अछाम — जिल्ला सदरमुकाम मंगलसेनमा बिहीबार जेनजी पुस्ताले भ्रष्टाचार न्यूनीकरणका लागि खबरदारी र्याली गरेका छन् । 'दाजुभाइ मात्रै होइन, भ्रष्टाचारी भए मेरै आमा-बुवालाई पनि कारबाही गर, जेन-जी पुस्ता उठ्नेछौं, देश बनाउन जुट्नेछौं, नो करप्सन' लगायतका पम्प्लेट प्रदर्शन गर्दै उनीहरूले र्याली निकालेका हुन् ।
जेन-जी अगुवा रितिक स्वार, प्रकाश रावल, परिवर्तन भाट लगायतको नेतृत्वमा मंगलसेनको बैरागीधाराबाट सुरु भएको र्याली बीच बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन र प्रदर्शनको निरन्तरतास्वरूप बिहीबार खबरदारी र्याली निकालिएको जेन-जी अगुवा रितिक स्वारले बताए । 'भ्रष्टाचारविरुद्व जेनजी पुस्ता एक भएका छौं । अब पुराना दलले कि सच्चिनु पर्छ कि सक्किनु पर्छ,' उनले भने , 'सामान्य उपभोक्ता समितिबाटै भ्रष्टाचार सुरु हुन्छ । अब हाम्रो पुस्ता यो सबै बेतिथि हेरेर बस्न सक्दैन । हामी निरन्तर खबरदारी गरिरहनेछौं ।'
जिल्लामा नेताहरूले मात्रै नभई ब्युरोक्रेसीले पनि अनियमितता, भ्रष्टाचार गरिरहेको भन्दै खबरदारी सभामार्फत चेतावनी दिएको अर्का जेन-जी अगुवा प्रकाश रावलले बताए । 'एउटा वडा सदस्य र उनीहरूका परिवारको जीवनशैली एक वर्षमा मात्रै कसरी परिवर्तन हुन्छ ? नगरपालिका, गाउँपालिकाको प्रमुख पदमा हुँदै गर्दा काठमाडौं धनगढीमा कसरी घर बन्छ ? यसको छानबिन अब जेन-जी पुस्ताले गर्छ,' रावलले भने, 'अछाम जिल्लाका ठूला योजना र अन्य योजनामा भएका भ्रष्टाचारका फाइल हामीले तयार गरेका छौं । छिट्टै पत्रकार सम्मेलन गरेर त्यसको उजागर गर्छौं ।'
भदौ २३ र २४ मा जेनजी पुस्ताले गरेको आन्दोलनबाट इतिहास रचिएको र जेनजी पुस्ताले दिएको बलिदानलाई बिर्सन नदिनका लागि जिल्ला-जिल्लामा जेनजी पुस्ताले खबरदारी सभा गर्ने पनि उनले बताए ।