2026/07/29

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

Admin
Admin

२०८०-०७-१०

867
Shares
हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। 

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्।

एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। 

जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’

यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्। साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन्। 

जोन लीको नीति सम्बोधनले हङकङका कतिपय नेपाली अलमलमा परेको पाइएको छ। भिसा त खुल्यो तर सन् २००५ मा बन्द गरिएको घरेलु कामदार लगायत सबै भिसा खुलेको हो कि के हो भन्ने अन्योल देखिएको छ। 

हङकङमा लामो समयदेखि सोलिसिटर रहेका एकनारायण शर्माले नेपालखबरसँग कुरा गर्दै यसबारे प्रष्ट पारेका छन्।

‘जोन लीको सम्बोधनबाट नेपाली प्रतिभाहरू– इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका लागि भिसा खोलिएको हो। विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि पनि भिसा खोलिएको छ’, शर्माले भने, ‘तर घरेलु कामदार र अरु कामदारका लागि होइन।’

सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो। त्यसअघि हङकङमा खासगरी घरेलु कामदार र रेष्टुरेन्ट क्षेत्रमा नेपालीले रोजगारी पाउँदै आएका थिए। 

हङकङमा ब्रिटिश गोर्खा सैनिक परिवारका करिब ४० हजार नेपाली बसोबास गर्दै आएका छन्, जो हङकङका स्थायी बासिन्दा हुन्। सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि तिनै गेर्खा सैनिक परिवारसँग विवाह सम्बन्ध जोड्ने नेपाली मात्रै हङकङमा बसोबासका लागि आउन पाउँथे।

नजिकको गन्तव्य र आधुनिक विकासको उच्च स्वरुपले गर्दा हङकङ नेपालीका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर सन् २००५ यता हङकङमा नेपालीका लागि भ्रमण भिसा पनि निकै कडा बनाइएको थियो। 

तर नयाँ भिसा नीति अनुसार पनि नेपालबाट घरेलु कामदार, रेस्टुरेन्टका कामदार हङकङ ल्याउन पाइने छैन। उनीहरूका लागि भिसा खुलेको छैन। 

शर्माका अनुसार सन् २००५ मा घरेलु कामदारसँगै तालिममा आउने नेपालीका लागि पनि हङकङमा भिसा रोकिएको थियो। तर अहिले तालिमको भिसा पनि खुलेको छ। 

‘सन् २००५ मा नेपालीलाई तालिम भिसा पनि रोकिएको थियो, अहिले दिने भनिएको छ। राम्रो कम्पनी भयो भने अब ब्याचलर अध्ययन पूरा गरेका नेपालीलाई तालिम भिसामा हङकङ ल्याउन सकिन्छ’, शर्मा भन्छन्, ‘नेपालीलाई तालिम भिसा एकदमै नयाँ हो हङकङमा। पहिला अरु देशकालाई मात्र दिइन्थ्यो।’ 

पहिला आफुले फ्रेन्च र फिलिपिनोलाई तालिम भिसामा हङकङ ल्याएको स्मरण गर्दै शर्माले भने, ‘हङकङमा कर तिरेको राम्रो कम्पनीले स्पोन्सर गरेको छ भने व्यवस्थापन वा अन्य कुनै पनि तालिम भिसा लगाएर नेपालीलाई हङकङ ल्याउन सकिन्छ।’ 

867
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja