काठमाडौँ — गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजको 'ब्ल्याक बक्स' भेटिएको छ । शुक्रबार अपराह्न भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडु किंजरापुले उक्त जहाजको ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन् ।
मन्त्री नायडूले एक्समा लेखेका छन्, 'वायुयान दुर्घटना अन्वेशष ब्युरो(एआईआईबी) ले अहमदाबादको दुर्घटनास्थलबाट फ्लाइट डेटा रेकर्डर(ब्ल्याक बक्स) २८ घण्टाभित्र फेला पारेको छ । यो दुर्घटनाको जाँचका लागि महत्त्वपूर्ण कदम हो । यसले घटनाको अनुसन्धानका लागि निकै सहयोग पुग्नेछ ।'
बिहीबार दिउँसो २३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । २ पाइलटसहित १२ जना ‘क्याबिन क्रु’ सदस्य र २३० यात्रु थिए । तीमध्ये १६९ जना भारतीय हुन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । जहाजमा रहेका बेलायती नागरिक विश्वासकुमार रमेशबाहेक सबै यात्रुको मृत्यु भएको छ । उक्त विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको समेत मृत्यु भएको छ ।
विमान दुर्घटनामा 'ब्ल्याक बक्स'को महत्त्व
ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट डेटा रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । ब्ल्याक बक्समा विमान दुर्घटना हुनुभन्दा अगाडिको २ घण्टाको कुराकानी तथा आवाज र २५ घण्टासम्मको उडानसम्बन्धी सूचना रेकर्ड हुन्छन् ।
विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सुरक्षित हुने गरी निर्माण गरिएको हुन्छ । यसमा रेकर्ड भएका कुराकानी वा आवाजको आधारमा विमान दुर्घटनाको कारण पत्ता लगाउन सकिन्छ । ब्ल्याक बक्समा रेकर्ड हुने ककपिटमा गरिएको कुराकानीसँगै इन्जिन तथा आपत्कालीन संकेतहरूको आवाजले दुर्घटनाका समयमा जहाजको अवस्थाबारे बुझ्न सकिन्छ । त्यसका साथै, जहाजका पाइलट तथा को–पाइलटले गरेको कुराकानी पनि ब्ल्याक बक्सबाट नै थाहा हुन्छ ।
ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । पहिलो, फ्लाइट डाटा रेकर्डर (एफडीआर) ले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने अर्को, ककपिट भ्वाइस रेकर्डर (सीभीआर) ले ककपिटमा पाइलटहरूबीच भएको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।
ब्ल्याक बक्सको रंग भने कालो हुँदैन । विमान दुर्घटनामा परेको खण्डमा सजिलैसँगै पत्ता लागोस् र टाढैबाट देखियोस् भनेर यो सुन्तला रङको बनाइएको हुन्छ । यो पहिलो पटक सन् १९५३ मा अस्ट्रेलियामा निर्माण गरिएको हो ।