अछाम — मंगलसेन नगरपालिका-५ का रोहित ढुंगाना १६ वर्षका भए। कान नसुन्ने, बोल्न नसक्ने जन्मजात अपाङ्गता भएका रोहितले विद्यालय शिक्षा भने पूरा गर्न सकेका छैनन्। रोहित ६ वर्षको हुँदा उनका बुवाले साँफेबगर नगरपालिका-२ मा रहेको त्रीपुरा सुन्दरी माध्यमिक विद्यालयमा भर्ना गरे।
बहिरा विद्यार्थीका लागि उक्त विद्यालयमा पढाउने जानकारी उनको परिवारले पाएपछि उनलाई उक्त विद्यालयमा भर्ना गरियो। १२ वर्षको उमेर हुँदासम्म मात्र पढाउने र त्योभन्दा माथिको उमेर भएका विद्यार्थीलाई पढाउन नसकिने भन्दै उनलाई फिर्ता लैजान विद्यालयबाट खबर आयो।
‘१२ वर्षभन्दा माथिका बालबालिकालाई पढाउन सकिँदैन भन्ने खबर आयो। उमेरको हद लागेपछि हामीले पढाइदिनुस् भन्दा पनि मानेनन्। त्यहाँ ६ कक्षासम्म छोराले पढ्न पायो,’ उनका बुवा बेदराज ढुंगानाले भने, ‘मंगलसेनको शोडषा माविमा ७ कक्षामा भर्ना गरेँ। नियमित स्कुल पनि जान्थ्यो। कान नसुन्ने, बोल्न नसक्ने भएकाले शिक्षकहरुले पढाउन सकिँदैन भने। उसको पढाइ त्यतिमै रोकियो।’
अछामभित्र छोरालाई पढाउन सम्भव नभएपछि सुर्खेतका विद्यालयमा पनि पुगेको र त्यतामा पनि नसकिएको उनले बताए। ‘सुरुमा त उपचार भएर निको हुन्छ कि भनेर भारतका विभिन्न अस्पतालमा पनि लगे। उपचार सम्भव भएन। छोरालाई पढाउनका लागि धेरै स्कुल पनि धाए। न उपचार सम्भव भयो, न पढाइ,’ उनले भने, ‘मेरो छोराजस्तो अपाङ्गता भएका बालबालिकाका लागि पढ्ने विद्यालय पनि छैनन्। न त कसैले चासो नै दिन्छन्।’
मेल्लेख गाउँपालिका–४ कुस्कोटको रिठातोली गाउँका रोहित साउद ६ वर्षका भए। उनी जन्मिदै ‘अपाङ्गता भएका बालक’ हुन्। जन्मदै उनका दुवै खुट्टा फर्किएका थिए र एक आँखा अहिले पनि सीधा हेर्न सक्दैनन्। रिठातोली गाउँ सदरमुकाम मंगलसेनबाट करिब एक सय किलोमिटर टाढा रहेको दुर्गम र विकट गाउँ हो।
जन्मजात अपाङ्गता भएका रोहितले अपाङ्गता परिचयपत्र पाउने बारेमा परिवारलाई जानकारी थिएन। उनका हजुरबुवा डम्बर साउदका अनुसार ५ वर्षसम्म अन्य बालबालिकाले नेपाल सरकारबाट पाउने पोषण भत्ता भने रोहितले पाइरहेका थिए। तर अपाङ्गता परिचयपत्र बन्ने कुरा उनको परिवारलाई थाहा थिएन।
‘मेरो नाती जन्मिदै अपाङ्ग भयो। दुईवटै खुट्टा फर्किएका थिए। आँखा पनि हेर्न सक्दैन। पाँच वर्षको भइसके पनि अझै बोल्न सकिरहेको छैन। गाउँका जान्ने बुझ्नेलाई नातीले अपाङ्गता परिचयपत्र पाउँछ कि नाइँ भनेर धेरै पटक सोधेका थियौं,’ उनले भने, ‘रोहितले पोषण भत्ता पाइरहेका थिए। तर अपाङ्गता परिचयपत्र बन्ने कुरा हामीलाई थाहा थिएन। पाँच वर्ष पूरा भएपछि मात्र बन्न सक्छ भनेका थिए।’
रिठातोलीबाट गाउँपालिकाको कार्यालयसम्म पुग्न करिब तीन घण्टा हिंड्न पर्छ। दुर्गममा रहेको साउद परिवारले राज्यबाट अपाङ्गता भएका बालबालिकाले पाउने सुविधा थाहा पाउन पनि वर्षौं कुर्नुपर्यो।
‘एक संस्थाले अपाङ्गता भएका बालबालिकालाई सेवा सुविधा पाइन्छ भनेर खबर गर्यो। संस्थाले आयोजना गरेको सिविरमा गएर रातो कार्ड पाइयो,’ रोहितका हजुरबुवा डम्बरले भने, ‘नातीको उमेर दिनप्रतिदिन बढ्दै गयो। उसँगै जन्मेका अन्य बालबालिकाले स्कुल जान थाले। यहाँको स्कुलमा अपाङ्गता भएकालाई पढाउन सकिँदैन भने। अन्त लिएर पढाउन पनि सकिँदैन। नातीको जीवन यसै बित्ने भयो।’
जन्मजात अपाङ्गता भएको नातीलाई राज्यतर्फबाट कसैले सोधीखोजी नगरेको उनको गुनासो छ। ‘गाउँपालिकाको कार्यालय पुग्नै तीन घन्टा लाग्छ। बाहिरी दुनियाँ केही थाहा छैन। कसैले सहयोग पनि गरेको छैन।’
.....
मेल्लेख गाउँपालिका–४ अलानी गाउँकी सुस्मिता नेपाली अहिले १५ वर्षकी भइन्। उनका चार जना दाजुभाइ र दुई जना दिदीबहिनी छन्। घरको कमजोर आर्थिक अवस्थाका कारण उनका जेठो २१ वर्षीय दाइले आठ कक्षापछि पढाइ छोडेर कामको खोजीमा भारत गए। माइलो १८ वर्षीय दाइले पनि आठ कक्षामै विद्यालय छोडेर भारततर्फ लागे। त्यसपछिका सुस्मिताले पनि चौथो कक्षामा अनुत्तीर्ण भएपछि पढाइ छोडिन्।
उनका दुवै दाइले विद्यालय छोड्नासाथ बिहे गरे। घरको कमजोर आर्थिक अवस्था र पढ्ने वातावरण नपाएकाले दाइहरूले पढाइ छोडेको देखेकी सुस्मिताले पनि दुई पटक अनुत्तीर्ण भएपछि पढाइ छोडिन्। पढाइमा कमजोर भएकी सुस्मितालाई आमाले पनि घरको काममै व्यस्त राख्न थालिन्। सुस्मिता पनि घरको काम र मेलापातमा रमाउन थालिन् र पढाइ नगर्ने मनस्थितिमा पुगिन्।
‘मेरा दाइहरू पनि पढेका छैनन्। मेरा धेरै साथीहरूले पनि पढाइ छोडेका छन्। बिहानभर अरुको काम गर्न जानुपर्छ,’ सुस्मिता भन्छिन्, ‘कामबाट घर फर्केपछि स्कुल जान सधैं ढिलो हुन्थ्यो। घरखर्च चलाउन अरुको काम गर्नु पर्ने बाध्यता हो।’
चौथो कक्षामा दुई पटक अनुत्तीर्ण भएपछि अब पढ्न सक्दिनँ भन्ने सोच बनाएर उनले विद्यालय छोडिन्। ‘घरको कामले कहिल्यै पढ्न पाइएन। हप्तामा दुई दिन पनि स्कुल जान पाइँदैन थियो,’ उनी भन्छिन्, ‘कापी, कलम किन्न सक्ने अवस्था पनि छैन। स्कुल जानुभन्दा कसैको काम गरिदिए साँझको छाक टर्छ भन्ने लाग्छ।’
कमजोर आर्थिक अवस्था, घरभित्रको काम र मेलापातको अत्यधिक चापका कारण पढाइबाट वञ्चित भएकी सुस्मिताले अहिले भने जस्तोसुकै अवस्था आए पनि पढ्नुपर्छ भन्ने मानसिकता बनाएकी छन्। ‘पढाइ छोडेको दुई वर्षपछि फेरि पढ्नुपर्छ भनेर स्कुल जान सुरु गरे। घरमा पनि पढ्ने वातावरण छैन। खर्च जुटाउन सकिँदैन। अब पढ्नै सक्दिन कि भन्ने लागेको छ,’ उनले भनिन्, ‘कक्षा कोठामा पढाएको बुझ्न निकै कठिन भएको छ।’
......
सुदूरपश्चिम प्रदेशमा २ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा कार्यक्षमता सम्बन्धी कठिनाइ (फङ्क्सनल डिफिकल्टी) को दर १२ प्रतिशत रहेको छ। यो दर राष्ट्रिय औसत ७ प्रतिशत भन्दा निकै उच्च हो। नेपाल बहुविध सूचकांक समूह सर्वेक्षण २०१९ (एनएमआइएस-२०१९) को तथ्यांक अनुसार सुदूरपश्चिमका करिब प्रत्येक १० बालबालिकामध्ये १ बालबालिकामा दृष्टि, श्रवण, सिकाइ वा भावना सम्बन्धी कुनै न कुनै कठिनाइ पाइएको छ।
सर्वेक्षणले देखाए अनुसार कार्यक्षमता सम्बन्धी कठिनाइ प्रायः सामाजिक रूपमा नदेखिने वा औपचारिक रूपमा दर्ता नगरिएका प्रकारका हुन्। यसले बालबालिकाको शिक्षा र दैनिकीमा प्रत्यक्ष चुनौती सिर्जना गरेको छ। विशेषज्ञहरूले यी बालबालिकालाई विशेष ध्यान दिएर शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउनु जरुरी रहेछ भनेका छन्।
एनएमआइएस-२०१९ को तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा यो दर सबै सातै प्रदेशमध्ये सबैभन्दा उच्च छ। युनिसेफ नेपाल र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा सम्पन्न उक्त सर्वेक्षणले बालबालिकाको स्वास्थ्य, शिक्षा र सामाजिक स्थितिबारे तथ्यांकसमेत निकालेको छ।