2025/12/28

प्रहरी खरिदमा ४८ करोड घोटाला, गृहमन्त्री बनेको भोलिपल्टै विवाद

Admin

२०८२-०६-०६

271
Shares

काठमाडौं, असोज ५ – नयाँ गृहमन्त्री ओमप्रकाश आर्यलले पदभार ग्रहण गरेको भोलिपल्टै नेपाल प्रहरीमा ठूलो मात्रामा खरिद घोटालाको समाचार सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयले यस वर्षको खरिद प्रक्रियामा बजार मूल्यभन्दा धेरै बढी दर स्वीकृत गरेको र त्यसको परिणामस्वरूप करिब ४८ करोड रुपैयाँ बराबरको अनियमितता भएको तथ्य फेला परेको हो ।

प्रहरीले यस वर्ष ऊनको सर्ट कपडा, जङ्गल टिसर्ट भेस्ट सेट, कटन पाइन्ट कपडा लगायतका सामग्री खरिदका लागि प्रस्ताव पास गरेको छ । तर, गत वर्षभन्दा धेरै गुणा बढी दरमा ती सामग्री खरिद गर्ने स्वीकृति दिइएको देखिन्छ । उदाहरणका लागि गत वर्ष प्रतिमिटर रु. ३३७.९२ मा खरिद भएको ऊनको सर्ट कपडा यस वर्ष प्रतिमिटर रु. ५२४.४७ मा खरिद गर्न स्वीकृति दिइएको छ । त्यस्तै, जङ्गल टिसर्ट भेस्ट सेट गत वर्ष प्रतिसेट रु. ९२४ मा खरिद भएकोमा यस वर्ष रु. १,१३४ मा स्वीकृत भएको छ । कटन पाइन्ट कपडाको मूल्य पनि गत वर्षको तुलनामा प्रतिमिटर रु. १२३ बढी तोकिएको छ ।

खरिदका दरमा देखिएको यो अस्वाभाविक वृद्धिले ठूलो मात्रामा रकम फजुल खर्च भएको छ । हजारौँ थान सामग्री खरिद गर्ने प्रक्रियामा यी सानोतिनो मूल्य अन्तरहरू जम्मा गर्दा करिब ४८ करोड रुपैयाँ बराबरको घाटा पुगेको गणना गरिएको छ ।

यो खरिद प्रक्रियामा प्रहरी महानिरीक्षक पद्मप्रकाश खनालको मौन सहमति रहेको र मन्त्रालय स्तरमै फाइल स्वीकृत भएको आरोप लागेको छ । तर, गृहमन्त्री आर्यल र प्रहरी नेतृत्व दुवैले अहिलेसम्म यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । उनीहरूको मौनताले प्रकरणलाई अझ गम्भीर बनाएको छ ।

 

यस घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्को आलोचना भएको छ । विपक्षी दलका नेताहरूले तत्काल छानबिनको माग गरेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्ष कारबाहीका लागि दबाब बढेको छ । नागरिक समाजका प्रतिनिधिहरूले भने, “जनता महँगी र बेरोजगारीले थिचिएका बेला राज्यको बजेट नै यसरी दुरुपयोग हुनु सुशासनप्रति ठाडो चुनौती हो” भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

सुरक्षा निकायजस्तो संवेदनशील संस्थामै देखिएको यो ठूलो घोटालाले राजनीतिक नेतृत्व र प्रशासनिक संरचनाको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । अब यो विषयमा सत्यतथ्य छानबिन हुने वा परम्परागत ढाकछोपकै अभ्यास हुने भन्ने प्रश्नमाथि जनताको नजर टाकिएको छ ।

271
Shares

©News Kunja 2021-2025. All rights reserved.