कमलबजार, अछाम — सामाजिक विकास तथा मानवीय विकासका लागि मुख्य बाधकका रूपमा रहेका विभिन्न समस्या समाधानका लागि अछामका दसवटै स्थानीय तहले एकैसाथ अभियान सुरु गरेका छन् ।
भदौ १२ गते राति महिनावारी बार्न त्रिपाल टाँगेर बसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भएको थियो । ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भइन् । छाउपडी प्रथाकै कारण बारलामा दुई जनाको ज्यान गएको र यो प्रथा जिल्लाभर प्रचलनमा रहेकाले यहाँका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, प्रशासन र सरोकारवालाले मंगलबार कमलबजारबाट अभियानको सुरुवात गरेका हुन् ।
भदौ ५ गते अछामका ४ नगरपालिकाका प्रमुख र ६ गाउँपालिकाका अध्यक्ष, प्रतिनिधि सहभागी भएको बैठकले विभिन्न संयन्त्र सक्रिय गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले महिनावारी भएका महिलामाथि हुने विभेद तथा गोठमा बस्ने प्रथालाई अन्त्य गर्न विशेष जोड दिएको र सोहीअनुरूप निर्णयको कार्यान्वयन कमलबजारबाट सुरु भएको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए । उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहका प्रमुख, अध्यक्ष तथा प्रतिनिधिलगायत अन्य सरोकारवालासहित कमलबजारमा बसेको बैठकले स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षित आवास तथा महिला, बालबालिका, विपन्न तथा विपद् प्रभावित समुदायका विषयलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
सामाजिक तथा मानवीय विकासको मुख्य बाधकका रूपमा रहेको छाउपडी प्रथा अन्त्य गर्न वडादेखि टोल तहसम्म विभिन्न संयन्त्र गठन गरेर अभियान सुरुवात गरिएको नगर प्रमुख ढकालले बताए । त्यसका साथै लैंगिक तथा जातीय आधारमा हुने विभेद तथा हिंसाजन्य व्यवहार, सुरक्षित आवास गृहको प्रभावकारी सञ्चालन, नागरिक सचेतना तथा सशक्तीकरणका साझा कार्यक्रम, बालविवाह, बहुविवाहलगायतका सामाजिक क्षेत्रको विकासका बाधक विषयलाई पनि अभियानसँगै लैजाने उनले बताए ।
बारलाको घटनापछि जिल्लास्तरमा गठन भएको जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशक तथा समन्वय समितिले जिल्लाका १० वटै स्थानीय तहका प्रमुखलाई पालैपालो बैठकमा सहभागी गराउने र महिनावारीसहितका विभिन्न सामाजिक विषयमा संयुक्त रूपमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए । उनका अनुसार समितिको मुख्य उद्देश्य महिनावारी (छाउ प्रथा)का आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गरी मर्यादित महिनावारी अभ्यासलाई प्रोत्साहन गर्ने तथा शून्य सहनशीलताको अवस्था कायम गर्ने रहेको छ ।
सामाजिक विकासका विषयमा आवश्यक नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय तहलाई अझ बढी जिम्मेवार बनाइएको उनले बताए । जसले सामाजिक क्षेत्रका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
‘छाउपडी प्रथा लगायतका विषय एक स्थानीय तहले मात्रै सुरु गरेर प्रभावकारी हुने होइन । यसका लागि जिल्लाका सबै स्थानीय तहले एक ठाउँमा उभिएर अभियान चलाउनु पर्ने अवस्था आयो,’ तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले भनिन्, ‘एक ठाउँमा उभिएर अभियान सञ्चालन गर्ने नयाँ संस्कारको सुरुवात भएको छ । यसलाई हामी निरन्तरता दिनेछौं ।’
हावा नछिर्ने, चुहिने र जीर्ण अवस्थाका छाउगोठमा बस्दा निस्सासिने, बिरामी हुनेदेखि बलात्कार र मृत्युसम्मका घटना भइरहेका छन् । सरकारले बेलाबेला गोठ भत्काउने र अन्य अभियान सञ्चालन गरेपछि यहाँका महिला त्रिपालमुनि र ओडारमा बस्न थालेका छन् ।
भदौ १२ को रातिको घटनामा परेकाहरू पनि गोठ भत्काएपछि त्रिपालमा बस्न थालेका थिए । जबकि, २०६३ सालयता भदौ १२ सम्म भएका घटनामा अछाममा मात्रै छाउगोठमा २० जना महिला तथा किशोरी, डोटीमा २ र बाजुरामा ३, कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २६ जनाको मृत्यु भएको छ ।