूहलाई प्रहरीले पिछा गरिरहेको थियो। त्यो थाहा पाएपछि उनीहरुले पेस्तोल निकालेको प्रहरीको भनाई छ। आफूलाई पेस्तोल ताकिसकेपछि जवाफी फायर गरेको राठौरले  बताए।

प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान घाइते भएका छन्। घलानको घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ। उनलाई प्रहरीले नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेल लगेको छ। प्रहरीले उनको साथबाट ७ राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ।

प्रहरीले ‘लुटेरा’ समूहका थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा रहेका छन्। उनीहरु चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

तर अर्को मोटरसाइकलमा रहेका दुई जना भने फरार भएका छन्। उनीहरुको खोजतलास प्रहरीले व्यापकरुपमा गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

586
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja