काठमाडौँ- हास्य कलाकार दीपकराज गिरीले गायिका एलिना चौहान र समीक्षा अधिकारी लगायतले सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध सुरु गरेको ‘एक्सपोज’ अभियानको प्रशंसा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन् ।
कलाकार गिरीले गायिका अधिकारीको कलाको मात्रै नभई साहसको समेत प्रशंसा गरेका छन् । उनले भनेका छन्- ‘यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ! त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ ! सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठाउँमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् । त्यसकै फलस्वरूप आज यहाँ आइपुगिन् ।’
उनीहरूले यस्तो जटिल परिस्थितिमा सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई उदाङ्गो पार्ने अभियान चलाएको भन्दै भनेका छन् : ‘यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दुवै जनालाई शुभकामना ! जय नेपाल !!’