2025/11/11

बयालपाटा अस्पतालमा स्वास्थ्य बिमा र सामाजिक सुरक्षा इकाइका सेवा पनि बन्द

Admin

२०८२-०७-१३

46
Shares

अछाम — तुर्माखाँद गाउँपालिका-२ भुलुकी ६५ वर्षीया बसन्ती शाही हड्डीसम्बन्धी उपचारका लागि बयालपाटा अस्पताल पुगिन् ।

करिब १७ वर्षसम्म विशेषज्ञ सेवा निशुल्क दिइरहेको बयालपाटा अस्पतालले कात्तिक १ बाट शुल्क लिइरहेको कुरा उनले थाहा पाइसकेकी थिइन् । उनको परिवार स्वास्थ्य बिमा गरेकाले सोही बिमाबाट उपचार पाउनेमा ढुक्क थिए ।

सरकारी संयन्त्रबाट सञ्चालनमा आएपछि यो अस्पतालले स्वास्थ्य बिमाको सुविधा उपलब्ध नहुने जानकारी अस्पताल पुगेपछि मात्रै थाहा पाइन् । ‘स्वास्थ्य बिमाबाट उपचार हुँदैन, शुल्क नै तिर्नुपर्छ भनेपछि उपचार नगरी फर्कियौं,’ उनले भनिन्,‘३ वर्ष पहिले लडेर खुट्टाको हड्डी भाँचिएको थियो । स्वास्थ्य बिमाबाट उपचार हुन्छ भनेर आएका थियौं । अहिले त बन्द भएको रहेछ ।’

आमाबुवा गुमाएकी कमलबजार नगरपालिकाकी एक बालिकालाई आफन्तले उपचारका लागि आइतबार बयालपाटा अस्पताल पुर्‍याए । लक्षित वर्गका बिरामीलाई निःशुल्क वा सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा स्थापना गरिएका सामाजिक सेवा एकाइमा पुगेर ती बालिकाको उपचारमा हुने सहुलियत खोजे । आफन्तको संरक्षणमा रहेकी ती बालिकाले सामाजिक सुरक्षा इकाइबाट सेवा पाउनु पर्ने थियो । तर भदौ १ गतेबाट अस्पतालले उक्त सेवा पनि रोकेको छ ।

‘वडाको सिफारिस लगायतका सबै कागजात लिएर अस्पताल गएका थियौं । अहिले सेवा बन्द रहेको जानकारी पाएपछि उपचार गराउनै सकिएको छैन,’ ती बालिकाका आफन्तले भने, ‘पैसा खर्च गरेर उपचार गराउन सक्ने हाम्रो अवस्था पनि छैन । सरकारले टुहुरा बालबालिकाका लागि दिने सेवा पनि बयालपाटा अस्पतालले रोकेको रहेछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा इकाइले गरिब, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, विपद् प्रभावित र लोपोन्मुख समुदायलगायत सामाजिक रूपमा पिछडिएका समूहलाई प्राथमिकता दिँदै उपचारमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्य सञ्चालन गर्दै आएको छ ।

यसअघि न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित बयालपाटा अस्पतालले यी सबै सेवा दिँदै आएको थियो । यो अस्पताललाई भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा प्रादेशिक अस्पताल नामाकरण गरेर सञ्चालन गरिरहेको छ । अस्पताल स्रोतका अनुसार दैनिक औसतमा ५० जना स्वास्थ्य बिमा गराएका बिरामी र सामाजिक सुरक्षा इकाइबाट सेवा लिने कम्तीमा ७ देखि ८ जना बिरामी उपचार गराउनबाट वञ्चित भएका छन् ।

यो अस्पताल प्रदेश सरकार मातहत सञ्चालन हुने भएपछि सुरुवातबाट स्वास्थ्य बिमाको लागि प्रक्रिया बढाउनु पर्ने भएकाले सेवा रोकिएको अस्पताल प्रशासन प्रमुख यज्ञराज भट्टले बताए । ‘स्वास्थ्य बिमाबाट उपचार सेवा दिनका लागि सबै काजजात पूरा गरेर राष्ट्रिय स्वास्थ्य बिमा बोर्डलाई पठाएका छौं । बोर्डबाट निर्णय भएर आएपछि मात्रै सेवा सुचारु हुन्छ,’ उनले भने,‘संस्थाले सञ्चालन गरेको अस्पताल सरकारी मातहतमा आउँदा धेरै काम गर्नै बाँकी छ । सामाजिक सुरक्षा इकाइ अस्पतालले नै स्थापना गर्नुपर्ने हो । सम्भवतः छिट्टै इकाइ पनि स्थापना हुन्छ ।’

कात्तिक १ गतेबाट यहाँ शुल्कसहित उपचार गरिरहेको उनले बताए । ‘अस्पतालले पहिले दिइरहेको नि:शुल्क सेवा पूर्ण रुपमा बन्द नै भयो । अहिले सामाजिक सुरक्षा इकाइ र स्वास्थ्य बिमाबाट पनि उपचार नहुँदा धेरै बिरामी मर्कामा परेका छन्,’ उनले भने ।

46
Shares

©News Kunja 2021-2025. All rights reserved.