काठमाडौं, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि वातावरण बनाउनको लागि सक्रियता बढाएका छन् । राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, जेनजी आन्दोलनका अगुवा, सुरक्षा निकायका प्रमुखहरुसँग नियमित सम्वाद थालेका राष्ट्रपति पौडेलले तोकिएकै मितिमा निर्वाचन गराउन सबैले भूमिका खेल्नुपर्ने अपिल गरेका छन् ।
तर, एमालेले चुनावमा भाग नलिने भनेर केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भनेको विषयमा पनि राष्ट्रपतिले चासो राखेका छन् । यसअघि शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीसहितको दलका नेताहरुको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी थिए । उनीहरुले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको भन्दै वातावरण बनाईए चुनावमा जाने भनेका थिए । त्यो विषयपनि राष्ट्रपतिले आज शितलनिवासमा भएको बुद्धिजिवीहरुसँगको छलफलमा राखेका थिए ।
तर, पार्टीको फोरममार्फत एमाले अध्यक्ष ओलीले चुनावमा भाग नलिने भनेकोमा राष्ट्रपति असन्तुष्टि सुनिएको आजको भेटमा सहभागी एक अगुवाले दाबी गरे । ओलीले हिजो एमालेको केन्द्रीय कमिटी बैठकको समापन गर्दै र नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा चुनावमा भाग नलिने बरु प्रतिनिधिसभा पूनःस्थापनाको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालित गर्ने भनेका थिए । ओलीको यस्तो अभिव्यक्ति आएपछि राष्ट्रपतिले आज बुद्धिजिविहरुको साथै चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् ।
बुद्धिजिवीहरुसँगको छलफलमा राष्ट्रपति पौडेलले आफूले संविधान बचाउनको लागि अधिकतम प्रयास गरेको र अहिलेको निकास निस्किएको पनि स्मरण गराएका थिए । आफूले संकटलाई समाधान गर्नको लागि सबै दलका नेताहरुसँग परामर्श गरेको र उपयुक्त विकल्प निकालेर निकास निकालेको पनि पौडेलको दाबी छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नै आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको पनि उनले दाबी गरे । ओलीले अहिलेको सरकार असंवैधानिक भनेका छन् । प्रधानमन्त्री कार्कीको नियुक्ती नै बदनियत रहेको ओलीको दाबी छ । तर, राष्ट्रपतिले ओलीको उक्त दाबीको पनि खण्डन गरेका छन् ।