ट्रम्प प्रशासनले सीमा पार गर्न खोज्ने आप्रवासीलाई नियन्त्रण, पक्राउ, कानुनी कारबाही प्रक्रिया अघि बढाउने र निष्कासन गर्ने आदेश दिएको थियो। यस नीतिको प्रभावस्वरूप आप्रवासी प्रवेशमा उल्लेखनीय गिरावट आएको छ।
डिसेम्बरमा ३ लाख गैरकानुनी आप्रवासी अमेरिका प्रवेश गरेका थिए। तर, ट्रम्पले कार्यभार सम्हालेपछि गत फेब्रुअरीमा सीमा पार गर्न खोज्ने संख्या घटेर ८,३२६ मा सीमित भएको छ। ट्रम्प प्रशासनले यो संख्या ९७ प्रतिशतले घटेको दाबी गरेको छ।
सम्बन्धित निकायका अनुसार, यी ८,३२६ जनालाई तुरुन्तै निष्कासन गरिएको छ। तुलनात्मक रूपमा, सन् २०२४ मा बाइडेन प्रशासनका बेला २ लाख ७१ हजार २२४ गैरकानुनी आप्रवासीलाई मात्र सीमाबाट निष्कासन गरिएको थियो।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्। उनले भने, फेब्रुअरी महिनामा गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्नेहरूको संख्या ऐतिहासिक रूपमा सबैभन्दा कम रह्यो।
ट्रम्पले अमेरिका प्रवेश गर्न खोज्ने सबै गैरकानुनी आप्रवासीलाई तुरुन्त निष्कासन गरिएको बताएका छन्। उनले चेतावनी दिँदै भने, अबदेखि सीमाबाट अवैध रूपमा प्रवेश गर्न खोज्ने जोसुकै आपराधिक कारबाही र तत्काल निष्कासनको सामना गर्नेछन्।
सम्बन्धित निकायका अनुसार, जनवरी २० देखि फेब्रुअरी ८ सम्म ११,७९१ जना कागजातविहीन आप्रवासी पक्राउ परेका छन्। तुलनात्मक रूपमा, सन् २०२४ को सोही अवधिमा ४,९६९ जनामात्र पक्राउ परेका थिए।
बाइडेन प्रशासनले लागू गरेका केही नीति उल्टाएर ट्रम्प प्रशासनले सुरक्षाकर्मीलाई आप्रवासी धेरै हुने स्थानहरूमा प्रवेशको अनुमति दिएपछि गैरकानुनी आप्रवासी नियन्त्रण प्रभावकारी बनेको बताइएको छ।
ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासी पक्राउ र निष्कासनमा पर्याप्त सक्रियता नदेखाएको भन्दै सम्बन्धित निकायका एक उच्च अधिकारीलाई केही दिनअघि बर्खास्त गरेको थियो। उनको स्थानमा नयाँ अधिकारी अहिलेसम्म नियुक्त गरिएको छैन।
हाल अमेरिका भित्र करिब १ करोड १० लाख कागजातविहीन आप्रवासी रहेका छन्। तीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन गणराज्य, भेनेजुएला, ब्राजिल र कोलम्बिया का नागरिक रहेको रिपोर्टमा उल्लेख छ।
ट्रम्प प्रशासनले आगामी दिनमा अवैध आप्रवासी प्रवेशलाई शतप्रतिशत रोक्ने र देशभित्र रहेका कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने कार्यलाई निरन्तर कडा बनाउने बताएको छ।