2026/07/28

ठूला दलका उम्मेदवार टुङ्गिएनन्, उम्मेदवारी दर्ता भोलि मात्रै

रायबर अनलाइन
रायबर अनलाइन

२०७९-०१-११

866
Shares
ठूला दलका उम्मेदवार टुङ्गिएनन्, उम्मेदवारी दर्ता भोलि मात्रै

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । आज र भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेपनि ठूला राजनीतिक दलले अझैसम्म पनि उम्मेदवार टुङ्ग्याउन नसकेको हो । नेपाली कांग्रेस, (नेकपा एमाले) र (नेकपा माओवादी) केन्द्र उम्मेदवार छनोटका लागि आन्तरिक बैठकमा व्यस्त छन् । सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति भए पनि भागबण्डा नमिलेका कारण समस्या भएको छ । सत्तारुढ दलबीच भागबण्डा मिलाउन पटकपटक बैठक बसे पनि सहमति हुननसकेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । भागबण्डामा सहमति नजुटेपनि कांग्रेस उम्मेदवार टुङ्ग्याउन बैठक बसिरहेको खनालले बताउनुभयो । कांग्रेसले जिल्लाका चार नगरपालिकाका उम्मेदवार चयन गर्नका लागि प्रदेश समितिलाई नामावली सिफारिस गरिसकेको छ भने छ गाउँपालिका र ८५ वडाका अध्यक्षका उम्मेदवार जिल्लाबाटै टुङ्ग्याउने तयारी गरेको छ । “जिल्लामा गठन भएको संसदीय समितिले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाका अध्यक्षको टुङ्गो आज बेलुकासम्म लाग्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “कांग्रेसले भोलि मात्र उम्मेदवारी दर्ता गर्ने भएको छ ।” नेकपा एमाले तनहुँले पनि उम्मेदवार टुङ्गो लगाउन बैठकमा व्यस्त छ । चार नगरपालिका, छ गाउँपालिका र ८५ वडामा उम्मेदवार आज बेलुकासम्म टुङ्गिने एमाले तनहुँका उपसचिव खिमबहादुर कुमालले जानकारी दिनुभयो । एमालेले भोलि दशवटै पालिकामा एकैसाथ उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले भने सात वटा पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । यद्यपि सत्तारुढ दलबीच गठबन्धनको भागबण्डा नमिलेका कारण माओवादीले पनि भोलिमात्रै उम्मेदवारी दर्ता गराउने जनाएको छ । माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा आशा कोइराला, भानु नगरपालिकाको प्रमुखमा ओमकुमारी पौडेल, व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपाने, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलीप श्रेष्ठ, भीमाद नगरपालिकाको प्रमुखमा रामबहादुर थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा भुवनसिं गुरुङ र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमानलाई उम्मेदवार उठाउने भएको छ । आज साना दल र स्वतन्त्र उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराउने भएका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो । 

866
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja